गाउँका स्वास्थ्य चौकीमै सुलभ फार्मेसी
धनकुटा : चौबिसे गाउँपालिकाले आफ्नो क्षेत्रका स्वास्थ्य संस्थामा फार्मेसी सञ्चालनमा ल्याएपछि औषधि खरिद गर्न टाढाका बजार जानुपर्ने बाध्यता हटेको छ।
निःशुल्क वितरण गरिने ३५ प्रकारबाहेकका औषधि स्थानीयलाई सहुलियत र सहज रूपमा उपलब्ध गराउन स्वास्थ्य संस्थाभित्रै सुलभ फार्मेसी सञ्चालनमा ल्याएको जनाइएको छ। यो गाउँपालिकामा सात स्वास्थ्य चौकी र तीनवटा सामुदायिक स्वास्थ्य संस्था छन्। यीमध्ये नौवटामा माघ र अर्कोमा वैशाखदेखि फार्मेसी सञ्चालनमा आएको चौबिसे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खडानन्द साहले बताए।
‘औषधि भनेको अत्यावश्यकीय वस्तु हो। निःशुल्कबाहेकका औषधि गाउँमा पाउन असहज छ’, उनले भने, ‘बिरामीले आफूलाई आवश्यक परेका बेला सहज रूपमा औषधि पाऊन भनेर सुलभ फर्मेसी पसल सञ्चालनमा ल्याएका हौं।’
उनका अनुसार फार्मेसीबाट निजीले बिक्री गर्ने मूल्यभन्दा ५ प्रतिशत सस्तोमा औषधि खरिद गर्न पाइन्छ। फार्मेसी सञ्चालनका लागि गाउँपालिकाले हरेक स्वास्थ्य संस्थालाई एक÷एक लाख अनुदान उपलब्ध गराएको थियो।
फार्मेसी सञ्चालनका लागि कार्यविधि बनाइएको छ। कार्यविधिअनुसार फार्मेसी सञ्चालन गर्न स्थानीय स्वास्थ्य व्यवस्थापन समिति गठन गरिएको छ। समितिका अध्यक्ष वडाध्यक्ष रहने व्यवस्था छ। समितिका अध्यक्ष र स्वास्थ्य चौकी प्रमुखले औषधि खरिद गरेर ल्याउने जनाइएको छ।
फार्मेसी स्वास्थ्य संस्थाभित्र रहनेछ। निःशुल्कबाहेक औषधि फरक ठाउँमा राख्नका लागि गाउँपालिकाले दराज वितरण गरेको छ। सरकारले अहिले जिल्लास्तरका अस्पतालमा मात्र सुलभ फार्मेसी सञ्चालन गरिरहेको छ। चौबिसेमा गाउँपालिकाले सहुलियत फार्मेसी सञ्चालन गर्ने पहिलो निर्णय गरेको थियो। धनकुटाका सात स्थानीय तहमध्ये अहिलेसम्म चौबिसेले मात्र सुलभ फार्मेसी सञ्चालनमा ल्याएको हो।