असुरक्षित लुक्ला हेलिप्याड
काठमाडौं : विश्वकै खतरा सूचीमा रहेको लुक्ला विमानस्थल नजिक रहेको हेलिप्याड असुरक्षित भएको गुनासो बढेको छ । हेली अवतरण गर्दा र उड्ने समयमा जथाभावी सामाग्री र यात्रु रहने गरेकाले दुर्घटना बढ्ने भन्दै तत्काल सुरक्षाका लागि माग गरेका हुन् ।
सुरक्षाकर्मीले सुरक्षा जाँच समेत नगरेको सगरमाथा आरोहण गरी फर्केका लाक्पा शेर्पाले बताए । सानो क्षेत्रमा ६ वटा हेली अवतरण हुने गरेका छन्। माथिल्लो ग्राउण्डमा २ र तल्लो ४ गरी ६ वटा हेलिकोप्टर अवतरण हुन्छ । यहाँ दैनिक ८० पटकसम्म हेली अवतरण भएको छ । नागरिक उड्यान कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले क्षमता भन्दा बढी र पर्वतारोहणको समयमा बढी चाप हुने भएकाले सुरक्षामा केही कमजोरी भएको स्वीकार गरे । तर, स्थानीयको लार्पकाही बढी हुने गर्दा सुरक्षा पासको प्रयोग नगरी प्रवेश गर्दा चुनौती हुने गरेको छ । हेलिप्याड सानो भएकाले सामाग्री र यात्रुसमेत सँगै हुदाँ दुर्घटना हुने भएकाले ३ जना सुरक्षाकर्मी खटाएको उनले बताए । सुरक्षालाई थप प्रभावकारी बनाउन पहल गर्ने कुँवरले बताए ।
हेलिप्याड भरी सामाग्री राखिएको हुन्छ भने यात्रुको चाप हेलिकोप्टर नजिकै बढी हुने गरेको देखिन्छ । मौसम खराबीले लुक्लामा दैनिक जहाज उडान नहुदाँ हेलिकोप्टरकै भरमा यात्रु काठमाडौं आउने गरेका छन् । सुरक्षामा चुनौती भएको भन्दै तत्काल यसको व्यवस्था नगरे दुर्घटना हुने भन्दै यात्रुले सुझाव दिएका छन् । विमानस्थल प्रशासनले ११ रोपनी जग्गा खरिद गरी सकेको र तत्काल विद्युत आपूर्ती भएपछि विद्युतीय पाससहित सामाग्री जाँच गर्न एक्सरे मेसिन राख्ने तयारी थालेको जनायो ।
सडक सञ्जाल नपुग्दा जहाजकै भरमा दैनिक हजार बढी आरोही र पर्यटक आवतजावत गर्ने गर्छन् । यहाँ ४० भन्दा बढी दैनिक जहाजको उडान र ८० बढी हेलिकोप्टर अवतरण हुने गरेको तथ्याङ्क छ ।