सप्तकोशीदेखि गंगा नदीसम्म कार्गो ट्राफिक : भारतीय राजदूत पुरी
राजविराज : नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले निकट भविष्यमा नेपालको सप्तकोशी नदीदेखि भारतको गंगा नदीसम्म कार्गाे ट्राफिक सुरु हुने बताएका छन्।
राजविराजमा शनिबार आयोजित कार्यक्रममा राजदूत पुरीले दुई देशबीचको सम्बन्ध बढाउन आर्थिक व्यापार बढाउनुपर्ने भन्दै कार्गाे ट्राफिक सुुरु हुने बताए। कार्गो ट्राफिक सुरुवातले कलकत्ताबाट आउने मालसामानको चाप घटनुका साथै यस क्षेत्रको वर्तमान र भावी पुस्तासमेत लाभान्वित हुने उनको तर्क छ।
राजदूत पुरीले रेल्वेको बाक्लो सञ्जाल रहेको भारतसँग नेपाललाई जोड्ने गरी दुबै देश अघि बढेको बताए। ‘विराटनगर, जयनगर र जनकपुरलगायत स्थानलाई रेलवे लाइनसँग जोड्ने काम भइरहेको छ’, राजदूत पुरीले भने । रेल्वे सञ्जालमा जोडिएपछि आयात निर्यात र व्यापार सहज हुने उनको भनाइ छ।
दुई देशबीचको कारोबार र व्यवसाय नबढेसम्म सम्बन्ध अगाडि बढन नसक्ने ठोकुवा गर्दै राजदूत पुरीले नेपाल र भारतको विकास एकापसमा निर्भर रहेकाले सोका लागि व्यापार, यातायात र सञ्चारमा जोड दिनुपर्ने बताए। नेपाल र भारतबीचको सम्बन्ध सामाजिक सम्बन्धमा मात्र सिमित नराखी आर्थिक सम्बन्धसँग जोडनुपर्ने बताए।