मधुमेह : सभ्यताले निम्त्याएको रोग

मधुमेह : सभ्यताले निम्त्याएको रोग

काठमाडौं : मधुमेह (डायबेटिज) वर्तमान संसारमा महामारीका रूपमा फैलिएको छ। मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन्। विगतमा सम्पन्न वा धनीलाई मात्र लाग्ने रोगका रूपमा लिइने मधुमेह अहिले दूरदराजका गरिब गाउँबस्तीसम्म पुगिसकेको छ। हरेक टोल, गाउँ र बस्तीमा यो रोगको प्रभाव भेटिन्छ। मधुमेहको बढोत्तरीसँगै खानपान शैलीमा व्यापक परिवर्तन आउन थालेको छ। विगतमा कुनै चियापसलमा चिया माग्दा चिनी हालेको वा नहालेको भन्ने हुन्नथ्यो।

चिया भनेपछि चिनी हालेकै बुझिन्थ्यो। तर, अहिले चिया अर्डर गरेपछि पसलेले 'चिनी हालेको कि नहालेको भनेर सोध्छ। यो सामान्य अवस्था होइन। हरेक चियापसलमा चिया बनाउँदा 'चिनी हाल्ने कि नहाल्ने' भनेर सोध्नुले मधुमेहको विकराल अवस्थालाई स्पस्ट पार्छ। 

अहिले शहरका हरेक खाद्यान्न पसलमा पाइने खाद्य सामग्रीमध्ये कम्तीमा पनि २० प्रतिशत सामग्री मधुमेहका रोगीसँग सम्बन्धित छन्। 'सुगर फ्री' हरेक पसलको आवश्यकता भइसकेको छ। यदि वर्तमान सभ्यताले आफूलाई सुधार गर्न सकेन भने बहुसंख्यक खाद्य सामग्री 'सुगर फ्री' नै हुनेछन्। मधुमेह एक स्वाभाविकता वा आम विषय जस्तो बन्नेछ।

सभ्यताले निम्त्याएको रोग 

मधुमेहको तीव्रता र व्यापकता हुँदाहुँदै पनि यसलाई निर्मूल पार्ने वा रोगलाई पूर्ण रूपमा निको बनाउने औषधि बन्न सकेको छैन। मधुमेहसँग सम्बन्धित सम्पूर्ण औषधि यसको रोकथाम र व्यवस्थापनसँग सम्बन्धित छन्। मधुमेहलगायत सम्पूर्ण 'क्रोनिक डिजिज'को रोकथाम र व्यवस्थापन मात्र सम्भव भएको छ। रोग निको नै पार्ने औषधि–उपचार वर्तमान औषधि विज्ञानले पत्ता लगाउन सकेको छैन। 

मधुमेह जीवनशैलीको दोष (डिफेक्ट) ले निम्तिएको रोग हो। यसलाई सभ्यताको रोग पनि भनिन्छ। आजभन्दा सय वर्षअगाडि साह्रै थोरै मानिसलाई मात्र मधुमेह लाग्थ्यो। अझ हजार वर्ष अगाडिको कुरा गर्ने हो भने त मधुमेह दुर्लभ थियो। 

मानिस जंगल, गुफा, गाउँ र शहर हुँदै वर्तमानको अत्याधुनिक युगसम्म आइपुगेको हो। यो अवस्थासम्म आइपुग्दा जीवनशैलीमा विविध परिवर्तन भए। आधुनिक प्रविधिद्वारा निर्मित सेवा र सुविधाका कारण मानव सभ्यताले अकल्पनीय सहजता र सुख प्राप्त गर्‍यो। विगतमा गम्भीर र कठिन मानिने रोगमाथि समेत औषधि-उपचारका व्यवस्था भए। तर, सभ्यताको विकाससँगै विस्तारित भइरहेका दीर्घ रोगहरूले ठूलो चुनौती थपिरहेका छन्। 

