जानकी मेडिकल कलेजलाई कारबाहीको चेतावनी
जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई आवश्यक कारबाही गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिएको छ।
कर्मचारीलाई जेठ १५ गतेभित्र एकमुष्ठ तलब नखुवाए मेडिकल कलेज सञ्चालकलाई कारबाही गरिने कानुनमन्त्री ज्ञानेन्द्र यादवको भनाइ छ। भने, ‘तत्काल दुई महिनाको तलब वैशाख १० मा दिने सम्झौता प्रशासनले गरेको थियो तर दिन सकेन।’ अब जेठ १५ गतेभित्र एकमुष्ठ तलब दिएर पठनपाठन नियमित नगराए कलेज सञ्चालकमाथि कारबाही हुने उनको भनाइ छ।
उनले कलेज प्रशासनले कर्मचारीको १२-१४ महिनाको तलब नदिएर गल्ती गरेको बताए। ‘समयमा कर्मचारीलाई तलब र विद्यार्थीलाई गुणस्तरीय शिक्षा नदिनु भनेको ठगी हो’, उनले भने, ‘प्रशासनले अब लापरवाही गरे प्रदेश सरकार चुप लागेर बस्दैन, कानुनबमोजिम कारबाही गर्छ।’
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-२ रमदैयास्थित कलेजका कर्मचारीले तलब पाउन सकेका छैनन्। एकमुष्ठ तलबभत्ता पाउनुपर्ने मागसहित कलेज प्रशासन र लेखा फाँटमा ताला लगाएर कर्मचारी आन्दोलनमा उत्रिएपछि १९ दिनदेखि पठनपाठन ठप्प छ।
‘समयमा कर्मचारीलाई तलब र विद्यार्थीलाई गुणस्तरीय शिक्षा नदिनु भनेको ठगी हो। प्रशासनले अब लापरवाही गरे प्रदेश सरकार चुप बस्दैन।’ ज्ञानेन्द्र यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री
कलेज र अस्पतालमा गरी ५ सय कर्मचारी रहेको जनाइएको छ। १४ महिनादेखि तलब नपाउँदा कर्मचारी संघर्ष समिति बनाएर आन्दोलन गरेको एक महिना पुग्न लागेको छ। तर, प्रशासनले तलब खुवाउन चासो नदेखाएको कर्मचारीको भनाइ छ। कर्मचारी आन्दोलनका कारण मेडिकल, नर्सिङ र बीएसीका ३ सय विद्यार्थी पढाइबाट वञ्चित भएका छन्।
मेडिकल पहिलो वर्षका विद्यार्थी आशुतोष मि श्रले कर्मचारी आन्दोलनमा उत्रिएपछि १९ दिनदेखि पढाइ नभएको बताए। ‘कलेजले हामी विद्यार्थीको भविष्यसँग खेलबाड गरिरहेको छ’, उनले भने, ‘पाँच महिनापछि परीक्षा आउँछ तर अहिलेसम्म २५ प्रतिशत पनि पढाइ भएको छैन।’ पढाइका लागि कलेज प्रशासनसँग सम्पर्क हुन नसकिरहेको उनको भनाइ छ।
संघर्ष समितिका संयोजक उमेश यादवले कलेज प्रशासनले नै विद्यार्थीको भविष्य बिगार्न लागेको बताए। पटक-पटक प्रशासनले तलब दिने सम्झौता गरे पनि समय आउँदा पछाडि हट्न थालेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ।
‘पछिल्लो पटक वैशाख १० गते तत्काल दुई महिनाको तलब दिने र पठनपाठन नियमित गर्ने सम्झौता भएको थियो’, उनले भने, ‘तर, तलब अझै दिएका छैनन्।’
प्रदेश २ का सामाजिक विकास र आर्थिक मामिला तथा कानुनमन्त्रीको उपस्थितिमा वैशाख ४ गते कलेज प्रशासन र कर्मचारीबीच छलफल भएको थियो। ‘छलफलमा एकमुष्ठ तलब दिनुपर्ने अडान राख्दा कुरा मिलेन। पछि मन्त्रीद्वयले कलेज प्रशासनसँग छुट्टै कुरा गर्नुभयो’, उनले भने, ‘त्यहाँ प्रशासनले वैशाख १० गते दुई महिनाको तलब दिने प्रतिबद्धता जनाएको थियो तर जेठ ११ गते बित्दा पनि तलब दिएका छैनन्।’