मुक्तिनाथको गुरुयोजना अलपत्र

मुक्तिनाथको गुरुयोजना अलपत्र

मुक्तिनाथ : हिमाली जिल्ला मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ क्षेत्रको विकास गर्न बनेको बृहत गुरुयोजना अलपत्र बनेको छ। ४ वर्षअघि पुरातत्व विभागको नेतृत्वमा मुक्तिनाथ विकास समिति, स्थानीय र सरोकारवाला निकायको संयुक्त छलफलपछि ३ अर्ब रुपैयाँ लागतको बृहत् गुरुयोजना बनाइएको थियो।

गुरुयोजनामा मन्दिरलाई व्यवस्थित गर्दै विभिन्न चरणमा आसपासका क्षेत्रमा आ श्रम, फूलको बगैँचा, चट्टानी बगैँचा, भजन घर, वनभोजस्थल धार्मिक पर्यटकका कारण जम्मा हुने फोहोरलाई विद्युतीय यन्त्रका माध्यमबाट व्यवस्थित गर्ने जस्ता ३३ वटा संरचना तथा पूर्वाधार निर्माण गर्ने प्रस्ताव थियो।

तर, गुरुयोजनाका विषयमा राजनीतिक सहमति हुन नसक्दा कार्यान्वयनको चरणमा प्रवेश गर्न नसकेको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। ‘गुरुयोजना राम्रो बनेको हो। विभागले एकपटक यहाँका स्थानीयसँग छलफल पनि गरेको थियो’, उनले भने, ‘तर, राजनीतिक दलहरुबीच जिल्लास्तरमा एकमत बन्न नसक्दा र विभागले पनि पूर्ण ध्यान नदिँदा यो अलपत्र नै रह्यो।’

उनका अनुसार, मुक्तिनाथ क्षेत्रमा २०४५÷०४६ सालमा निर्मित भौतिक संरचनाले बढ्दो धार्मिक पर्यटकको चाप थेक्न सक्ने अवस्था छैन। ‘मुख्य मन्दिरको प्रांगण र स्नान पोखरी सानो भएको छ। फोहोर व्यवस्थापन चुनौतीपूर्ण छ। शौचालय देखि मन्दिर परिसरसम्म आउने पदमार्ग व्यवस्थित बनाउनुपर्ने छ’, मुख्य पुजारी सुवेदीले भने, ‘यज्ञ भवन, भक्तजन आरामस्थल र स्वास्थ्य संस्था निर्माण अति आवश्यक भएको छ।’

४ सय ३७ रोपनी क्षेत्रफलमा रहेको मुक्तिनाथ समुद्रीसतहदेखि ३ हजार ७ सय १० मिटरको उचाइमा अवस्थित छ। त्यहाँ पुग्ने भक्तजनलाई जुनसुकै बेला स्वास्थ्यमा गडबढी आउन सक्ने संभावना हुन्छ। ‘तर, सानो पनि स्वास्थ्य संस्था छैन। गुरुयोजनामा यी कुराहरु समावेश भएपनि कार्यान्वयनमा आएन्। गुरुयोजनाका नाममा सरकारको पैशा सक्ने काम मात्रै भयो’, वरागुङमुक्ति क्षेत्र गाउँपालिका अध्यक्ष धारा गुरुङले भने, ‘गाउँपालिका अस्तित्वमा आएपछि हामीले यसलाई पहिलो प्राथामिकतामा राखेका छौं। यो स्वामित्व स्थानीय तह मातहतमा आउन जरुरी छ।’

मुक्तिनाथलाई हिन्दूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीले तिब्बती भाषामा छुमिङ ग्यात्सा (सय पानी वा यथेष्ट पानी) भन्दछन्। हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण धामका रूपमा रहेको यो तीर्थस्थल तिब्बती बौद्धमार्गीका २४ तान्त्रिक स्थान मध्येको एक भएको शास्त्रहरुमा उल्लेख छ।

मुक्तिनाथमा एक मुख्य पुजारीसहित ४ जना कर्मचारी छन्। एक लामा सहित ३८ जना आनीहरु छन्। अहिलेसम्म मुक्तिनाथमा हुने दैनिक आम्दानी, भौतिक पूर्वाधारको काम प्रमुख जिल्ला अधिकारी अध्यक्ष र मालपोत अधिकृत कोषाध्यक्ष रहने मुक्तिनाथ विकास समितिले गर्दै आएको छ। तर, स्थानीय तह अस्तित्वमा आएसँगै मुक्तिनाथको स्वामित्व बारे विवाद उत्पन्न भएको छ। १७ औं शताब्दीको मुक्तिनाथको मुख्य मन्दिर जीर्ण भएपछि २०७१ सालमा पुरातत्व विभागले नै जीर्णोधार गरेको थियो।

२०७२ सालको भूकम्पले पनि मुक्तिनाथमा कुनै असर गरेको थिएन। संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले मुक्तिनाथ देशकै महत्वपूर्ण धार्मिक गन्तव्य भएकाले यसको गुरुयोजना निर्माणलाई पहिलो प्राथामिकता दिइएको बताए। ‘म मन्त्री भए लगत्तै सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा मुक्तिनाथको गुरुयोजना निर्माण गर्ने पनि थियो, जुन अहिले अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘एकपटक मुक्तिनाथमै पुगेर स्थानीयसँग छलफल गरेर यसलाई अन्तिम रुप दिनेछौं, अब २०–२५ दिनभित्र यो काम सम्पन्न गर्नेछौं।’

मुक्तिनाथ मन्दिरमा भगवान् विष्‍णुलाई शालिग्राम (पवित्र शीला)को रूपमा पूजा गरिन्छ। मुक्तिनाथमा नेपालीपछि भारतीय धार्मिक पर्यटक सबैभन्दा बढी पुग्छन्। मुक्तिनाथ पुग्ने बेनी–जोमसोम–कागबेनी सडकको स्तरोन्नति भइरहेको छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर गत वर्ष मात्रै कालोपत्रे गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.