महिनावारीमा विभेद नगर
महिनावारी हुँदा अपनाउनुपर्ने सरसफाइसम्बन्धी दिवस मे २८ का दिन विश्वभरि मनाइयो। सन् २०१४ देखि मनाउन थालिएको यो दिवसले महिलाहरू महिनावारी हुँदा अपनाउनुपर्ने सरसफाइ र स्वास्थ्य तरिकाका बारेमा प्रभावकारी जनचेतना जगाउने लक्ष्य राखेको छ। यसै वर्षबाट यो दिनलाई नेपालमा पनि ‘राष्ट्रिय मर्यादित महिनावारी दिवस’ को रूपमा मनाउन थालिएको छ। महिनावारी सरदर पाँच दिन हुने भएकाले अंग्रेजी पात्रोको पाँचौं महिना मे र महिनावारीको चक्र सरदर २८ दिनमा हुने हुनाले सो महिनाको २८ तारिखलाई यस्तो दिवसको रूपमा चयन गरिएको हो।
महिनावारी वास्तवमा प्राकृतिक शारीरिक प्रक्रिया हो। महिलाको गर्भाशयको भित्री तहमा मासिक रूपमा जम्मा भएका तन्तुहरू र रगत बाहिर फालिने विशुद्ध प्राकृतिक र महत्वपूर्ण प्रक्रिया यो। यो प्रक्रियाकै कारण प्रजनन सम्भव हुन्छ। त्यसैले महिनावारीलाई मानव र अन्य केही प्राणीमा जीवनचक्र कायम राख्ने महत्वपूर्ण कार्य हो भनी मान्नुपर्छ। प्राकृतिक, स्वाभाविक र महत्वपूर्ण प्रक्रिया भए पनि महिनावारीका बारेमा विश्वका विभिन्न भागमा त्यहाँका संस्कृति र सामाजिक मान्यताअनुसार यसबारेमा विभिन्न धारणा रहेको पाइन्छ। केही संस्कृतिमा महिनावारीलाई सम्मानका दृष्टिले हेरिने भए पनि विश्वका अधिकांश भागमा महिनावारी र महिनावारी भएका महिलालाई अशुद्ध, फोहोर र अपवित्र मान्ने अन्धविश्वास वर्षौंदेखि कायम रहेको पाइन्छ। यसैका आधारमा महिलालाई विभिन्न पारिवारिक, सामाजिक, सांस्कृतिक र धार्मिक कार्यक्रमहरूमा भाग लिन वञ्चित गरिन्छ। नेपालमा पनि यस्तो अन्धविश्वास पाइन्छ।
कर्णाली प्रदेशका केही जिल्लामा महिनावारीलाई छाउ भनिन्छ। महिनावारी भएका महिलालाई घरभन्दा पर छाउगोठ बनाएर राख्ने चलन अझै छ। उनीहरूलाई घरमै राख्दा नराम्रा कुरा आइपर्ने अन्धविश्वास छ। घरबाहिर यसरी एक्लै बस्नुपर्दा महिला जाडोले सताइने, विषालु सर्पले टोकेर मृत्युवरण गर्नुपर्ने र असामाजिक चरित्र बोकेका मानिसबाट पनि डराउनुपर्ने अवस्थामा हुन्छन्। छाउगोठमा बस्दा यस्तै विभिन्न कारणले कैंयौ महिलाले ज्यान गुमाइसकेका छन्। अमानवीय र अवैज्ञानिक छाउप्रथा हटाउन सरकारी र गैरसरकारी तहबाट विभिन्न प्रयास भए पनि गहिरो गरी गढेको अन्धविश्वासका कारण यो प्रथा यद्यपि छ। सरकारले २०६४ मै छाउपडी प्रथा उन्मूलन निर्देशिका जारी गरेको छ।
महिनावारीको समयमा शरीरमा उत्पन्न हुने हर्मोनमा परिवर्तन हुने हुनाले महिलाले विभिन्न शारीरिक र मानसिक अप्ठेरा झेल्नुपर्छ। महिनावारीलाई नकारात्मक तरिकाले हेरिने भएकाले यस्ता अप्ठेराबारे महिलाहरू खुलेर बोल्न सक्दैनन्। महिनावारीका बेला उक्त प्रक्रियासँग सम्बन्धित सरसफाइका बारेमा विशेष ध्यान दिनुपर्छ। महिनावारीलाई अपवित्र र अशुद्ध मान्दा महिलाहरू यसको सरसफाइका उपाय राम्रोसँग अपनाउन पनि पाउँदैनन्। महिनावारी हुँदा सरसफाइका लागि विभिन्न उपाय पत्ता लागिसकेको सन्दर्भमा महिनावारी र महिनावारी भएकी महिलालाई अपवित्र र अशुद्ध ठानिरहनु जायज हुन सक्दैन। छाउप्रथा र महिनावारी भएका महिलाविरुद्ध हुने विभेदपूर्ण व्यवहारहरू नेपालको संविधानमा व्यवस्था भएका महिलाको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, छुवाछूत तथा भेदभावविरुद्धको हक, गोपनीयताको हक, शोषणविरुद्धको हक, स्वास्थ्यसम्बन्धी हक, सामाजिक न्यायको हकजस्ता हकका विरुद्ध छ।
यसअघि छाउगोठ भत्काउनेलगायत जनचेतना जगाउने विभिन्न क्रियाकलाप सञ्चालन भए पनि महिनावारीका सम्बन्धमा रहेको अन्धविश्वास अझै पनि बलियो छ। महिनावारीका बेलामा अपनाउनुपर्ने सरसफाइका साथै यसका विरुद्धमा रहेको अन्धविश्वास हटाउन अझ सक्रिय, आक्रामक र प्रभावकारी विधिहरूको जरुरी छ। त्यसका लागि सरकारी र गैरसरकारी संयन्त्रहरूलाई परिचालन गरिनुपर्छ। महिनावारीजस्तो महत्वपूर्ण प्राकृृतिक प्रक्रियालाई स्वाभाविक रूपमा लिने प्रवृत्तिको विकास हुन जरुरी छ।