३३ किलो सुन तस्करी : अदालतमै पुगेका गुरुङ जेल चलान

३३ किलो सुन तस्करी : अदालतमै पुगेका गुरुङ जेल चलान

विराटनगर : साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अर्का अभियुक्त छिरिङ वाङ्दा गुरुङ आइतबार कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि अभियुक्त गुरुङलाई कारागार चलान गरिएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए।  अदालतमा भने छिरिङ वाङ्गेल घलेका नाममा मुद्दा दायर भएको थियो।  उनी अदालतमा हाजिर भएपछि उनको वास्तविक नाम छिरिङ वाङदा गुरुङ भएको खुलेको हो।

मनाङको डावल घर भई काठमाडौंको नागार्जुन नगरपालिका–४ मा बस्दै आएका ५२ वर्षीय गुरुङ आइतबार वरिष्ठ अधिवक्ता विश्व भट्टराईलाई लिएर अदालतमा हाजिर भएका थिए।  यसअघि निलम्बित एसएसपी श्यामबहादुर खत्री पनि अदालतमा हाजिर भएका थिए।  उस्तै शैलीमा गुरुङ पनि अदालतमा उपस्थित भएको जनाइएको छ।

हराएको सुन खोजी गर्ने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।  उक्त घटना सार्वजनिक भएसँगै उनी फरार भएका थिए।  सुन तस्करी र सनम हत्या प्रकरणमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना तथा सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा वैशाख १९ गते मुद्दा दर्ता गरिँदा उनलाई पनि प्रतिवादी बनाइएको थियो।  यो मुद्दामा अब फरार प्रतिवादीको संख्या ३० मा झरेको छ।  आइतबार हाजिर भएका गुरुङको बयानपछि थुनछेक बहस भएको थियो।  त्यसपछि अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा छाड्न नमिल्ने भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि जिल्ला कारागार मोरङ चलान भएका हुन् ।

तस्करीको सुनका लगानीकर्तामध्ये एक राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङका नातेदार छिरिङको समूहले माघ ९ गते सुन चोरी गरेको आशंका प्रहरीको थियो।  मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीले बयानका क्रममा छिरिङको भरियाका रूपमा आफूले काम गरेको बताएका थिए।  छिरिङ र भुजुङकै समूहले सुन लुटेको हुन सक्ने बयान उनले दिएका थिए।

छिरिङको पक्षमा वरिष्ठ अधिवक्ता विश्व भट्टराई र अधिवक्ता सरोज अधिकारीले बहस गरका थिए।  वादी नेपाल सरकारका तर्फबाट मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरेका थिए ।

अभियोग अस्वीकार

सनम शाक्य हत्या अभियोग अनुसन्धानसँगै खुलेको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका आरोति छिरिङले अभियोग अस्वीकार गरेका छन्।  अदालतमा १० पृष्ठ लामो बयान दिएका उनले आफ्नो नाम पनि नमिलेको बताए।  आफूलाई फसाइएको दाबी उनले बयानमा गरेका छन्।  उनले जलविद्युत्मा लगानी गर्न भुजुङलाई १ करोड १६ लाख रुपैयाँ दिएकोमा पछि तिर्ने विषयमा मनमुटाव भएको बयानमा खुलाएका छन्।  जग्गाको कारोबार गर्दै आएको बताएका उनले भुजुङबाहेक सुन तस्करी प्रकरणका अन्य अभियुक्तलाई पनि नचिन्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.