चार नम्बर प्रदेशको नाम 'गण्डकी' सिफारिस

चार नम्बर प्रदेशको नाम 'गण्डकी' सिफारिस

पोखरा: प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सभामा सोमबार प्रतिवेदन पेस गरेको छ । 

सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिएको उल्लेख गर्दै समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले उक्त सिफारिससहितको प्रतिवेदन सभालाई बुझाएका हुन् । 

उनले प्रदेशको नामबारे सुझाव लिन जिल्लाहरुमा अन्तर्क्रिया गरेको, दलहरुसँग लिखित धारणा मागेको, विज्ञहरुको सल्लाह मागेको, ज्ञापनपत्रहरु बुझेको लगायत उल्लेख गरे । 

सांसद थापाले साविक एमाले, कांग्रेस, जनमोर्चाले दिएको सुझावमा गण्डकीलाई प्राथमिकता क्रमको १ नम्बरमा राखिएको जानकारी दिए । साविक माओवादी केन्द्रले लिखित सुझाव नराख्दै उसको एमालेसँग पार्टी  एकीकरण भइसकेको थियो । त्यस्तै ११ जिल्लामध्ये ८ वटाबाट पनि पहिलो नम्बरमा गण्डकीकै पक्षमा सुझाव आएको उनले उल्लेख गरे । 

अन्तर्क्रियाहरुका सहभागीहरुले दिएको मतका आधारमा गण्डकीपछिको क्रममा तमुवान मगराँत नामकरणको पक्षमा मत देखिएको छ । सांसद थापाका अनुसार समग्रमा उक्त नामका लागि २८ प्रतिशत सहभागीको सुझाव थियो । 

गोरखा, धौलागिरि, हिमाल, अन्नपूर्ण र माछापुच्छ्रे जस्ता नाम पनि सुझावका क्रममा आएका तर तिनीहरुको पक्षमा निकै झिनो प्रतिशत संख्या रहेको सांसद थापाले उल्लेख गरे ।

चैत १२ गते प्रदेश सभाले प्रदेश राजधानी र नामांकन समिति गठन गरेको थियो । सुरुमा १ महिनाको म्याद पाएको समितिलाई पहिला १० दिन थपेर वैशाख २२ सम्म समय दिइएको थियो । सबै सरोकारवालाको सुझाव नआइसकेको भन्दै समितिलाई फेरि १ महिना थपिएको थियो । 

जेठ २३ गते बुधबार त्यो म्याद सकिनुअघि समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको हो । गण्डकी नाम सर्वसम्मत सिफारिस गर्न समितिका १० सदस्यमात्रै राजी भएर नयाँशक्तिका हरिशरण आचार्यको विमति रहँदा त्यो प्रयास सफल हुन नसकेको स्रोतले बतायो । 

सबै दलका प्रतिनिधि सामेल समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले प्रदेशको नाम गण्डकी राख्न सिफारिससहितको प्रतिवेदन सभामा पढेर सुनाएका थिए । प्रदेश राजधानी तथा नामांकन समितिमा सांसदहरु विन्दुकुमार थापा, धनञ्जय दवाडी, दीपक कोइराला, कृष्ण थापा, मधुमाया अधिकारी, भगवतप्रकाश मल्ल, सरीता गुरुङ, हरिशरण आचार्य, मीनप्रसाद गुरुङ, चन्द्र बुढा र सावित्रा राना सदस्य थिए । 

समितिले प्रदेश राजधानी पोखरा सिफारिस गरेको छ । पोखरा राजधानी हुनुपर्छ भनेर ९३ दशमलव ८७ प्रतिशत सहभागीले सुझाएको जानकारी प्रतिवेदनमा छ । ‘गोरखाका पक्षमा ३ दशमवल ९९ र अन्यका पक्षमा २ दशमलव १२ प्रतिशत मत थियो’, प्रतिवेदनमा उल्लेख छ । दलहरु सबैले राजधानी पोखरा हुनुपर्ने सुझाव समितिलाई दिएका थिए । 

संविधानको भाग ३३ ले संक्रमणकालीन व्यवस्था गरेको छ । त्यस भाग अन्तर्गत संविधानको धारा २९५ को उपधारा २ मा प्रदेश नामकरण सम्बन्धी व्यवस्था छ ।

ब्राह्मण, क्षेत्री, दशनामी, रानाभाट, ठकुरी लगायत संघसंस्थाले सोमबारै प्रदेश सभामा एक ज्ञापनपत्र बुझाउँदै प्रदेशको नाम गण्डकी राख्न माग गरेका थिए । आइतबार भने आदिवासी जनजातिका २५ संस्थाले तमुवान मगराँत नाम मागसहितको ज्ञापनपत्र बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.