जोखिमपूर्ण लुक्ला हेलिप्याड
काठमाडौं : विश्वकै जोखिमपूर्ण विमानस्थलको सूचीमा रहेको लुक्ला विमानस्थल नजिकको हेलिप्याड पनि साँघुरो भएकाले जोखिमपूर्ण बनेको छ। हेलिप्याडमा जथाभावी सामाग्री र यात्रु रहँदा हेलिकप्टर अवतरण र उडानमा दुर्घटनाको जोखिम बढेको भन्दै सेवाग्राहीले तत्काल सुरक्षित बनाउन माग गरेका छन्।
सगरमाथा आरोहण गरी फर्केका लाक्पा शेर्पाले सुरक्षाकर्मीले जाँचसमेत नगरेको बताए। साँघुरो ठाउँमा ६ वटा हेलिकप्टर अवतरण हुने गरेका छन्। हेलिप्याडको माथिल्लो ग्राउन्डमा २ र तल्लोमा ४ गरी एकपटकमा ६ वटासम्म हेलिकप्टर अवतरण÷उडान गर्न सकिन्छ। यहाँ दैनिक ८० पटकसम्म अवतरण÷उडान भएका छन्।
क्षमताभन्दा धेरै र पर्वतारोहणको मौसममा बढी चाप हुने भएकाले सुरक्षामा केही कमजोरी भएको नागरिक उड्डयन कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले स्वीकार गरे। स्थानीयको लापरवाहीले सुरक्षा जाँचबिनै प्रवेश गर्दा चुनौती थपिएको छ। हेलिप्याड सानो भएकाले सामग्री र यात्रुसँगै हुँदा दुर्घटनाको जोखिम भएकाले ३ जना सुरक्षाकर्मी खटाएको उनले बताए। ‘सुरक्षा प्रभावकारी बनाउन पहल भइरहेको छ’, उनले भने।
विमानस्थल प्रशासनअनुसार हेलिप्याड सुरक्षित बनाउन ११ रोपनी जग्गा खरिद भइसकेको र विद्युत् आपूर्ति भएपछि विद्युतीय पाससहित सामान जाँच्न एक्सरे मेसिनसमेत राख्ने योजना छ। सडक सञ्जाल नपुगेकाले यहाँ हवाईजहाज र हेलिकप्टरकै भरमा दैनिक हजारभन्दा धेरै आरोही र पर्यटक आवतजावत गर्छन्। उड्डयन कार्यालयका अनुसार यहाँ दैनिक ४० भन्दा बढी हवाईजहाजको उडान÷अवतरण र हेलिकप्टर करिब ८० अवतरण÷उडान हुने गर्छ। हवाईजहाज उडान नियमित नहुँदा ४ वटा पार्किङमा १२ वटा हेलिकप्टर मुस्किलले राख्ने गरिएको छ।
हेलिप्याड विभिन्न सामानले भरिएको हुन्छ साथै हेलिकप्टरनजिकै यात्रुको भीडभाड धेरै हुन्छ। मौसम बिग्रिरहने भएकाले लुक्लामा हवाईजहाज दैनिक नियमित उडान नहुदाँ हेलिकप्टरकै भरमा यात्रु काठमाडौं आउजाउ गर्छन्। हेलिप्याडले सुरक्षा चुनौती उत्पन्न गरेकाले तत्काल नियन्त्रण नगरे दुर्घटना हुनसक्ने चेतावनी यात्रुले पनि दिएका छन्।