सडक दुर्घटनाको संवेदनशीलता

सडक दुर्घटनाको संवेदनशीलता

सडक दुर्घटना दुःखद् नियति बनेर दोहोरिएको छ। शुक्रबार तानसेनबाट रामपुर जाँदै गरेको बस रम्भा गाउँपालिका– ४ हुमिनमा दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाए भने १० जना घाइते भए। विपरीत दिशाबाट आएको जिपलाई साइड दिन खोज्दा साँघुरो सडकबाट बस खसेको प्रारम्भिक सूचना आएको छ। किन र कसरी दुर्घटना भयो ? यसमा कसको लापरबाही र त्रुटि छ ? खोजीको विषय बन्नुपर्छ। यसपटक पनि सरकारले दुर्घटनाको कारण खोज्न प्रयत्न गर्नेछ। त्रुटि र लापरबाही भएका तथ्य बाहिर आउनेछन्। तर ती त्रुटि र लापरबाही सच्याउनेतिर ध्यान दिने छैन। जसले गर्दा पुनः कुनै पनि बेला अर्को दुःखद खबर सुन्न बाध्य हुनुपर्नेछ। दुर्घटनाका कारणको खोजी हुने अनि बिर्सिइने प्रवृत्ति कहिलेसम्म ? प्रश्न पेचिलो छ।

सडक दुर्घटना मूलतः मानवीय त्रुटिले अधिक हुने गरेको छ। यसअघिका अध्ययनको निचोड यस्तै छ। तथ्यांकअनुसार बर्सेनि सडक दुर्घटनाबाट औसत २ हजारको ज्यान जाने गरेको छ। गएको सात वर्षमा देशका विभिन्न स्थानमा भएका ६४ हजार १ सय ६८ सडक दुर्घटनामा १३ हजार ९ सय ३१ जना मारिए। औसतमा बर्सेनि दुई हजार मानिसले सडक दुर्घटनाकै कारण ज्यान गुमाउने गरेका छन्। दुर्घटनाका केही कारण छन्, जो अधिकांश दोहोरिने गरेको पाइन्छ।

जस्तो– चालकको लापरबाही र त्रुटि, सवारी नियमको उल्लंघन गर्ने प्रवृत्ति, साँघुरा र गाडी सञ्चालनका दृष्टिले प्राविधिक रूपमा कमजोर सडक, रुट परमिट दिने पद्धति, ट्राफिक प्रहरीको कमजोर नियमन प्रणाली, सवारी र चालक अनुमति वितरण प्रणालीमा रहेका कमजोरी, जीर्ण र पुराना सवारी साधन, लामो दूरीका बसमा चालक परिवर्तन गर्ने नियमको प्रभावकारी कार्यान्वयन हुन नसक्नु आदि। यी र यस्ता थुप्रै कारण जिम्मेवार छन्, सडक दुर्घटना बढ्नुमा। सारमा भन्नुपर्दा व्यवसायीको कमाउने लालच, सरकारको कमजोर नियमन प्रणाली र चालकको त्रुटि र लापरबाही दुर्घटनाका मुख्य कारण हुन्। यी कारक निरुत्साहित हुन सरकारको नियमन प्रणाली प्रभावकारी हुनुपर्छ। आम नागरिकको सुरक्षासँग जोडिएको विषयमा सरकार अपेक्षाकृत संवेदनशील हुन नसक्दा दुर्घटनाका कारण मानिसहरूले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ। हुमिन दुर्घटना त्यसैको पछिल्लो नजिर हो।

दुर्घटना दुःखद संयोग हो। दुर्घटना केकसरी र कुन बेला आउँछ भन्न सकिँदैन। यात्रु, चालक, व्यवसायी, सरकार सबैले दुर्घटना गराउन आआफ्नो ठाउँबाट सचेत र सजग हुनुको विकल्प हामीसँग छैन। त्यसमा पनि सबैभन्दा बढी सरकारी नियमन आवश्यक छ। क्षमताभन्दा बढी यात्रु चलाएको छ कि ? सवारीको अवस्था केकस्तो छ, त्यसको जाँचबुझ, लामो दूरीमा पनि एउटै चालक प्रयोग भएको छ कि ? सडको अवस्था आदि सबै पक्षको उचित नियमन हुनुपर्छ। नियमन गर्ने निकायसँगै चालक र व्यवसायी पनि जिम्मेवार हुनुपर्छ।

नागरिकको सुरक्षित यात्राको सुनिश्चितता गर्ने सरकारले हो। त्यसका लागि सरकारले यातायात व्यवस्था र सडकसँग जोडिएका कानुनको नियमन र कडाइका साथ पालना गराउन सक्नुपर्छ। नियमन र बलियो कार्यान्वयनले सडक सुरक्षाको प्रत्याभूति दिन सक्छ। रुट परमिट दिँदा, लाइसेन्स वितरण गर्दा, सवारीको प्राविधिक जाँचपास, यात्रु सवार सवारी साधनको नियमित अनुगमन, सडकको अवस्थाको अनुगमन आदि कुराको बलियो कार्यान्वयन हुन सकेमा त्यसले दुर्घटनाका जोखिम घटाउन सकिन्छ। रफ्तारमा दुर्घटना बढिरहँदा प्रश्न उठ्न थालेको छ– यो मानवीय त्रुटिले भएको ‘दुर्घटना’ हो कि राज्यले अपनाएका नीति÷नियमको बलियो कार्यान्वयन हुन नसक्दा भएको ‘हत्या’ हो ? बर्सेनि दुई हजार नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुन आवश्यक छ, जसमाथि गम्भीर खोजविन र सुधार आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.