आज १८ औं विश्व दूध दिवस : राजविराजमा बालकबालिकालाई दूध खुवाइयो
राजविराज : राजविराजस्थित बाल कल्याण गृहका बालकबालिकालाई मिलन डेरी उद्योगले शुक्रबार दूध खुवाएको छ।डेरी उद्योगले बालबालिकालाई दूध खुवाइ १८ अौं विश्व दूध दिवस मनाएको हो।१८ औं विश्व दूध दिवसको अवसरमा राजविराज नगर प्रमुख शम्भु यादवले दूध वितरण आरम्भ गरी दुग्धपान कार्यक्रमको उद्घाटन गरे।
बिहान आफ्नै हातले दूध खुवाउनुका साथै बेलुका खीर बनाउनका लागि दूध प्रदान गरिएको उद्योगका प्रोपाइटर तथा नेपाल डेरी एशोसिएसनका क्षेत्रीय संयोजक राघोप्रसाद सिंहले जानकारी दिए । मानिसले दूध अझैं आवश्यक मात्रामा सेवन गर्न नसकेको भन्दै सिंहले दैनिक दूध सेवनले स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए।
नेपालमा अझै प्रतिव्यक्ति ९० लिटर दूध पिउनुपर्नेमा ७० लिटर मात्रै उपभोग भइरहेको जनाउँदै उनले व्यवसायीक दूध उत्पादमा राज्यले ध्यान दिनुपर्ने बताए। मासु, अण्डामा आत्मनिर्भर भएको नेपाल दूधको आत्मनिर्भरतातर्फ अगाडी बढ्दै गएको छ।
सो क्रममा नगर प्रमुख शम्भु यादवले दूधले शरीरलाई चाहिने पोषकतत्व धेरै मात्रामा प्राप्त हुने भएकाले दैनिक दूध सेवन गर्नुपर्ने बताए। नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले स्वास्थ्यका लागि नियमित दूध सेवन आवश्यक भएको बताए।
वडा अध्यक्ष अरुण यादवले दूध मात्र सम्पूर्ण आहार भएकाले दूध उपभोग बढाउन जरुरी रहेको बताए।कार्यक्रममा शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजका डिभिजन प्रमुख, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, इन्सेक प्रतिनिधिलगायतकाले दूधको महत्वका बारेमा चर्चा गरे।
सन् २००१ जुन १ देखि विश्व दूध दिवस मनाउन थालिएको हो। दूध दिवसले दूधको विषयमा ध्यान आकर्षित गर्न र दूध उद्योगको गतिविधि प्रचारप्रसार गर्न मौका मिलेको उद्योगका मिलन सिंहले बताए।