कविता : फोटोग्राफ
पहिलो प्रश्न तपाईंलाई
मानौं तपाईं सामूहिक फोटोसुटमा हुनुहुन्छ
लामो पर्खाइपछि फोटो तपाईंको हातमा पर्छ
अब भन्नुस् तपाईं सर्वप्रथम कसलाई हेर्नुहुन्छ ?
भयो छोड्नुस् यो प्रश्न
र, यो भन्नुस्कि —
आफू पछाडि पर्नेबित्तिकै
आफ्नो अघिल्लो पंक्तिमा उभिएकालाई
दस टाउके भन्ने तपाईंको रोगलाई
डाक्टरी भाषामा के भनिन्छ ?
त्यही रोग अरूमा देखिने बित्तिक्कै
साम्प्रदायिक आरोप रोप्नुहुन्छ, किन ?
मानौं कि तपाईंले
बडो मिहिनेतले परीक्षा दिनुभयो
लामो समयपछि परीक्षाफल प्रकाशित हुन्छ
अब भन्नुस् तपाईंले सर्वप्रथम कसको नाम हेर्नुहुन्छ ?
आउनुस् अब तपाईंलाई म फ्लास ब्याकतर्फ लैजान्छु ।
कृपया एकपटक
एनलग क्यामेराले खिचेको
विक्रमाब्द २००७ पूर्वको यो फोटो हेर्नुहोस् राम्ररी नियालेर
हेर्नुहोस् श्री ३ हरूको सम्मेलनमा
तपाईं र तपाईंका गोयबल्स् छेलिनुभएको छ ।
देख्नुभयो ?
श्री ३ हरूको शिरमा श्रीपेच
छातीमा तक्मा, हातमा राजदण्ड
सुरक्षा, राजमहल, राजगद्दी, राष्ट्रिय ढुकुटी !
अब यो पनि हेर्नुहोस् हजुरको रसिलो जिभ्रो अनि झुकेको शिर ।
त्यो बेला तपाईँ
देशलाई एकतान्त्रिक देख्नुहुन्थ्यो
शासनलाई जहानियाँ भन्नुहुन्थ्यो ।
आफू नभएको राजगद्दी
एकात्मक र परिवारवादी लाग्ने मनोरोगलाई
समाजशास्त्रले के नाम दिएको छ थाहा छ ?
त्यही मनोदशा अरूमा पाउने बित्तिक्कै
तपाईंले उनीहरूको सार्वभौम खेतमाथि
जातीय आरोप रोप्नुहुन्छ, किन ? !
आउनुहोस् अब म तपाईंलाई इतिहासतर्फ लैजान्छु ।
विक्रमाब्द २००७ पछि
हामीलाई आन्तरिक शरणार्थी बनाउनुभयो
र, तपाईं दस टाउके बन्नुभयो ।
विक्रमाब्द २०१७ पुस १ गते
तपाईंका टाउकामा फेरि
नारायण अवतारको चट्याङ खस्यो
र, शरणार्थी हुनुभयो ।
अब यो फोटोग्राफलाई गौरपूर्वक हेर्नुहोस् मौलिक हक
र, सार्वभौम अधिकारको मलिलो सपनामा
एकता रोप्ने, समता फलाउने
शान्ति र समृद्धि बाँड्ने भन्दै
विक्रमाब्द २०४६ देखि आफूलाई दानवीर बलि सम्झेर
— एकतान्त्रिक बीउ छर्दै हुनुहुन्छ
— जहानियाँ शासन उमार्दै हुनुहुन्छ ।
इतिहास नफर्कने बाटो हिँडेन ।
२०५९ जेठमा वामन अवतारले
तपाईंको टाउकोमा पाउ टेक्यो ।
औतारीलाई तेस्रो शक्तिले सत्ताच्युत गर्यो।
विक्रमाब्द २०६४ पछि पनि तपाईं
उही पुरानो एनलग क्यामेराले
सामूहिक फोटो खिच्न चाहनुभयो
हामीले डिजिटल क्यामेरामा हेर्र्यौं ।
हामी उहिले १०४ वर्षे राणाकालमा जस्तै छेकियौं ।
कसैको आँखा छेकियो, कसैको टाउको
कसैको छाती आएन, कसैको खुट्टा
कसैको हात देखिएन, कसैको पाखुरा
हामीले भन्यौं– तपाईंको टाउकोले
३० वर्षे पञ्चायतमा जस्तै हाम्रो अनुहार देखिएन
फेरि अर्को फोटो खिचौं
तर, सर्पले जस्तै तपाईंले पनि सुन्नु भएन ।
हामी चिच्यायौँ
तपाईंको परजीवी खुट्टाले हाम्रो पहिचान मिच्चियो
हाम्रो आदिभूमिमा हामीलाई बस्न दिनुहोस् हजुरले हाम्रो आराध्यभूमिलाई बेच्नुभयो
हामीले हाम्रो रैथाने भूमिका लागि नारा लगायौं
तपाईंले हामीलाई पृथकतावादी पुरस्कारले विभूषित गर्नुभयो ।
तपाईंले गोयुबल्सहरूलाई
एनजीओ, आईएनजीओ, मन्त्रालय, भन्सार,
परराष्ट्र, गृह वा सिंहदरबार दिएर राष्ट्रवाद किन्नुभयो ।
फुलेर ढकमक्क गणतन्त्र
र, फल्न लागेको संघीयतामा हजुर अहिले
उहिलेकै पहेँलो राष्ट्रवाद रोप्न उद्यत् हुनुहुन्छ ।
अब म तपाईंसित, हजुर तपाईंसित
जो–जो मेरो दाहिनेपट्टि हुनुहुन्छ
विनम्र भावमा सोध्न चाहन्छु
— तपाईंमध्ये को कसले आमाको बिक्रीमा
लिलाम बढाबढ गर्न सक्नुहुन्छ ?
अब म तपाईंसित
हो, हो तपाईंसित
जो जो मेरो बायाँपट्टि हुनुहुन्छ
रौद्र मुद्रामा प्रश्न गर्छु
— तपाईंमध्ये कति जनाले अहिलेसम्म
आमा किनेर उपभोग गर्नुभएको छ ?