अग्निपीडितको आकाशमुनि बास

अग्निपीडितको आकाशमुनि बास

किम्री (मुगु) : वैशाख २० गते भएको आगलागीपीडित मुगुम कार्मारोङ गाउँपालिका—४ किम्री गाउँका १७ घरका अग्निपीडितलाई सरकार र केही गैरसरकारी संस्थाले तत्कालका लागि गैरखाद्य र खाद्यसामग्री उपलब्ध गराएको भए पनि बस्ने घर नहुँदा उनीहरू अहिले आकाशमुनि रात काट्न बाध्य भएका छन्।

आगलागीबाट घरसहित सबै अन्न धनसम्पत्ति जलेर खरानी भएपछि सरकार तथा केही गैरसरकारी संस्थाले तत्कालका लागि राहत उपलब्ध गराए पनि परिवारलाई राम्रोसँग बस्ने स्थान नहुँदा आकाशमुनि रात कटाउन बाध्य भएका हुन्।

वैशाख २० गते बिहान नौ बजे वडाध्यक्ष छिरिङ टासी लामाको घरबाट सुरु भएको आगोले अन्य १६ घर जलेर खरानी भएका थिए। आगलागीबाट सबै धनमाल खरानी भएपछि तीन दिनपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महिन्द्र शाही र मुगुबाट निर्वाचित सांसद र प्रमुख जिल्ला अधिकारीसहितको टोली राहत सामग्री लिएर गाउँमा पुगेको थियो।

आगलागीबाट छिरिङ टासी लामा, फोन्जोक लामा, आङडाक लामा, हिस्से लामा, पेमा लामा, पेम्बा लामा, अङ्जु लामा, जिग्मे लामा, तोर्चे लामा, पासाङ लामा, फुर्वा लामा, धावा लुण्डुप लामा, कार्मा छेवाङ लामा, सोनाम आङ्डु लामा, अङ्जक लामा, जिक्टोल लामा र गारा छिरिङ लामाका घरमा पूर्ण क्षति भएको छ।

तीन महिनाका लागी मुगुम कार्मारोङ गाउँपालिकाले खाद्यान्न उपलब्ध गराउने भएको छ। सरकारले उपलब्ध गराएको त्रिपालमा सबै परिवार अट्न नसक्दा खुला चौरमै रात बिताउनुपरेको अग्निपीडित आङ्डाक लामा बताउँछन्।

बिहान विद्यालय जाने उमेरका बालबालिकाले कापी, कलम, झोला र विद्यालय पोसाक खोज्दा अभिभावकका आँखाबाट आँसु झर्छन्। वनमा चरेर फर्केका चौपायाले गोठ नदेखेर कराउँदा महिला, बूढापाका डाँको छाडेर रुन्छन्। पशु चौपायका लागि गोठ नहँुदा १७ घरकै पशु चौपाया छाडा छाड्नुपर्ने बाध्यता छ। चौपायले बारीमा लगाएको अन्नबाली नष्ट गरिदिन थालेपछि हिउँदमा झन् के खाने भन्ने चिन्ताले सताउन थालेको जिक्टोल लामाले गुनासो पोखे।

‘छिमेकी इष्टमित्रले दिएको खानेकुराले बिहान–बेलुकी पेट भरेका छौं तर विद्यालय जाने बालबालिका र गाईवस्तुको अवस्था देख्दा मन दुखेर आउँछ, डाँको छाडेर रुन मन लाग्छ’, ६५ वर्षीय सोनाम छिरिङ लामाले भने।

मुगुम कार्मारोङ गाउँपालिकाको मुख्य आयस्रोत यार्सागुम्बा र जडीबुटीनै हो। यो समय उनीहरूका लागि वर्षभरिको कमाइ गर्ने समय हो। मुगुका विभिन्न पाटन क्षेत्रमा गई एक महिना यार्सा संकलन गर्दा उनीहरू वर्षभरि पुग्ने आम्दानी जोहो गर्छन्। तर, किम्री गाउँका अग्निपीडित १७ घरपरिवारलाई भने सकस भएको छ। घरमा भएको लुगाफाटो अन्नपात सबै जले, हिमालमा जाँदा जौ, गहुँ, नाफल, फापर र कोदोको सातु, पिठो, चामल लिएर जाने गरे पनि यसपटक आगलागी हुँदा एकसरो लुगाबाहेक केही बचेन। आफन्तले दिएको चिउरा, दालमोठ, चाउचाउ लिएर हिमालमा यार्सा टिप्न जानुपरेको स्थानीय कार्मा वाङजुक लामाले बताए।

अग्निपीडितका लागि तत्काल आधारभूत राहत व्यवस्था गरिए पनि उनीहरूको अस्थायी पुनर्वास व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी संघसंस्थाले आश्वासन दिएका छन् तर घर निर्माण कहिले हुने उनीहरूलाई कुनै जानकारी छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.