विगतमा गम्भीर र कठिन मानिने रोगमाथि समेत औषधि-उपचारका व्यवस्था भए। तर, सभ्यताको विकाससँगै विस्तारित भइरहेका मधुमेह जस्ता दीर्घ रोगले ठूलो चुनौती थपिरहेका छन्।

भर्खरै भारतको राजधानी दिल्लीलाई आधार मानेर गरिएको एक स्वास्थ्य सर्वेक्षणका अनुसार दिल्लीमा दुई जनामध्ये एक जनालाई मधुमेह लागिसकेको वा मधुमेह लाग्ने अवस्थामा प्रवेश गरिसकेको (प्रि–डायबेटिज) देखाएको छ। दिल्लीको यो रिपोर्ट  दिल्लीको मात्र कथा होइन। संसारका प्रायः शहरको व्यथा हो। यो व्यथाबाट अफ्रिका तथा एसियाका गाउँदेखि युरोप र अमेरिकाका सम्पन्न शहरसमेत प्रताडित छन्। 

शिकारी युग र कृषि युगमा रोगका रूपमा नरहेको मधुमेह वर्तमानको प्रमुख रोगको रूपमा स्थापित हुनाको कारण के हो ? मान्छे दिनानुदिन शिक्षित र सुविधासम्पन्न भइरहेको अवस्थामा मधुमेहले किन व्यापकता लिइरहेको छ ? उपचारसम्बद्ध उपकरण, विधि, प्रविधि र औषधिको उच्चतम विकासका बावजुद पनि मधुमेह झन् जटिल बन्नुको कारण के हो ? यी प्रश्नको उत्तर खोतल्न मधुमेहको लक्षण, तत्कालीन (अल्पकालिन भन्ने अर्थमा) कारण र विषयमा मात्र केन्द्रित भएर पुग्दैन।

सयौँ वर्षदेखि परिवर्तित हुँदै गएको जीवनशैलीलाई अध्ययन गर्नुपर्छ। जीवनशैली परिवर्तनसँगै कम हुँदै गएको श्रमपूर्ण दिनचर्या र खानपानको बदलिएको रूपलाई केलाउनुपर्छ। मानव सभ्यता गुफा वा जंगली युगमा हुँदा मानिससँग बिहान उठ्नेबित्तिकै भोजनको उपलब्धता हुँदैनथ्यो। भोजनका लागि उसले कि शिकार गर्नुपथ्र्यो कि कन्दमूल र फलफूल खोज्न निक्लनुपथ्र्यो।

 शिकार गरेर वा कन्दमूल खोजेर मात्र मानिसले खाना जुटाउँथ्यो। बिहान उठ्नेबित्तिकै खानाको खोजमा निक्लँदा शारीरिक श्रम हुन्थ्यो। दौडादौड र स्याँस्याँ-फ्याँफ्याँ हुन्थ्यो। अहिलेको भाषामा भन्दा मानिसले व्यायाम गथ्र्यो। स्वाँस्वाँ गर्दा प्राणायाम हुन्थ्यो। शिकारी युगपछिको कृषि युगमा पनि मानिस बिहान उठेपछि कृषि कर्ममा जुट्थ्यो।

 घरपालुवा बस्तुभाउको धन्दा गर्नुपथ्र्यो। खेतीबारीको काम गर्नुपथ्र्यो। पानी लिन टाढाको धारा वा कुवामा पुग्नुपथ्र्यो। यी सबै कर्मपछि मात्र मानिसले खाना खान्थ्यो। अर्थात्, शिकारी र कृषि युगमा मानिसलाई कठोर श्रमपश्चात् मात्र खाना खाने समय उपलब्ध हुन्थ्यो। यसरी शारीरिक श्रमपश्चात् मात्र भोजन गर्दा शरीर स्वस्थ रहन सहयोग पुग्थ्यो। 

