महानगरमै पानीको हाहाकार
कविलास (चितवन) : खरले छाएको झुप्रो घर भएकी हाँडीगाउँकी सोममाया चेपाङको आँगनमा जस्ताले छाएको टहरो छ । घर छाउन नसकेकी उनले खानेपानीका लागि आँगनमा टहरा बनाएकी छन् । रहर भएर पनि जस्ताले छाएको घर बनाउने सपना पूरा गर्न सकेकी छैनन् । घरभन्दा ठूलो उनको परिवारका लागि खानेपानी हो । घर बनाउन नसके पनि खानेपानीको हाहाकारले आकाशको पानी जम्मा गर्न जस्ताले टहरा बनाएकी हुन् ।
आकाशबाट जस्तामा झरेको पानी जस्ताकै सोली बनाएर भाँडा थापेर संकलन गर्छन् । त्यसरी संकलित पानीले जीवन गुजारा चलाउँदै आएका छन् । आकाशबाट पानी परेको दिन उनीहरूको खुसीको दिन हो । खानेपानीको दुःख भएपछि पानी संकलन गर्न जस्ता किनेको उनले बताइन् । ‘धारामा पानी नआएपछि पानी जम्मा गर्न जस्ता हालेको हो’, उनले भनिन्, ‘कहिलेकाहीँ पर्ने आकाशे पानीको भरमा बस्नुपरेको छ’ ।
सोममायाले जस्तै उनका छिमेकीले पनि यही उपाय लगाएका छन् । खानेपानीको विकराल समस्याबाट ग्रसित भरतपुर महानगरपालिका-२९ को कविलास क्षेत्रका बासिन्दा आकाशे पानीको भरमा छन् । हाँडीगाउँमा जस्ताको छाना नभएको घरमा पानीका लागि जस्ताको टहरा बनाएका छन् । वर्षौंदेखिको खानेपानी समस्या झेलिरहेका कविलासवासीले जस्ताबाट पानी संकलन गरेर प्रयोग गर्छन् । गाउँमा पानीको हाहाकार आएपछि जस्ताबाट संकलित पानी प्रयोग गर्दै आएका छन् । हरेक घरमा ड्रम राखेर पानी संकलन गर्छन् ।
गाउँ नजिकैको धारामा पानी आउने निश्चित हुँदैन । पानी लिन जानेमध्ये कसैले धारामा पानी आए÷नआएको फोन गरेर सूचना गर्छन् । कहिलेकाहीँ रित्तै फर्कनुपरेको गुनासो उनीहरूको छ । धारामा पानी सुकेपछि गाउँबाट चार घण्टाको बाटो हिँडेर खोलाको पानी लिन जानुपर्ने उनीहरूको बाध्यता छ । गाउँबाट तल बेतनी खोलाबाट पानी बोकेर समस्या टारेका छन् । उनीहरूको समस्या सुनुवाइ भएको छैन ।
कहिलेकाहीँ पल्लो गाउँमा पुगेर पानी ल्याउनुपर्ने बाध्यता भएको स्थानीय गोरेबहादुर चेपाङले बताए । वरिपरिको चेपाङ बस्तीमा गैरसरकारी संस्थाले शौचालय निर्माण गरिदिएको छ । पानीअभावमा शौचालय प्रयोगविहीन भएका छन् । ‘मान्छेलाई पानी पुर्याउन सकिँदैन गाईवस्तुलाई के गर्ने भन्ने चिन्ता सधैं हुन्छ’, गोरेबहादुरले भने, ‘अर्काले निःशुल्क बनाइदिएको शौचालय प्रयोग गर्न पनि पाइएको छैन’ ।
कविलासको चौकी डाँडा, गुरुङ आहाले, मगर आहाले, ढोडेनी हाँडीगाउँमा पानीको हाहाकार छ । खानेपानीको समस्याबाट पीडित भएका उनीहरू महानगरवासी भन्न लाज मान्ने गर्छन् । ‘महानगरपालिका भएर के गर्ने अहिले पनि डोको र गाग्री बोकेर धाउनुपरेको छ’, भूपाल मगरले गुनासो गरे, ‘अब कहिलेसम्म यसरी बस्ने हो, कसले खानेपानी हेर्ने हो केही थाहा छैन ।’ उनले विकासको अनुभव गर्न नपाएको बताए ।
२५ किलोमिटर टाढाबाट पाइपमा ल्याएको पानी डाँडामा ट्यांकीमा जम्मा गरेपछि मात्रै अन्य धारामा पालो लगाउँछन् । झन्डै ८ घण्टा टाढा रहेको काउलेको सिकारी खोपमा रहेको मुहानबाट ल्याएको पानी दाहाखानीका बासिन्दाले पनि उपभोग गर्दै आएका छन् । विकराल समस्या भए पनि अहिलेसम्म पहल भएको छैन । महानगरको वडा नम्बर २९ का अध्यक्ष मानबहादुर मगरले खानेपानीको सर्वे गर्न यस वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको बताए । बजेट विनियोजन गरेको भन्दै सर्वेे काम छिट्टै थाल्ने उनले जानकारी दिए ।
‘खोलाको पानी लिफ्टबाट तानेर ट्यांकीमा जम्मा गर्ने खानेपानीको योजना हो’, उनले भने, ‘वडाको विकराल समस्या नै खानेपानी हो, प्राथमिकताका लागि महानगरमा दबाब दिइरहेको छु ।’
पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल त्यस क्षेत्रमा जाँदा स्थानीयले खानेपानीको प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए । उनले पहल गर्ने आश्वासनसमेत दिएका थिए । तर, अहिलेसम्म पहल नभएको गुनासो स्थानीयको छ ।
पहाडी महानगरपालिकाको घोषणा भएको १५ महिना बितिसक्दा पनि महानगरवासीको अनुभव गर्न नपाएको दुखेसो उनीहरूको छ । साविकको पहाडी गाविस कविलासलाई गाभेर महानगरपालिका बनाइएको हो । ०७३ फागुन २७ मा भरतपुर उपमहानगरपालिकामा नारायणी नगरपालिका, चित्रवन नगरपालिकासहित पहाडी कविलास गाविस थप गरेर महानगरपालिकामा स्तरोन्नति गरिएको हो । महानगर भएपछि विकासको गति हुन नसकेको वडावासीको भनाइ छ । कविलासमा गुरुङ, मगर र चेपाङको बाहुल्यता छ । महानगरपालिका भएकोमा उनीहरू सन्तुष्ट छैनन् ।