सिंहदरबारको क्यान्टिनमा ठगी

सिंहदरबारको क्यान्टिनमा ठगी

काठमाडौं : सिंहदरबारको सर्भिस सेन्टरमा रहेको केन्द्रीय क्यान्टिनले कर्मचारीलाई खुलेयाम ठगी गरिरहेको पाइएको छ ।सरकारी निकायसँग सम्झौता गरी सिंहदरबारका कर्मचारी र विभिन्न काम लिएर आउने सेवाग्राहीलाई सस्तो र राम्रो खाजा खुवाउने जिम्मेवारी पाएको कञ्चन चमेनागृहद्वारा सञ्चालित केन्द्रीय क्यान्टिनले तोकिएको मूल्यभन्दा धेरै रकम लिएर कर्मचारीलाई ठगी गर्दासमेत सम्बन्धित निकाय मौन बसिरहेको छ ।

कञ्चन चमेनागृहले सिंहदरबार पुनर्निर्माण समितिसँग सम्झौता गरी क्यान्टिन चलाइरहेको भए पनि सो क्यान्टिनले गुणस्तरीय र राम्रो सेवा दिन नसकेको गुनासो कर्मचारी र अन्य सेवाग्राहीले गरेका छन् ।

पुनर्निर्माण समितिले पनि क्यान्टिनमा नियमित अनुगमन गर्न सकेको छैन ।

पुरानो क्यान्टिनको म्याद समाप्त भएपछि भदौमा सिंहदरबार पुनर्निर्माण समितिले क्यान्टिन सञ्चालन गर्न विभिन्न १० वटा आइटमसहित टेन्डर आह्वान गरेको थियो । भेज मम, चिकेन मम, रोटी तरकारी, चिकेन चाउमिन, भेज चाउमिन, चिउरा तरकारी, खाजा सेटलगायत १० आइटमका खाजा बिक्री गर्न टेन्डर हालेका ७ वटा कम्पनीमध्ये सबैभन्दा कम दररेटमा टेन्डर पेस गरेको कञ्चन चमेनागृहले स्वीकृति पाएको थियो । तर, कञ्चनले सरकारसँग सहमति गरेभन्दा बढी दररेटमा खाजाका आइटम बिक्री गरिरहेको पाइएको हो ।

सबैभन्दा बढी चल्ने भेज मम र चिकेन मममै कञ्चनले प्रतिप्लेट ३ रुपैयाँभन्दा बढी दरमा सेवाग्राहीसँग रकम असुलिरहेको छ । कर्मचारीका अनुसार टेन्डरमा भेज मम भ्याटसहित प्रतिप्लेट १७ रुपैयाँमा बिक्री गर्ने सम्झौता गरिए पनि क्यान्टिमा प्रतिप्लेट ३ रुपैयाँ बढाएर बिक्री गर्ने गरिएको छ । यसैगरी चिकेन मम भ्याटसहित प्रतिप्लेट ५७ रुपैयाँमा बिक्री गर्ने सम्झौता गरिए पनि प्रतिप्लेट ३ रुपैयाँ बढि लिएर ६० रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।

कर्मचारीका अनुसार भेज मम र चिकेन मममा प्रयोग गर्ने मसला (किमा) पनि गुणस्तरहीन र स्वादहीन हुने गरेको छ । क्यान्टिनले चिकेन मममा राख्ने किमा प्रतिकेजी ३ सयमा ल्याउने गरेको छ तर बजारमा राम्रो र गुणस्तरीय किमालाई ५ सय ५० सम्म पर्ने गरेको छ । राम्रो किमा नल्याएर गुणस्तरहीन किमा ल्याउने र स्वादरहित मम बिक्री गर्ने गरेको गुनासो कर्मचारीको छ । 

कञ्चन चमेनाले सरकारसँग सम्झौता गरेका ममका आइटम थोरै बनाउने गरेको र अन्य सम्झौता नगरिएका आइटम महँगोमा बिक्री गर्ने गरेको छ । ‘कहिलेकाहीँ चिकेन मम र भेज मम चाँडै सकियो भनेर अन्य महँगा आएटम खान बाध्य पारिन्छ’, क्यान्टिनमा भेटिएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका कार्यालय सहयोगी रामजी शर्माले भने । यसैगरी, सिंहदरबारमा काम लिएर आएका सेवाग्राही राकेश महतले भित्तामा टाँसिएको रेटभन्दा चिकेन मममा प्रतिप्लेट ३ रुपैयाँ बढी लिइएको बताए ।

केन्द्रीय चमेनागृहका सञ्चालक उत्तम भट्टले चमेनागृहबाट सस्तो र गुणस्तरीय खाजा प्रदान गर्न आफूहरू प्रयासरत रहेको दाबी गरे । उनले कहिलेकाहीँ खुद्रा पैसा नभएकाले प्रतिप्लेट ३ रुपैयाँ फिर्ता गर्न नसकिएको स्विकार्दै अब त्यस्तो स्थिति आउन नदिने बताए । सिंहदरबार पुनर्निर्माण समितिकी सूचना अधिकारी आरती पौडेलले अब आफूहरूले क्यान्टिमा नियमित अनुगमन गर्ने बताइन् । पौडेलले आफूहरूले नियमित अनुगमन गर्न नसकेको स्विकार्दै क्यान्टिनले सम्झौताभन्दा बढी रकम लिएको पाइए कारबाही गरिने जानकारी दिइन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.