खानामा अति कार्बोहाइड्रेट

शिकारी युगमा मानिसको प्रमुख भोजन अन्न थिएन। अधिकांश भोजन फलफूल, कन्दमूल, माछा वा मासु हुन्थ्यो। कृषि युगको सुरुवातसँगै मानिसको मुख्य भोजन अन्न हुन पुग्यो। फलफूलमा कार्बोहाइड्रेटको मात्रा न्यून हुन्छ। कन्दमूलमा कार्बोहाइड्रेट पाइने भए पनि यो खास ऋतुमा मात्र उपलब्ध हुन्छ, सधैँ पाइन्न। मधुमेह निम्त्याउने मुख्य खाना भनेकै कार्बोहाइड्रेटयुक्त खाना हो। कार्बोहाइड्रेटको मात्रा असुन्तलित भयो भने मधुमेह हुने बलियो सम्भावना रहन्छ। 

खानाबाट कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र मिनरल गरी पाँच तत्व प्राप्त हुन्छन्। यी पाँच तत्वको सन्तुलित भोजन नै स्वस्थ भोजन हो। तर, अहिले हाम्रो खानामा सबैभन्दा बढी कार्बोहाइड्रेटको मात्रा हुन्छ। हामी खाना भन्नेबित्तिकै कार्बोहाइड्रेट नै हो भन्ने अवस्थामा पुगेका छौँ। शक्तिका लागि कार्बोहाइड्रेटको आवश्यकता पर्छ।

शारीरिक शक्तिको मुख्य स्रोत कार्बोहाइड्रेट नै हो। तर, यो बढी भयो भने यसले मधुमेह निम्त्याउँछ। अर्कोतर्फ अहिले हामीले खाने कार्बोहाइड्रेट प्रशोधित छ। अर्थात्, हामीहरू बोक्रा वा रेसा भएको कार्बोहाइड्रेट कम खान्छौँ। कार्बोहाइड्रेट खाँदा पनि प्राकृतिक (रेसा वा बोक्रासहितको) खाने हो भने मधुमेह लाग्ने सम्भावना कम हुन्छ। 

गुलियो र मधु्मेह 

मधुमेह लाग्न नदिन वा लागिसकेपछिको अवस्थामा अवस्था हेरेर कार्बाेहाइड्रेट कम खाने वा अति कम खाने, हरिया सागसब्जी र सलादहरू खाने तथा फलफूल पनि अवस्थाअनुसार खाने गरिन्छ। तर, मधुमेह लागिसकेपछिको अवस्थामा फलफूल खाँदा पनि सावधानी अपनाउनुपर्छ। फलफूल गुलियो हुन्छ। गुलियो पनि आफैँमा कार्बोहाइड्रेट हो।

तर, अन्नमा पाइने गुलियो ग्लुकोज हो भने फलफूलमा पाइने 'फ्रुक्टोज' हो। कतिपय फलफूलमा पाइने फ्रुटोजले मधुमेह लाग्ने अवस्था निर्माण गर्दैन, लागिसकेपछिको अवस्थामा खाँदा पनि खासै असर पुर्‍याउँदैन। उदाहरणका लागि नरिवलको पानी गुलियो नै हुन्छ, तर यसको सेवन मधुमेहका बिरामीले गर्न सक्छन्। त्यसै गरी, स्टेभिया झार र दालचिनी गुलिया हुँदाहुँदै पनि मधुमेह लागिसकेपछि पनि सेवन गर्न सकिन्छ। सबै गुलियो मधुमेहका लागि खतरा हुँदैनन्। कतिपय फलफूलले त औषधिको समेत काम गर्छन्। 

कार्बोहाइड्रेटमा पनि 'हाई ग्लाइसेमिक' अर्थात् उच्च ग्लुकोज भएका खाना मधुमेहका बिरामीले खानु हुँदैन। चामलमा उच्च ग्लाइसेमिक हुन्छ भने गहुँमा चामलभन्दा कम र जौ तथा फापरमा गहुँको भन्दा पनि कम ग्लाइसेमिक पाइन्छ। 

यसरी हेर्दा हाम्रो मुख्य भोजनको रूपमा रहेको चामल नै मधुमेह निम्त्याउन सहायक भइरहेको देखिन्छ। चामल कम खाने वा खाँदा पनि ब्राउन राइस मात्र खाने हो भने मधुमेह नियन्त्रणमा सहयोग पुग्छ। 

