हनुमान नाच संरक्षणमा नेवार समुदाय

हनुमान नाच संरक्षणमा नेवार समुदाय

बागलुङ : बागलुङको पुरानो बजारसमेत हो, नारायण चोक। चोकमा रहेको लक्ष्मी नारायण मन्दिर, छेवैमा वरपीपल चौतारी। वरपर परम्परागत घर, पसल, गल्लीले पुरानो बजारको झल्को दिन्छ। उक्त चोकमा मंगलबार बिहानैदेखि छुट्टै चहलपहल थियो।

३० जना युवाले निधारमा राम तिलक र गलामा माला लगाएका थिए। सिम्रिक रंगको रातो कमिज, चुनरीसहितको रातो जाँगे र मलमल कपडाको जामा पनि सुहाएको थियो। निधार र हातमा जय श्री राम लेखिएको पोटली, तीघ्रामा चाँप र मुखमा हनुमानजीको आकारको ख्वापा र चार फिट जति लामो पुञ्चर उनीहरूले हालेका थिए। झट्ट हेर्दा उनीहरू हनुमानजी जस्तै देखिन्थे। उनीहरूको हातमा करिब दुई इन्च मोटाइ र डेढ फिट लामो काठको डन्डी थियो। चोकमा नेवारी समुदायका पाका पुरानादेखि बालबालिकासम्म भेला भएका थिए। यो रमझम करिब ९ वर्षपछि विधिवत् रूपमा निकाल्न लागिएको हनुमान नाचको थियो।

करिब तीन सय वर्षअघि भक्तपुरबाट बसाइँ सरेर नेवार समुदाय बागलुङ आएका थिए। उनीहरू आएपछि आफ्नो संस्कृति पनि सँगै लिएर आएको र सोही बेलादेखि हनुमान नाच देखाउँदै आएको किंवदन्ती छ। हनुमान नाच संरक्षण परिषद् बागलुङका अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले हनुमान नाच तीन वा पाँच वर्षमा विधिवत् रूपमा देखाउने गरिए पनि यस पटक ९ वर्षपछि देखाइएको बताए। उनले उक्त नाच कोरोना संक्रमणको समस्या र विभिन्न कारणले लामो समय रोकिएपछि सञ्चालनमा आउन नसकेको बताए। 

नृत्यका लागि साउन महिनाभर तालिम सञ्चालन गरिएको थियो। तालिमपछि छानिएका २६ जोडी युवालाई नाचका लागि शपथग्रहण गराएपछि नृत्यमा १३ जोडी युवालाई हनुमान बनाइनेछ। बाँकी अतिरिक्त रूपमा राखिने बताइएको छ। एक जोडीमा दुई जना हुने गर्छन्। ‘नाचको लागि १३ वा १५ जोडी युवाहरूलाई हनुमान गराइन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘नाच्ने युवाहरू सुत्केरा, जुठा परेमा नाचमा सहभागी गराइँदैन। त्यसैले अतिरिक्त रूपमा यस पटक धेरै कलाकारहरू तयार गरिएको छ।’

बागलुङमा राजभण्डारी, श्रेष्ठ, मलेपति, भारी, वझा, शाक्यलगायतका नेवारी समुदायको बसोबास रहँदै आएको छ। हनुमान नाचमा नेवारी समुदायलाई अन्य समुदायले समेत साथ दिँदै आएका छन्। नेवारी समुदायको मुख्य नाच भए पनि क्षेत्री, थापा, रोकालगायतका जातिका युवाहरूले पनि नाच्ने गरेको हनुमान नाच संरक्षण परिषद् बागलुङका सचिव जय राजभण्डारीले बताए। उनले यस पटक एक जना रोका थरका युवाले नाचिरहेको जानकारी दिए।

मंगलबार नारायणचोकमा नचरीको पूजा गर्दै नाचको सुरुवात गरिएको थियो। मुख्य पुजारी बद्रीकुमार श्रेष्ठले नचरीको पूजाआरम्भ गरेपछि मृदंगा र झ्यालीको तालमा लौरो समाएर तम्तयार भएका हुनमान नाचका मुख्य कलाकार (ज्यामाको) नाचन थालेपछि मात्र अन्य कलाकारले सोही तालमा लौरो जुझाउँदै नाच्न थालेका थिए। सोही क्रममा केही नचरीहरूलाई वीर (हनुमान प्रसन्न भएको र शक्ति प्राप्त भएको) उत्रेको थियो। वीर उत्रेको हनुमानले पूजाको प्रक्रिया पुगे नपुगेको हेरेपछि मात्र पूजा सम्पन्न गरिएको थियो। नचरीको पूजा सम्पन्नपछि बागलुङ नगरपालिका–३ को छहरापधेँरामा रहेको हनुमानथानमा मूल पुजारी बद्रीकुमार श्रेष्ठले पूजा गरेपछि उल्टो हिँडेर नारायणचोकसम्म हनुमानको मूर्ति बोकेर ल्याएका थिए। नारायण चोकमा केही समय नाचेपछि बानपा–४ उपल्लाचौरमा रहेको राममन्दिरमा पुगेर पूजा गरेपछि मात्र बजारमा देखाइएको थियो।

