खानेपानीको हाहाकार
प्रदेश १ व्यूरो
विराटनगर : चैत-वैशाखको खडेरीसँगै खानेपानी समस्या चुलिने गरेको प्रदेश १ का प्रमुख सहरहरू अहिले काकाकुल छन् । पहाडी भेगमा हिलो मिसिएको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ भने तराईका कतिपय सहरमा पानीको चर्को अभाव छ । कतै पानी बोक्ने ट्यांकरको भर छ त कतै खोलाको धमिलो पानीको भर पर्नुपर्ने बाध्यता छ ।
प्रदेश १ को अस्थायी राजधानी विराटनगरका उपभोक्ता धारमा आउने पानीले लुगा धुन्छन्, चौपायालाई खुवाउँछन् तर आफूचाहिँ चापाकलको पानी पिउँछन् । सहरको मध्य भेगमा निजी पानी कम्पनीका जारको भर छ । विराटनगरमा मागअनुसार खानेपानी वितरण हुन सकेको छैन । खानेपानी संस्थानलाई मात्र उपभोक्ताले वार्षिक ४ करोड ८० लाख रुपैयाँ महसुल बुझाउँछन् ।
दैनिक ३ करोड ५० लाख लिटर खानेपानी माग छ तर १ करोड २७ लाख ४० हजार मात्र वितरण हुन्छ । २ करोड २२ लाख ६० हजार लिटर अभाव छ । पुष्पलाल चोक मानगढस्थित खानेपानी आयोजनाले ४ हजार घरधुरीलाई दैनिक २२ लाख लिटर खाने पानी वितरण गर्छ । बृहत् विराटनगर खानेपानी आयोजनाअन्तर्गतका जामुनगाछी खानेपानी सरसफाइ उपभोक्ता समितिले दैनिक ४ लाख ५० हजार पानी वितरण गर्दै आएको छ । समितिका अध्यक्ष सोमनाथ अधिकारी भन्छन्, ‘६ सय घरधुरीलाई वितरण गर्छौं ।’
महानगरमा स्थायी र अस्थायी गरी करिब ३ लाख हाराहारी जनसंख्या छ । सात वर्षयताखानेपानी डिभिजन कार्यालयको सहयोगमा निर्माणाधीन बृहद् विराटनगर खानेपानीअन्तगर्तका जतुवा, पिचरा, जामुनगाछी सञ्चालन गर्न अग्रसरता देखाए पनि जामुनगाछीबाट मात्र वितरण सम्भव भएको छ । खानेपानी संस्थानको जीर्ण संरचनाका कारण पाइपबाट दूषित पानी उपभोक्ताको घरसम्म पुग्छ । २०१७ सालमा जडान गरिएको पाइप फेर्ने काम भएको छैन । धाराकै पानीबाट चार वर्षअघि पहेंले रोग फैलिएको थियो । २ हजार ५ सयभन्दा बढी बिरामी भएका थिए । ११ जनाको मृत्यु भएको थियो ।
विराटनगर-६ का टंक कटुवालले संस्थानको खानेपानी दूषित हुने गरेकाले लुगा धुन मात्र प्रयोग गरी जारको पानी किनेर खाने गरेको बताए । दूषित र ढल मिसिएको फोहोर पानीले सास्ती भएको उनको गुनासो छ ।
खानेपानी संस्थान शाखा विराटनगरका प्रमुख शैलेन्द्रकुमार साहले ५०÷६० वर्ष पुरानो संरचना जीर्ण भएकाले बेलाबखत पाइप लिक हुने गरेको बताए । नगर क्षेत्रमा एसियाली विकास बैंकको ऋण सहयोगमा भइरहेको ढल र नाला निर्माणले झनै उपभोक्त मारमा परेका छन् । ढल र नाला निर्माण गर्न निर्माण कम्पनीले खन्ने क्रममा खानेपानीको संरचना भत्किने गरेको हप्तौंसम्म उपभोक्ताको धारमा पानी आउँदैन ।
