अब सरकारलाई दुई तिहाइ

अब सरकारलाई दुई तिहाइ

 काठमाडौं : संघीय समाजवादी फोरम नेपाल यसै साता सरकारमा सहभागी हुने भएको छ । नेकपा र फोरमबीच सोमबार भएको दुई बुँदे सहमतिसँगै प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जान फोरम तयार भएको हो ।

मधेस आन्दोलनको मागका रूपमा ‘आपसी सहमतिका आधारमा संविधान संशोधन’ गर्ने सहमतिमा उल्लेख छ । यसअघि संविधान संशोधनका लागि सरकाले लिखित सहमति गर्नुपर्ने फोरमले अडान राख्दै आएको थियो ।

दुई बुँदे सहमतिका साथ सरकारले फोरमलाई महत्वपूर्ण दुई मन्त्रालयको नेतृत्व र एक राज्यमन्त्री दिन तयार भएको बताइएको छ । आफ्नो पार्टीलाई तीन मन्त्रालयको नेतृत्व दिन फोरम अध्यक्ष उपेन्द्र यादवले आग्रह गरेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले सहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिएर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । फोरमले पाउने दुई मन्त्रालयमध्ये अध्यक्ष यादवले सहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको नेतृत्व महासचिव राजेन्द्र श्रेष्ठ, महासचिव रामसायह यादव, नेतृ रेणु यादवमध्ये एकले पाउने फोरमका एक नेताले बताए ।

‘सम्भवत बुधबारसम्म फोरम सरकारमा सहभागी हुनेछ’, ती नेताले भने ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् । हस्ताक्षर समारोहमा नेकपा महासचिव विष्णु पौडेल, फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादवलगायतको सहभागिता थियो ।

फोरम महासचिव यादवले सरकारले मधेसको मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता देखाएकाले त्यसको कार्यान्वयनका लागि पार्टी चाँडै नै सरकारमा पुग्ने बताए । उनले भने, ‘मन्त्रालयको संख्या र नेतृत्वबारे अझै स्पष्ट भएको छैन ।’

पार्टी राजनीतिक समितिका अर्का एक सदस्यले फोरमभित्र बढ्दो धु्रवीकरणलाई समेत ख्याल गर्दै मन्त्री चयन हुने बताए ।

फोरम सरकारमा सहभागी हुने भएसँगै संविधान संशोधनका लागि सरकारलाई दुई तिहाइ मत पुग्ने भएको छ । संसद्मा सरकारसँग नेकपाको १ सय ७४ र फोरमको १६ गरी १ सय ९० मत पुगेको छ । यो कुल मतमा ६९ प्रतिशत हुन्छ ।

संसदमा दुई तिहाइका लागि ६६ प्रतिशत मत आवश्यक हुन्छ । २०१५ सालमा बिपी नेतृत्वको कांग्रेस सरकारपछि ५९ वर्षमा पहिलोपटक ओली सरकारले दुई तिहाई मत पाएको हो ।

नेकपा र फोरमबीचको दुई बुँदे सहमति

१. संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधानसँग सम्बन्धीत विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने छ । सरकारद्धारा गर्न सकिने कामहरू सरकारको नीति र कार्यक्रममा समावेश गरिने छ । उपरोक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहिमतिमा समाधान गरिने छ ।

२. उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.