सिनेमाले प्रविधिभन्दा कथा माग्छ

सिनेमाले प्रविधिभन्दा कथा माग्छ

बलिउडका चर्चित निर्देशक सुभाष घईले सिनेमा प्रविधिभन्दा पनि कथा र यसको प्रस्तुतीकरण मुख्य पार्ट भएको बताएका छन्। ‘फिल्म एन्ड मिडिया नलेज सेमिनार एन्ड वर्कसप’ का लागि काठमाडौं आएका निर्देशक घईले देखाउन खोजिएको कथावस्तु बलियो भए प्रविधि गौण हुने बताएका हुन्। ‘प्रविधि एक सुविधा हो, हामीले देखाउन चाहेको कथा ठूलो हो’, उनले भने।

फिल्म मेकिङमा नेपाल प्राविधिक रूपमा पछाडि रहेको भन्दै निर्देशक दिनेश डीसीले प्रविधिको प्रयोग राम्रोसँग हुन नसकेको बताएका थिए। जवाफमा घईले नेपाल हिन्दी सिनेमा उद्योगभन्दा पछि भए पनि यहाँ सक्षम कलाकारको कमी नभएको बताए।

अनेक समस्याबीच पनि एक कलाकारको क्षमताले उसको कला अगाडि बढाउने उनको भनाइ थियो। ‘सानो प्रयासबाट नै ठूलो काम सम्भव हुन्छ’, उनले भने। सक्षम कलाकारिताबाट नै नेपालको फिल्म क्षेत्रमा परिवर्तन सम्भव भएको उनले बताए। सेमिनारमा निर्देशक डीसीले फिल्मबाट मनोरञ्जन लिने विषय नेपालीको प्राथमिकतामा अझै नपरेको बताए। ‘नेपाली सिनेमालाई माओवादी जनयुद्धले दस वर्ष पछाडि धकेलेको छ, हामी अहिले फिल्म मेकिङको उद्गम बिन्दुमा छौं, उनले भने, ‘नेपाली सिनेमामा हामी परिवर्तन खोज्दै छौं।’ निर्देशक घईले भने नेपाली कलाकारले एकेडेमिक फिल्म इन्स्टिच्युटबाट आफूमा भएको कला निखार्न सक्ने बताए। ‘प्रत्येक कलाकारमा यस्ता एकेडेमीबाट ज्ञान हासिल गरिसकेपछि जिम्मेवारी थपिनेछ’, उनले भने, ‘उक्त जिम्मेवारीबाट भाग्ने होइन स्वीकार गर्नुपर्छ।’

घईले फिल्म निर्माणमा सफल हुने थुप्रै सूत्र सेमिनारमा सुनाए। उनका फिल्मले दर्शकसँग सीधै सम्बन्ध बनाउँछ। आफ्नै देश, समाजका सानासाना कथा वस्तु उनको फिल्ममा प्रतिविम्बित हुन्छन्। एक निर्देशक भएको नाताले उनी आफ्ना टार्गेट अडियन्स चिन्छन् र सबै तयारीपछि बल्ल फिल्म बनाउन लाग्छन्। आफ्नो फिल्म निर्माणको यही सामान्य सूत्रले उनलाई एक सफल निर्देशक बनाएको उनले बताए। आफ्नै देशलाई प्रतिनिधित्व गर्ने फिल्म बनाउन सकेमा नेपालले पनि यस क्षेत्रमा फड्को मार्ने घईको धारण थियो।

सेमिनार मिडिया नलेज, मोबाइल फिल्म मेकिङ, स्क्रिप्ट राइटिङ र फेसन डिजाइनमा केन्द्रित रह्यो। घईसँगै स्क्रिप्ट लेखक अञ्जुम राजाबली, फेसन डिजाइनर निशा चन्दा, फिल्ममेकर रविया नाज्की तथा मुक्ता आर्टका प्रबन्ध निर्देशक राहुल पुरी पनि उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.