धरानको प्यास झनै धेरै
धरानमा खानेपानीको समस्या निकै अघिको हो । भरपर्दो खानेपानी वितरण प्रणाली र स्रोत नहुँदा धरानमा समस्या छ । दिन बिराएर पानी वितरण हुँदा हाहाकार बढ्दो छ । धरानवासी बाहिरबाट ल्याइएको पानी जारमा महँगोमा किनेर खान बाध्य छन् । केही वर्षदेखि होटल तथा घरले खानेपानी नपाउँदा व्यापार घटेको प्रतिक्रिया दिइरहेका छन् । हुन त एसियाली विकास बैंकको सहयोगमा धरानमा सतहमुनिको खानेपानी आयोजना सञ्चालनमा छ । तर आयोजना सकिएर खानेपानी वितरण हुन अझै समय लाग्ने अवस्थामा पछिल्लो समय भने नयाँ उपाय अपनाइएको छ ।
अभाव बढ्दै गएपछि एडीबीको ऋण तथा अनुदानमा निर्माणाधीन खानेपानी आयोजनाको पानी नेपाल खानेपानी संस्थानको पुरानो सिस्टमबाट वितरण गर्न थालिएको छ । बिहीबार राजनीतिक दल, नागरिक समाजले दबाब दिएपछि संस्थानले सिस्टममा पानी खन्याउन सहमति दिएको थियो ।
यसअघिसम्म सर्दु जलाधारको पानी संकलन गरेर वितरण गरिरहेको धरान खानेपानी संस्थानले सतहमुनिको पानी वितरण गर्ने नयाँ परियोजनाको विरोध गर्दै आएको थियो । आयोजनाको पानी संस्थानको सिस्टममा खन्याएपछि धरानमा ३० प्रतिशत राहत पुग्ने भएको छ । धरानलाई दैनिक ३ करोड लिटर पानीको आवश्यकता छ । सुक्खायाममा खानेपानी संस्थानले दैनिक १ करोड १० लाख लिटर मात्रै वितरण गर्ने गरेको छ । आयोजनाको पानी खन्याएपछि अब सुक्खायाममै १ करोड ६० लाख लिटर पानी वितरण हुने भएको छ ।
त्यसैले अझै धरानमा खानेपानीको अभाव कायमै रहने भएको छ । एडीबीको खानेपानी परियोजना पूरा भइसकेपछि भने चौबिसै घण्टा पानी धरानले पाउने बताइएको छ ।
आयोजनाको चारकोसे जंगलमा रहेको चारवटा वेलबाट दैनिक ८० लाख लिटर पानी उत्पादन हुनेछ । धरानमा एडीबीको सहयोगमा ५० प्रतिशत ऋण, ३५ प्रतिशत अनुदानमा १५ प्रतिशत धराने जनसहभागितामा खानेपानी परियोजना निर्माणाधीन छ । एडीबीले छुट्टै सिस्टम बनाउने योजना छ ।
आयोजना लम्बिँदा लागत बढ्यो
चिनियाँ कम्पनीले ठेक्का पारेर तीन वर्षअघि सुरु भएको यो आयोजना नौ महिनाअघि नै सकिनुपर्ने हो तर विवाद र समन्वय अभावमा समयमै नसकिँदा लागत बढेको छ । १ अर्ब ४८ करोडको लागत बढेर १ अर्ब ७० करोड पुगेको आयोजनाका इन्जिनियर राजु पोख्रेलले जानकारी दिए । ठेकेदार र कन्सल्टेन्टबीचको समन्वय र सूचनो अभावका कारण आयोजना सकिन ढिलाइ भएको हो भने विजयपुर क्षेत्रको विवादका कारण पनि आयोजना केही समय अवरुद्ध भएको थियो ।
