नेतासँग हेलिकोप्टर मगाउन प्रतिस्पर्धा
ओखलढुंगा : ओखलढुंगामा दुर्घटना वा गम्भीर प्रकृतिको बिरामीलाई उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर बोलाउनुपरेमा दुई जनाको नाम सुरुमा आउँछ । यसमा पूर्वसांसद रामहरि खतिवडा र प्रदेश सांसद अम्बिरबाबु गुरुङको नाम आउने गरेको छ । आआफ्नो पहुँच भएकाहरूले यी दुई नेतालाई फोन गर्ने गर्छन् ।
कहिलेकाहीं त यस्ता सामाजिक कार्यमा प्रतिस्पर्धाजस्तै देखिन्छ । सोमबार त्यस्तै संयोग जुरेको छ । मोलुङ गाउँपालिका २ मा आइतबार जिप दुर्घटना हुँदा घाइते भएकाहरूलाई काठमाडौं लैजानका लागि हेलिकोप्टर झिकाउने काममा प्रतिस्पर्धा देखिएको छ । जिल्ला सदरमुकाम ओखलढुंगामा रहेका प्रदेश सांसद गुरुङलाई घाइतेका आफन्तले गुहारेपछि उनले निजी कम्पनीको हेलिकोप्टर झिकाए । काठमाडौंमा रहेका पूर्वसांसद खतिवडाले पनि त्यही समय सेनाको हेलिकोप्टर पठाउन सैनिक मुख्यालयमा निवेदन दिए ।
सेनाले पठाएको हेलिकोप्टर यहाँ आइपुग्दा गुरुङले मगाएको हेलिकोप्टर काठमाडौंबाट आउँदै थियो । सेनाको हेलिकोप्टर आएको थाहा पाएपछि गुरुङले आफूले मगाएको हेलिकोप्टर आधा बाटोबाट रद्द गरिदिए । सेनाको हेलिकोप्टर आएको जानकारी पाएपछि आफूले मगाएको रद्द गरेको उनले बताए ।
‘मैले बोलाएको हेलिकोप्टर बाटोबाटै लुक्लातिर डाइभर्ड गरिदिएँ’, उनले टेलिफोनमा भने, ‘हेलिकोप्टरको भाडा मैले नै व्यवस्थापन गर्ने गरी मगाएको थिएँ ।’
सेनाको हेलिकोप्टरको भाडा कसले तिर्ने यकिन नभएको जनाइएको छ । पूर्वसांसद खतिवडाले पनि पीडितको मागअनुसार हेलिकोप्टर माग गरेर पठाएको बताए । उनले तीन बिरामीलाई चार्टर्ड रेस्क्यू उडानका लागि भन्दै हेलिकोप्टर पठाइदिन सैनिक मुख्यालयमा निवेदन दर्ता गरेको जनाइएको छ ।
मोलुङ गाउँपालिकाको प्राप्चाबाट ओखलढुंगा आउँदै गरेको ना.१ज ५५६२ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा एकको ज्यान गएको थियो भने आठ जना घाइते भएका थिए । स्थानीयले भने पूर्व र वर्तमान सांसदलाई सल्लाह गरेर हेलिकोप्टर ल्याउन तथा जस लिने होडबाजी नगर्न सुझाव दिएका छन् ।