मदनकृष्ण भन्छन् : दूतावासबाट एक पैसा पनि लिएको छैन

मदनकृष्ण भन्छन् : दूतावासबाट एक पैसा पनि लिएको छैन

भक्तपुर : वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले अनलाइनहरुमा आए जस्तो आफूले अमेरिकी राजदूतावासबाट एक पैसा पनि नलिएको स्पष्ट पारेका छन् ।अमेरिकामा कार्यक्रम गर्न जान भिसा लिनबाहेक अरु बेला दूतावासमा पाइलै नटेक्ने गरेको उनको स्पष्टोक्ति थियो ।

भक्तपुर नपा ६ स्थित जेन्युइन सेकेन्डरी स्कुलले हाँस्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसँगको पुस्तक चर्चा तथा अन्तरक्रियामा उनले भने, ‘दूतावासको पैसा खायो भनेर समाचार सम्प्रेषण गर्ने पत्रकार सानिमा बैंकमा विज्ञापन लिन जाँदा दिएनछन् । हामी उक्त बैंकको ब्राण्ड एम्बेसेडर भएकाले हामीविरुद्ध उक्त समाचार लेखेका हुन् ।’

उक्त समाचारमा कुनै सत्यता नभएको उनको दाबी छ । उक्त समाचारलाई नपत्याउन आग्रह गर्दै उनले भने, ‘उक्त समाचारलाई नपत्याइहाल्नुहोला । पत्याउनुहुन्छ भने पनि समयले सत्य के हो स्पष्ट गर्नेछ । त्यसमा हामी ढुक्क छौं ।’मह जोडीविरुद्ध पहिले पनि धेरै सञ्चारकर्मी र सञ्चारमाध्यमले यताउता गर्ने सुनाउँदै वरिष्ठ कलाकार श्रेष्ठले त्यस्ता कुराहरुलाई वास्तै नगर्ने गरेको बताए ।

कार्यक्रममा श्रेष्ठद्वारा लिखित ‘महको म’ र ‘साझा पृथ्वी’सँग सम्बन्धित विभिन्न प्रश्न गर्दै उनीसँग अन्तरक्रिया गरिएको थियो । अन्तरक्रियामा उनले आफ्नो पछिल्लो पुस्तक महको म मा आफू जे छु, जस्तो छु, जहाँ छु त्यहीं लेखेको र त्यसमा बढाइँचढाइँ गर्ने तथा पाठकलाई रोमाञ्चक बनाउन कुनै फूलबुट्टा नभरेको स्पष्ट गरे ।

धेरैले महको म किन पढ्ने भन्ने प्रश्न गरेको सुनाउँदै उनले आफूले आफ्नै लागि पुस्तक लेखेको र आफ्नोबारे आफैले पढ्न पुस्तक लेखेको भन्ने उत्तर दिँदै आएको बताए ।

शत्रु गतेको रोल मन परेको थिएन

कार्यक्रमकैबीच वरिष्ठ कलाकार श्रेष्ठले हालै प्रदर्शनमा आएको शत्रु गतेमा आफूले निभाएको रोल मन नपरेको सुनाए ।उक्त रोल नगर्ने र गर्नैपरे त्यसमा सुधार गर्ने आवाज उठाउँदा कलाकार भएपछि जस्तोसुकै रोल खेल्नुपर्ने भन्दा आफूले निभाएको उनको भनाइ थियो ।

‘भाइरस टेलिफिल्म सुटि®को क्रममा पनि मलाई त्यस्तै भयो’, विगत स्मरण गर्दै वरिष्ठ कलाकार श्रेष्ठले भने, ‘त्यसमा पनि नायिका ऋचा घिमिरेलाई अँगालो हाल्नुपर्ने दृश्य थियो । उक्त दृश्य खिच्न मैले धेरैपटक टेक दिनुपर्‍यो । टेक दिन एक्सन भनिन्थ्यो तर ऋचाजीलाई अँगालो हाल्न मरिगए हातै उठेन । धेरैपटक यस्तो भएपछि दृश्य कैद गरियो ।’

उक्त दृश्य खिचिसकेपछि आफूलाई कलाकार हुँ भन्न पनि अप्ठ्यारो महसुस भएको उनको भनाइ थियो । ‘जस्तोसुकै दृश्य दिन र रोल निभाउनसक्नेमात्रै सफल कलाकार हुन्छन् भन्ने लाग्छ’, उनले भने, ‘तर मैले जस्तोसुकै दृश्य दिन सकिनँ । मलाई कलाकार हुँ भन्ने नै लागेन ।’
आयोजक जेन्युइन स्कुलका प्रिन्सिपल योगेन्द्रमान बिजुक्छेले विद्यार्थी तथा अभिभावकहरुमा पठन संस्कृति विकास गर्न उक्त कार्यक्रम गरिएको जानकारी दिए ।उनले प्रत्येक महिना यस्तै कार्यक्रम गर्ने र स्कुलका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई प्रत्येक तीन महिनामा एउटा नयाँ किताब पढेको हुनुपर्ने व्यवस्था गर्न लागिएको बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.