आफूहरूले पुज्दै आएको विजयपुरगढीमा ७ कट्ठामा रिजर्भ वायर बनाउन रूख काटेको विरोधमा किरात समुदाय उत्रिएका थिए । अहिलेसम्म रिजर्भ वायरको काम अघि बढेको छैन । चारमध्ये तीनवटा रिजर्भ वायर बनिसकेको छ ।
लामो समयदेखि सर्दु जलाधारको पानी खानेपानी संस्थानले वितरण गर्दै आएको छ । यो क्षेत्र पनि अतिक्रमणको चपेटामा छ । सट्टाभर्ना पाई पहिल्यै त्यहाँबाट हटाइएकाहरुले अदालतमा मुद्दा जितेर फेरि जमिन ओगटेर बसेका छन् । त्यसमाथि नयाँ खानेपानीको स्रोत नै जमिनमुनिको पानी भएपछि सर्दु बेवास्तामा पर्ने र भूमाफियाले कब्जा गर्ने चिन्ता सर्वसाधारणलाई छ ।
तमोरको धमिलो पानीको भर
धनकुटाको चौबिसे गाउँपालिका-४ भैंसेटारका स्थानीय वर्षौंदेखि तमोर नदीको धमिलो पानी पिउन बाध्य छन्् । तीन दर्जनभन्दा बढी घरपरिवारको बसोबास रहेको भैंसेटारमा खानेपानी मुहान सुकेको छ । जिल्लाकै दुर्गममध्ये साबिक कुरुलेतेनुपा गाविसभित्र पर्छ, यो ठाउँ ।
‘तमोरको पानी बर्खा लागेपछि खाइसक्नु हुन्न’, स्थानीय हर्क माझी भन्छन्, ‘बस्तीको मुहान नै सुकेपछि धमिलै पानीले ज्यान चलाउनुपरेको छ ।’ भैंसेटारमा अल्पसंख्यक माझी समुदाय र केही तामाङ जातिको बसोबास छ ।
माझीटारवासीले तमोरको पानी घैलामा भरेर डोकोमा राखी बस्तीसम्म ओसार्नुपर्छ । स्थानीय उमेन्द्र घिसिङ भन्छन्, ‘हरेक घरमा प्यानजडित शौचालय छ तर पानी अभावले प्रयोग गर्न समस्या छ । बोकेर ल्याएको पानीले शौचालय सरसफाइ गर्न पुग्दैन ।’ यहाँ सरकारले पनि ध्यान नदिएको उनले गुनासो गरे ।
डिभिजन सिँचाइ विकास कार्यालय धनकुटाले भने चालु आवमै लिफ्ट सिँचाइ आयोजना सञ्चालन गर्ने तयारी भएको जनाएको छ । छिट्टै तमोरको पानीलाई लिफ्ट प्रविधिबाट बस्तीमा ल्याई सिँचाइ र खानेपानी सुविधा पुर्याउने कार्यालयका कर्मचारी बुद्धिमान लिम्बूले जानकारी दिए ।
तीन सय किमि परबाट आपूर्ति
हिउँद लागेसँगै ओखलढुंगा सदरमुकाममा खानेपानी समस्या चर्किने गर्छ । १५ वर्षअघि सञ्चालनमा ल्याइएको खानेपानी आयोजना लथालिंग छ । तीन सय परिवारलाई लक्षित गरिएको आयोजनाको पानी प्रयोग गर्ने अहिले सात सय पुगेका छन् । जनसंख्या हरेक वर्ष बढ्दो छ । तर, सहरमा वितरण गरिने पानीको परिमाण उस्तै हुँदा माग र आपूर्तिको तादत्म्य मिल्न सकेको छैन ।
एक परिवारको पानी चार घरधुरीले बाँडेर खानुपरेको स्थानीय सञ्जय खत्रीले बताए । भने, ‘धारामा पानी आँदैन । वितरण प्रणाली वैज्ञानिक छैन । बाह्रैमास पानीको अभाव छ ।’
