सन्तोष र सुनिललाई उपाधि
वीरगन्ज : अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको प्रदेश नम्बर २ स्तरीय ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबल्सको उपाधि सप्तरीका सन्तोष कटुवाल र सुनील परियारले जितेका छन् ।वीरगन्जमा शनिबार भएको फाइनलमा पर्साका नरेश कायस्थ र सरोजराज श्रेष्ठको जोडीलाई २-० को सेटमा हराउँदै कटुवाल र परियारको जोडीले उपाधि जितेको हो ।
सेमिफाइनलमा धनुषाका विकास कोइराला र विजयकुमार केसीको जोडीलाई २-० ले पाखा लगाउँदै कटुवाल र परियारको जोडीले फाइनल यात्रा तय गरेको थियो । मेन्स डबल्समा कोइराला र केसीको जोडी तेस्रो भयो ।
प्रतियोगिताअन्तर्गत मेन्स सिंगलको उपाधि महोत्तरीका सुशील श्रेष्ठले हात पारे । फाइनलमा बाराका रामकृष्ण श्रेष्ठलाई २-० को सेटमा पाखा लगाउँदै सुशीलले उपाधि जितेका हुन् ।
यू-१९ मेन्स सिंगलको उपाधि भने पर्साका कौशिकराज गिरीले जिते । उनले फाइनलमा पर्साकै धीरज साहलाई २-० को सेटमा हराउँदै उपाधि जितेका हुन् ।
यसैगरी यू-१९ वुमन्स सिंगलको उपाधि पर्साकै स्मृति राईले हात पारिन् । फाइनलमा उनले पर्साकै चित्रा हरितवाललाई २-० को सोझो सेटमा पराजित गर्दै गरिन् ।
विजेता खेलाडीलाई वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीले पुरस्कार प्रदान गरे । २ नम्बर प्रदेशस्तरीय प्रतियोगिताका विजेता र उपविजेता खेलाडीले साउन ७ देखि काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।