धर्मगुरु आचार्य श्रीनिवास जेल चलान
![धर्मगुरु आचार्य श्रीनिवास जेल चलान](https://annapurnapost.prixacdn.net/media/albums/achrya_shreenewasa_zill_20180530125230_RbOfe8cjr7.jpg)
विराटनगर : आफ्नै अगंरक्षकलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका हिन्दु धर्मगुरु श्रीनिवास आचार्य पुर्पक्षको लागि जेल चलान भएका छन्। गोली हान्न लगाएर हिन्दुराज्य स्थापनाका लागि आन्दोलन गराउन असफल प्रयास गरेका आचार्य श्रीनिवासलाई मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएका हुन्।
श्रीनिवास आचार्य भन्ने दिनेश पण्डितलाई सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा राखिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। उनलाई हात हतियार खर खजना २०१९ को दफा २४ को (क) बमोजिम आदेश दिएको हो।
उनले गत चैत २५ गते विराटनगरमा हिन्दु धर्म बचाउन भन्दै आफैले आफैलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो। यस्तै, आचार्यलाई गोली हान्ने उनकै अंगरक्षक चितवनको भरतपुर महानगरपालिका बेलचोकका २९ वर्षीय रोशन भन्ने माधव चौधरी र गोली र पेस्तोलको व्यवस्थापन गर्ने नवलपरासीको गैडाकोट नगरपालिका ५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।
जिल्ला न्यायधीश नवराज दाहालको इजलासले मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो। आचार्यको पक्षमा जिल्ला प्रशासनमा अधिवक्ता उद्धवचन्द्र घिमिरेले बहस गरेका थिए भने चौधरी र अधिकारीको पक्षमा वरिष्ठ अधिवक्ता हेमराज पराजुली, अधिवक्ताद्वय मोहन कोइराला र जनकबहादुर पुरीले बहस गरेका थिए। सरकारको तर्फबाट जिल्ला न्यायधीवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए।
विराटनगर १४ जतुवास्थित रामजानकी मन्दिरमा पुराण वाचनका लागि आएका आचार्यमाथि चैत २५ गते बिहानका राति १ बजेर ४५ मिनेट जाँदा शौचालय अगाडि गोली प्रहार भएको थियो। न्यूरो अस्पताल विराटनगरमा २१ दिन उपचार गराएर थप उपचारका लागि काठमाडौं गएका श्रीनिवासलाई वैशाख २४ गते बिहान प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।
पक्राउ परेका श्रीनिवास आचार्यले प्रहरीको हिरासतमा राखेको बेला भोक हडताल समेत गरेका थिए।
सम्बन्धित समाचार:
भक्तबहादुर हवल्दार साबः जसले आचार्य श्रीनिवासको पोल खोले
धर्मगुरु श्रीनिवासाचार्य पक्राउ, आफैँले गोली हान्न लगाएको खुलासा
श्रीनिवासाचार्य गोली प्रकरण : ‘समाज बिथोल्ने प्रयास’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)