खानेपानी अभावले व्यवसाय नै चौपट हुने अवस्थामा पुगेको होटल व्यवसायी गुनासो गर्छन् । शौचालय र स्नानगृहमा पानी व्यवस्थापन गर्न नसकिएको बताउँदै होटल व्यवसायी संघ ओखलढुंगाका अध्यक्ष थगेन्द्रराज राईले भने, ‘पाहुनालाई पानी कम खर्च गर्न भनिरहनुपर्दा आफैंलाई अप्ठेरो महसुस हुन्छ । पानी नजोगाए त शौचालय नै बन्द हुन्छ ।’
जिल्लाभित्र स्रोत पहिचान नभएपछि सोलुखुम्बुको ह्याकुले र पखाले खोला मुहान गरी तीन सयभन्दा धेरै किलोमिटरको दूरीबाट पानीको आपूर्ति गरिएको छ । वर्षात्मा बाढी आउँदा मुहान बिग्रे बनाउन एक दिनको बाटो हिड्नुपर्छ । सदरमुकाममा सधैं समस्या भएपछि वैकल्पिक मुहान पहिचान गरी नयाँ आयोजना सञ्चालन गर्ने तयारी भइरहेको ओखलढुंगा खानेपानी तथा सरसफाइ आयोजनाका सचिव रुपेश शाक्यले बताए । पुरानो मर्मत गरेर वितरण गरिएको उनले जनाए ।
सिद्धिचरण नगरपालिकाका अधिकांश क्षेत्रलाई पुग्ने लक्ष्यसहित १२ करोडको योजना कार्यान्वयन चरणमा रहेको शाक्यले जानकारी दिए । भने, ‘तर,उपभोक्ताको १० प्रतिशत लगानी र २० प्रतिशत श्रमदान गर्नुपर्ने भएकाले स्रोत जुटाउन चुनौती छ ।’ उपभोक्ताले १ करोड १० लाख नगदै बैंकमा जम्मा गर्नुपर्ने र श्रमदानसमेत गर्नुपर्ने भएकाले चुनौती भएको हो । नयाँ ६ सय ५० उपभोक्तालाई पुग्ने गरी सञ्चालन गर्न लागिएको छ । उपभोक्ताबाट ६१ लाख संकलन गरिसकिएको छ ।
ट्यांकरले खुवाउँछ पानी
खाँदबारी नगरपालिकामामा ४४ करोड ४३ लाख १५ हजार ८ सय रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । तर, खानेपनी अभाव भने ज्यूँका त्यूँ छ । ३ हजार ५ सय उपभोक्तामध्ये पाँच प्रतिशतले मात्र दिन बिराउँदै दिनको एक घण्टा पानी प्राप्त गर्छन् ।
खाँदबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खाँदबारी रहेको खानेपानी अभाव हटाउने उद्देश्यले सञ्चालन गरिएको आयोजना सम्पन्न भए पनि व्यवस्थित गर्न सकेको छैन । २४ घण्टा वितरण गर्ने भनिए सम्भव भएको छैन । खाँदबारीमा ट्यांकरले बोकेको महँगो पानी उपभोग गर्नुपर्ने बाध्यता छ । होटल व्यवसायी वेदराज खनालले भने, ‘वितरण लाइनको पानी नियमित नआउँदा सभा खोलाबाट ल्याएको पानीलाई प्रतिलिटर एक रुपौयाँ तिर्नुपर्छ ।’ट्यांकरले एक पटकमा ४ हजार लिटर पानी ल्याउँछ । यसको ४ हजार रुपैयाँ शुल्क लिन्छ ।
जितेन्द्रनारायण ठाकुर, विराटनगर/ हिमाल दाहाल, इटहरी / हरिबहादुर लम्जेल,धनकुटा / शिवप्रसाद ढुंगाना,/ओखलढुंगा /अनिष विष्टखाँदबारी