सर्पदंशबाट नाति-हजुरआमाको मृत्यु
गाईघाट : विशालु सर्पको टोकाइबाट उदयपुरमा आइतबार बिहान आमाछाराको मृत्यु भएको छ । शनिबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका लागि लैजाने क्रममा कटारी नगरपालिका–४ सिम्लेकी ५५ वर्षीय हजुरआमा टीकामाया बस्नेत र १२ वर्षीय नाति सगुन बस्नेतको बाटैमा ज्यान गएको हो ।
सँगै सुतेका नाति–हजुरआमालाई सर्पले टोकेपछि करिब १ बजे उपचारका लागि कटारी अस्पताल पुर्याइएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी मेघराज अधिकारीले जानकारी दिए ।
अस्पताल पुर्याउनु अघि नै हजुरआमा टिकाको ज्यान गएको र नानिको आइतबार बिहान थप उपचारका लागि सिरहाको चौहर्वामा रहेको नेपाली सेनाको सर्पदंश केन्द्र लैजाने क्रममा बाटैमा ज्यान गएको डिएसपी अधिकारीले बताए । दुबैको शव पोष्टमार्टमपछि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ ।
गर्मी बढेसँगै जमिन तातेर जमिन भित्रका जीवनहरु बाहिर निस्कन थालेका छन् । जमिनभित्रका विशालु सर्पहरु बाहिरिएपछि सर्पको टोकाइबाट उपचार गराउनेको संख्या अस्पतालमा बढेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नवराज भट्टले जानकारी दिए ।