कोरियन र चाइनिजहरू पनि चामल खान्छन्। तर, अत्यन्तै कम। उनीहरूको भोजनमा चामलको मात्रा अन्य खानाभन्दा साह्रै थोरै हुन्छ। मनोक्रान्ति अभियानको सिलसिलामा म कोरिया गएको थिएँ। त्यहाँ अन्य देशका मान्छेका तुलनामा कोरियनलाई मधुमेहको समस्या तुलनात्मक रूपमा कम भएको पाइयो। भोजनमा हाई ग्लाइसेमिक भएको खाना नखानु वा कम खानु तथा नियमित व्यायाम संस्कार हुनाको कारणले नै उनीहरू मधुमेहबाट कम पीडित भएका हुन्। 

'केटोजेनिक डाइट'

पर्याप्त व्यायाम, खानपान परिवर्तन र तनावरहित जीवनशैलीलाई अपनाउने हो भने मधुमेह लाग्दैन र लागिसकेको छ भने पनि नियन्त्रण गर्न सकिन्छ। हालसम्म पूर्ण रूपमा निको पार्न नसकिने भनिएको मधुमेहलाई पूर्ण निर्मूल पार्नका लागि विभिन्न अनुसन्धान भइरहेका छन्। पछिल्लो समय मधुमेह नियन्त्रण वा निर्मूलको विषयलाई लिएर पर्याप्त व्यायामसँगसँगै 'केटोजेनिक डाइट'को अवधारणा अगाडि सारिएको छ। केटोजेनिक डाइटअनुसार सम्पूर्ण खानाको दुईदेखि पाँच प्रतिशत मात्र कार्बोहाइड्रेटयुक्त खाना खाने गरिन्छ। 

अर्थात्, तपार्इंको खानामा दुईदेखि पाँच प्रतिशत मात्र कार्बोहाइड्रेटको मात्रा हुनुपर्छ। कार्बोहाइड्रेटको मात्रा यसरी घटाउँदा शरीरलाई आवश्यक शक्तिको पूर्ति कसरी गर्ने भन्ने प्रश्न उठ्नसक्छ। यसका लागि खानामा 'गुड फ्याटको' मात्रा बढाउनुपर्छ। जसअन्तर्गत काजु, पेस्ता, बदाम तथा आलस, तिल, सूर्यमुखीको बियाँ र फर्सीको बियाँलाई भुट्ने र पाउडर बनाएर खानाका रूपमा खान सकिन्छ। यस्ता खाद्य पदार्थलाई खानाका रूपमा खाँदा शरीरलाई आवश्यक शक्ति पूर्ति हुन्छ। 

माछा, मासु र अण्डामा 'सुगर' हुँदैन। तर, माछा, मासु र अण्डा बढी भयो भने यो सुगरमा समेत रूपान्तरण हुन्छ। केटोजेनिक डाइट अपनाउँदा मांसाहारीले माछा, मासु र अण्डासमेत सन्तुलित रूपमा खानुपर्ने हुन्छ। 

मधुमेह लागेको छैन वा तपाईं अहिले 'फिट एन्ड फाइन' हुनुहुन्छ भने नियमित व्यायाम गर्ने, तनाव व्यवस्थापन गर्ने र भोजनमा 'रफेज' भएका खाना (ब्राउन राइस, आँटा आदि) खाने गर्नुपर्छ। मधुमेह लागिसकेको छ भने केटोजेनिक डाइटलाई अपनाउनुपर्छ। 

अन्त्यमा, 
मधुमेह जीवनशैलीसँग जोडिएको रोग हो। जीवनशैलीमा परिवर्तन नल्याईकन मधुमेहबाट बच्च सकिन्न। मधुमेह लागिसकेपछि उपचार गर्नुभन्दा मधुमेह लाग्नै नदिन जीवनशैलीमा परिवर्तन गर्नु जरुरी छ। [email protected]


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.