शौचालय अभावले पर्यटकलाई सास्ती
ललितपुर : भारतको लखनऊबाट नेपाल घुम्न आएका निर्जा जहरी र लक्ष्मी मि श्रलाई पाटन दरबार स्क्वायर घुम्दै गर्दा पिसाबले च्याप्यो। सार्वजनिक शौचालय खोज्दै उनीहरू दरबार स्क्वायरभर चहारे। तर कतै देखेनन् शौचालय। केही उपाय नलागेपछि दरबार स्क्वायर छेवैमा पानीपुरी पसल गरिरहेकालाई भनेर उनैको शौचालय गए।
पर्यटकलाई कुनामा लगेर शौचालय देखाइदिँदैमा यहाँका पानीपुरी पसले हैरान छन्। शिक्षिका तथा व्यवसायी महिलाका रूपमा काम गर्दै आएका जहरी र मिश्रले नेपालका सबै कुरा राम्रा लागे पनि शौचालय व्यवस्थापन नगरेकोमा दुःख लागेको बताए। ‘नेपालीहरू एकदमै इमानदार देखेँ, मौसम उति नै राम्रो, सबै कुरा राम्रो हुँदाहुँदै पनि पर्यटकीय स्थानमा शौचालयको व्यवस्थापन नगरेको देख्दा अचम्म लाग्यो’, जहरीले भनिन्।
मि श्रले भारतका प्रत्येक स्थानमा शौचालयको सुविधा भएको बताइन्। ‘शौचालय हुनुपर्छ र पैसा पनि लिनुपर्छ’, उनले भनिन्, ‘त्यसको उचित मर्मतसम्भार तथा सरसफाइमा सरकारले ध्यान दिनुपर्छ।’ बिहान होटलबाट बाहिर निस्किएपछि शौचालय कहाँ जाने भन्ने समस्या देखेको उनको भनाइ छ।
पाटन दरबार स्क्वायर क्षेत्रको बाहिरतिर प्रहरी चौकीनजिकै एउटा जीर्ण सार्वजनिक शौचालय सञ्चालनमा छ। तर यो शौचालयको अवस्था हेरेर पर्यटक भित्र छिर्ने नगरेको २८ वर्षदेखि शौचालय सञ्चालन गर्दै आएका सन्तोष देउलाले बताए। ‘यहाँ पर्यटक हत्तपत्त आउँदैनन्। आए पनि भित्र छिर्न मान्दैनन्’, उनले भने।
ललितपुर महानगरपालिकाबाट ठेक्कामा शौचालय सञ्चालन गर्दै आएका देउलाले महानगरलाई मासिक ४२ हजार रुपैयाँ तिर्दै आएका छन्। ‘शौचालयमा पानी छैन’, उनले भने, ‘सरसफाइका लागि सातामा दुई हजार रुपैयाँ तिरेर ६ हजार लिटर पानी किन्ने गरेका छौं, तर यो पर्याप्त हुँदैन। जीर्ण बनिसकेको घर, फाटेको प्लास्टरका कारण ट्वाइलेट सफा देखिँदैन।’ माथिल्लो तलामा पर्यटकका लागि छुट्याइएको शौचालय भने हाल बन्द छ।
पर्यटक भित्रिने ‘बेसिजन’ हो यो। तैपनि दैनिक दुईदेखि तीन सय पर्यटक भित्रिने गरेको पाटन दरबार स्क्वायरकी टिकट काउन्टर सञ्चालिका गोमा सन्जेलले जानकारी दिइन्। बेसिजनमै पनि टिकट बेचेर दैनिक कम्तीमा दुई लाख आम्दानी हुन्छ। सिजनमा एकै दिनमा ६ लाख रुपैयाँसम्म संकलन हुन्छ। एक जना पर्यटकले एकपटक घुम्न हजार रुपैयाँ तिर्नुपर्छ। भूकम्पपछि पर्यटकको टिकट काउन्टर महानगरले आफैंले सञ्चालन गर्दै आएको छ। महानगरले जति आम्दानी गरे पनि सरसफाइ तथा शौचालयबारे ध्यान नदिएको दरबार स्क्वायर वरपरका व्यापारी बताउँछन्। पर्यटकीय स्थलमा सरसफाइ तथा शौचालयको उचित व्यवस्थापन नहुँदा पर्यटकको संख्या घट्ने हो कि भन्ने उनीहरूको चिन्ता छ।
स्वीजरल्यान्ड बाट बेलाबेला नेपाल घुम्न आउने गरेकी अनिना भोन्टोबेलले पाटन जस्तो पर्यटकीय केन्द्रमा शौचालयको उचित व्यवस्थापन गर्न सुझाइन्। उनले भनिन्, ‘हामी शौचालय जानकै लागी रेष्टुरेन्ट छिर्न चाहँदैनौ।’
ललितपुर महानगरपालिकाका प्रवक्ताराजु महर्जनले भने ‘यो आर्थिक वर्ष सकिने बितिकै शौचालयका लागी नयाँ टेन्डर आब्हान गरिनेछ र मंगलबजारका प्रत्येक चोकमा मोबाइल शौचालयको व्यवस्था गरिने छ।’ पर्यटकलाइ मध्यनजर गर्दै पुल्चोकदेखी मंगलबजारसम्म दुइ, तीन ठाउँ घर भाडामा लिएर शौचालयको बनाउने योजना बनाएको उनले जानकारी दिए। ‘अब स्तरीय ढंगले शौचालय चलाउने योजना रहेको छ’ महर्जनले भने।
अघिल्लो साता ललितपुर जिल्लाभर सार्वजनिक शौचालयको अनुगमन सकिएको जिल्ला खानेपानी समन्वय समितीका सदस्य सचिव हरिदत्त पौडेलले बताए।