रोपाइँमा सहभागी भएका १५ जना बिरामी
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका-६ साँधभन्ज्याङस्थित मिलनटोलमा रोपाइँमा सहभागी १५ जना बिरामी परेका छन्। उनीहरूमा बान्ता, पखाला, ज्वरो, टाउको दुख्ने, रिंगटा लाग्ने तथा वाकवाकी हुने जस्ता लक्षण देखिएपछि धादिङ अस्पतालमा भर्ना गरी उपचार भइरहेको छ।
स्थानीयका मिरा रम्तेलको खेतमा रोपाइँका क्रममा सहभागीहरूले भात, कुखुराको मासु, तरकारी, अचार र चटनी खाएका थिए। साथै, खेतमाथि रहेको मुहानको पानीसमेत पिएका थिए। सोही रातिदेखि सहभागीहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो।
सुरुमा स्थानीय मेडिकलमा उपचार गरिए पनि अवस्था सुधार नआएपछि उनीहरूलाई धादिङ अस्पताल ल्याइएको थियो। बिरामीमध्ये एक बालक, ६ पुरुष र ८ महिला रहेका छन्। अस्पतालका अनुसार सबैको निःशुल्क उपचार भइरहेको छ र अधिकांशको अवस्था सुधारोन्मुख छ।
धादिङ अस्पतालका निमित्त निर्देशक डा. नवीन महासेठले फुड पोइजन, विषादीयुक्त पानी वा अन्य कुनै कारणले समस्या भएको हो भन्ने विषय प्रयोगशाला परीक्षण तथा अनुसन्धानपछि मात्रै पुष्टि हुने बताए। घटनाबारे जनस्वास्थ्य कार्यालय धादिङ र ज्वालामुखी गाउँपालिकाले संयुक्त रूपमा अध्ययन सुरु गरेका छन्।
स्थानीयले भने मुहान नजिकै केही दिनअघि झार मार्ने विषादी प्रयोग गरिएको जानकारी दिएका छन्, जसका कारण पानी दूषित भएको हुन सक्ने आशंका गरिएको छ।
प्रतिक्रिया दिनुहोस !