प्रदेश ३ को नीति तथा कार्यक्रम : आठ सहरमा पेट्रोलबाट चल्ने सवारी साधन बन्द
काठमाडौं : प्रदेश ३ मा आगामी १० वर्षभित्र संघीय राजधानी काठमाडौंलगायत आठ सहरमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा प्रतिबन्ध लगाइने घोषणा भएको छ।
प्रदेश प्रमुख अनुराधा कोइरालाले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २०८५ सालसम्ममा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, हेटौंडा, बनेपा, धुलिखेल र पनौती सहरमा पेट्रोलियम पदार्थमा आधारित सवारी साधनमा पूर्ण प्रतिबन्ध लगाइने घोषणा गरेकी छिन्।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा पोष्टबहादुर बोगटी-भिमफेदी-कुलेखानी सुरुङ मार्ग परियोजना र पुष्पलाल प्रदेश चक्रपथ (रामेछाप-दोलखा-सिन्धुपाल्चोक-नुवाकोट-धादिङ-चितवन-मकवानपुर-सिन्धुली र काभ्रे) लाई प्रदेश गौरवका योजनाका रुपमा अगाडि बढाउने घोषणा भएको छ।
काठमाडांै उपत्यका काँठ ग्रामीण चक्रपथ, कम्तिमा १०० मेगावाटसम्मको हाइड्रोपावर निर्माण परियोजना, गौरीशंकर-जुगल-गणेश हिमालका आधार शिविर जोड्ने उच्च हिमाली पदमार्ग परियोजना, प्रदेश विश्वविद्यालय परियोजना, मरिन सहर निर्माण परियोजना, भक्तपुर-पाँचखाल सुरुङमार्ग परियोजना, इन्द्रावती-भिमटार-पाँचखाल सिंचाइ परियोजनाको अध्ययनलाई प्राथमिकता दिने नीति तथा कार्यक्रममा उल्लेख छ।
शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख कोइरालाले ११५ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेकी छिन्। नीति तथा कार्यक्रममा प्रदेश ३ लाई देशकै नमुना प्रदेश बनाउने लक्ष्य राखिएको छ।