विकासका योजना माग्दै जनप्रतिनिधि
तानसेन : गाउँपालिकाका जनप्रतिनिधिले प्रदेश सरकारसँग सडकलाई पहिलो प्राथमिकतामा राख्दै बजेट माग गरेका छन् । पाल्पा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा ख का निर्वाचित सदस्य नारायण आचार्य, मनोनीत प्रदेशसभा सदस्य रमा घर्ती र पुर्मती ढेगाले स्थानीय तहमा जनप्रतिनिधिसँग गरेको योजना संकलनमा मोटरबाटो पहिलो प्राथमिकतामा परेको हो ।
संकलन भएको कुल ३ अर्ब ७४ करोड ४० लाख रुपैयाँको योजनामध्ये जनप्रतिनिधिले २ अर्ब रुपैयाँ सडकका लागि माग गरेका हुन् । पाल्पाको रम्भा, पूर्वखोला, माथागढी, तिनाउ र तानसेन नगरपालिका–८ का स्थानीय जनप्रतिनिधिले सडकका लागी यति धेरै रकम माग गरेका हुन् ।
प्रदेश ५ बाट निर्वाचित जनप्रतिनिधिले आ–आफ्नो निर्वाचन क्षेत्रका जनतासँग विकास निर्माणका योजना तथा कार्यक्रम संकलन क्रममा पहिलो प्राथमिकतामा मोटरबाटो, दोस्रो प्राथमिकतामा खानेपानी र तेस्रोमा विद्युतीकरण तथा भवन निर्माणमा योजना माग गरेका छन् ।
जनप्रतिनिधिले माग गरेका सडक योजनामा एक गाउँपालिकादेखि अर्काे गाउँपालिका जोड्ने सडक, सिद्धार्थ राजमार्ग, अन्तरजिल्ला जोड्ने सडक, कालीगण्डकी करिडोरसँग जोड्ने सडक निर्माण, स्तरोन्नतिदेखि सडक पिचसम्मका योजना छन् ।
पाल्पा क्षेत्र नम्बर १ ख का जनप्रतिनिधिले नयाँ सडक, सडक स्तरोन्नति र पिचका लागि २ अर्ब, खानेपानीका लागि १ अर्ब, विद्युतीकरणका लागि ७ करोड, सिँचाइका लागि ७ करोड, पक्की, मोटरेबल तथा झोलुंगे पुलका लागि १७ करोड, पर्यटकीय प्रवद्र्धन तथा पूर्वाधारका लागि ३ करोड, विभिन्न भवन तथा खेलमैदान निर्माणका लागि २० करोडलगायत योजनामा गाउँ तथा नगरपालिकाका जनप्रतिनिधिले ५ नम्बर प्रदेश सरकारसँग बजेट माग गरेको प्रदेशसभा सदस्य नारायण आचार्यले बताए ।