आगामी चैत मसान्तसम्म यो नाचलाई विभिन्न स्थानमा लगेर देखाइने सचिव राजभण्डारीले बताए। हरेक हप्ताको मंगलबार र शनिबार बजारमा नाच देखाइनेछ। बजारको चोकवासीहरूले नाचको लागि आह्वान गरेपछि हनुमान नाच देखाइने सचिव राजभण्डारीको भनाइ छ। केही विशेष कारण बनेमा बिहीबार पनि नाच देखाउन सकिने सचिव राजभण्डारीको भनाइ छ। उनले मेला महोत्सवमा भने पूजा नगरी संस्कृतिको रूपमा मात्रै नाच देखाउने गरेको बताए।

हनुमान नाचको लागि मुख्य व्यवस्थापनको लागि मूलकजीको आवश्यकता पर्ने गर्छ। परिषद्ले मूलकजीमा ईश्वरप्रसाद मलेपतिलाई चयन गरेको छ। यस्तै उनलाई साथ दिनेगरी उपप्रधान कजी, पूजा समिति, भजन समिति वाद्यवादक समिति, कलाकार छनोट समिति, पोसाक समिति, आर्थिक समिति, प्रचारप्रसार समिति र मूल्यांकन समिति चयन गरेर काम गरिरहेको छ। त्यस्तै झन्डै दुई दर्जन स्वयंसेवक पनि खटिनेछन्। कुनै बिघ्नबाधा आएमा उनीहरूले साथ दिने मूलकजी ईश्वरप्रसाद मलेपतिले बताए।

हनुमान नाचको इतिहास

हनुमान नाच १३ वा १५ जोडी कलाकारले हनुमानको स्वरूप धारणा गरेर कलात्मक प्रस्तुति दिइन्छ। विभिन्न दस तालमा नाचिने यो नाच पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको किंवदन्ती छ। भक्तपुरबाट करिब तीन सय वर्षपहिले व्यापार व्यवसायको लागि बागलुङ आएका नेवार समुदायले हनुमान नाचको संस्कृति पनि सँगै लिए। ‘करिब तीन सय वर्ष पहिले व्यवसायको लागि भक्तपुरबाट बागलुङ आएका पुर्खाहरूले नाच पनि सँगै लिएर आएको किंवदन्ती छ,’ मूलकजी मलेपतिले भने, ‘सोही समयदेखि नै तीन वा पाँच वर्षमा विधिवत् रूपमा नाच निकाल्ने गरिएको छ।’ विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी प्रेम छोटाले बताए।null

छोटाका अनुसार मल्लकालीन समयमा भक्तपुरका राजा भूपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए। हनुमान नाच मंगलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उनको भनाइ छ। नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन्। 
नाचमा देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दस तालमा कलाकार नाच्ने गर्छन्। पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदंग र झ्यालीको तालमा नाच्ने गर्छन्। नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ। 

परिषद्का अध्यक्ष श्रेष्ठले हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसंगमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताए। हनुमानले लंका घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गरिने श्रेष्ठको भनाइ छ।

प्रधान कजी मलेपतिका अनुसार बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्ला बाहिर पनि पुगेर नाच देखाइने गरिएको छ। ‘यसअघि काठमाडौं, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो,’ मलेपतीले भने, ‘भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित छ।’ यो नाच भक्तपुरबाट आएको सम्झनासमेत हुने भएकोले बागलुङका नेवार समुदायले महत्त्वका साथ लिने गरेका छन्। २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवद्र्धनमा संस्थागत पहल सुरु भएको हो।

नाच देखाउन १० लाख बढी खर्च लाग्ने

हनुमान नाच देखाउन १० लाख बढी खर्च हुने अनुमान गरिएको छ। परिषद्का सचिव राजभण्डारीले पूजाको पहिलो दिन करिब ७ लाख र अन्तिम दिन ३ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको बताए। उनले अन्य दिन चोकचोकमा हनुमान नाच देखाउन आह्वान गर्ने समुदायले नै खर्च व्यहोर्ने बताए। ‘धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो पनि छ,’ सचिव राजभण्डारीले भने, ‘पूजाआजा, पोसाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुन्छ। नाच सञ्चालनमा प्रधान कजी (व्यवस्थापक), उपप्रधानकजी, कजी, पुजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौं व्यक्ति खटिनुपर्ने हुँदा खर्च बढी भएको हो।’

हनुमान नाच संरक्षण समितिले आवश्यक कोष स्थापना गरेर हनुमानका लागि चाहिने सामग्री जुटाउन लागेको बताइएको छ। समितिले गण्डकी प्रदेश सरकार, गण्डकी प्रज्ञा प्रतिष्ठान, स्थानीय व्यवसायीलगायतका संघसंस्थाबाट पनि सहयोगको आह्वान गरेको छ।

हनुमान नाच आचारसंहिता

हनुमान नाचका लागि धेरै आचारसंहिता पालना गर्नुपर्ने मूलकजी मलेपतिले बताए। उनले प्रधानकजी, उपप्रधान कजी, पुजारी, वाद्यवादक, नृत्य कलाकार र दर्शकसमेत सबैले आचारसंहिता पालना गर्नुपर्ने बताए। ‘हनुमान नाच्ने युवा ब्रह्मचार्य बस्नुपर्ने व्यवस्था छ। नाच्नेहरू मादक पदार्थ तथा लागूपदार्थको सेवन गर्न पाउँदैनन्,’ मूलकजी मलेपतिले भने, ‘स्वच्छ रूपमा शुद्ध शाहाकारी भोजन खाएर बस्नुपर्छ र नाचने दिन बिहान नुहाएर शुद्ध हुनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.