दाजुले कुटपिट गर्दा भाइको ज्यान गयो
वीरेन्द्रनगरः सामान्य घरयासी विवादमा एक दाजुले आफ्नै भाइलाई कुट्दा ज्यान गएको छ । चौकुने गाउँपालिका-१० घाटगाँउका चक्रबहादुर राजीले आफ्नै भाइलाई मदिरा पिएर कुट्दा खगेन्द्र राजीको मृत्यु भएको हो ।
गत सोमबार साँझ अनियन्त्रित रुपमा मदिरा सेवन गरी दाजु भाईबीचमा झगडा हुँदा चक्रले भाई खगेन्द्रलाई मरणासन्न हुनेगरे कुटेका थिए ।
दाजुको कुटाइबाट गम्भीर घाइते भएका खगेन्द्र राजीको सोमबार मृत्यु भएको हो । दुई दिनसम्म पनि सन्चो नभएपछि उपचार गर्न कैलाली लैजाने क्रममा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक शुसोभन श्रेष्ठले जानकारी दिए ।
घटनास्थलमा पुगेको ईलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले हत्या गरेको आरोपमा मृतकका दाजुलाई नियन्त्रणमा लिएको छ । मृतकलाई पोस्टमार्टमका लागि टिकापुर लगिएको छ ।
घाटगाउँबाट सुर्खेत आउन ५ घण्टा लाग्ने र कैलाली जान डेढ घण्टा लाग्ने भएकाले स्थानीय वासिन्दा उपचारको लागि कैलाली जाने गरेको उनले बताए । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घटनाको अनुसन्धानका लागि आरोपी चक्रबहादुरलाई जिल्लामा झिकाइएको छ ।