नेपालमा हतियार भित्र्याउने भारतीय गिरोहका सातजना जेल चलान

नेपालमा हतियार भित्र्याउने भारतीय गिरोहका सातजना जेल चलान

विराटनगर: नेपालमा लागूऔषध र हतियार भित्र्याउँदै आएको भारतीय अपराधिक गिरोहका सातजना सोमबार कारागार चलान भएका छन् । 

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएपछि उनीहरुलाई कारागार चलान गरिएको अदालतका निमित्त स्रेस्तेदार केदारप्रसाद गौतमले बताए । 

भारत विहारस्थित अररिया फारबिसगन्ज–२ का ३० वर्षीय प्रमोद यादव भनिने विनोद राठौर, अररिया जिल्लाको वथनाहा ४ का २४ वर्षीय रोहितकुमार शर्मा, अररिया मिल्की डुमरिया ९ का १८ वर्षीय राजाकुमार यादव, २२ वर्षीय निलमकुमारी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, अररिया रानीगंजका ३३ वर्षीय रन्जितकुमार शर्मा र अररिया बरारभत नाजा ७ का ४० वर्षीय सुरज नारायण यादवलाई पुर्पक्षमा राख्न अदालतले आदेश दिएको हो । निलम प्रमोद भनिने विनोदकी पत्नी हुन् । 

थुनामा राख्न आदेश भएका मध्ये सुरजनारायणसंग अदालतले एक लाख १८ हजार रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी तिर्न नसकेपछि उनलाई पनि थुनामा पठाइएको गौतमले बताए । लागूऔषध र हतियार सहित प्रहरीले सातै जनालाई गत बैशाख ११ गते विराटनगर ४ स्थित नोवेल मेडिकल कलेज नजिकबाट पक्राउ गरेको थियो । 

उनीहरुविरुद्ध हातहतियार खरखजना र लागूऔषध सम्बन्धी मुद्दा चलाइएको थियो । प्रहरीले अनुसन्धान सकेपछि जेठ १७ गते अदालतमा सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरेको थियो । हातहतियार खरखजना मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भए पनि लागूऔषध मुद्दामा अदालतले थुनामा राख्न आदेश दिएको हो । 

‘पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई निज प्रतिवादीहरुलाई विशेष अदालत ऐन २०५९ को दफा ७ (ङ), अदालती बन्दोबस्तको महल ११८ को देहाय ३ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न अदालती बन्दोवस्त १२१ बमोजिम थुनुवा पुर्जी दिई कारागार मोरङ पठाइदिनु,’ अदालतको आदेशमा उल्लेख छ । 

त्यस्तै सुरजनारायणको हकमा विशेष अदालत ऐन २०५९ को दफा ७ (घ) बमोजिम रु एक लाख १८ हजार धरौटी दिए लिई तारेखमा राख्नु, दिन नसके अदालती बन्दोवस्त १२१ बमोजिम थुनुवा पुर्जी दिइ कारागार मोरङ पठाइदिनु भनेर अदालतले आदेश गरेको छ ।

धरौटी राख्न नसकेपछि उनलाई पनि कारागार चलान गरिएको जानकारी गौतमले दिए । उनका अनुसार लागूऔषध मुद्दामा थुनामा गइसकेका प्रतिवादीलाई सरकारी वकिल कार्यालयले हातहतियारको अभियोजन दर्ता गरेपछि जिल्ला प्रशासन कार्यालयले बयानका लागि झिकाउन सक्छ । हातहतियार र लागूऔषध मुद्दामा जिल्ला अदालत र जिल्ला प्रशासनको आदेश अनुसार दुई थरी सजाय हुने गौतमले बताए । 

थुनामा पठाइएका प्रतिवादीहरु व्यक्ति हत्या, गुण्डागर्दी, लुटपाट, डकैती जस्ता सृङ्खलाबद्ध अपराधमा संलग्न कुख्यात भारतीय अपराधिक गिरोहका नाइके विट्टु सिंह समूहका सदस्य रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हतियार र लागूऔषधको ओसारपसार एवम् कारोवार गर्न उनीहरुले नेपाल–भारत सीमानाको जोगवनी नाका आसपासलाई सुरक्षित स्थलका रुपमा प्रयोग गर्ने गरेको पाइएको छ । विट्टु सिंह ‘ग्रप’ का सदस्यले भारतबाट हतियार खरिद गरेर ल्याउँदै नेपालका अपराधिक समूहलाई विक्री गर्ने गरेको प्रहरीको भनाइ छ । 

प्रमोद यादव भनिने विनोद राठौरका साथबाट मेड इन युएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने म्याग्जिन र ६ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको थियो । यस अघिका अपराधकर्ममा विट्टु सिंहका विश्वास पात्र मानिने उनी हत्या, गुण्डागर्दी, डकैती जस्ता अपराधिक घटनामा भारतीय प्रहरीको ‘मोष्टवाण्टेड’ सूचीमा छन् । 

भारतीय अपराधिक गिरोहका साथबाट नेपाल प्रहरीले भारतबाट ल्याउँदै गरेको एक हजार सात सय ७५ एम्पुल एभिल, पाँच सय एम्पुल डाईजेल्याब, एक हजार सात सय ७६ चक्की एपास्मोप्रोक्सिभन, सात सय २५ ट्याब्लेट नाईट्रोसन, पाँच सय २५ एम्पुल लुपिजेसिक, एक सय २५ एम्पुल फेनारगन र १३ बोतल डाईलेक्स डिसी नामक लागूऔषध बरामद गरेको थियो । उनीहरुका साथबाट नेपाली ८१ हजार रुपैयाँ नगद पनि बरामद भएको थियो । 

प्रहरी उपस्थिती कम हुने स्थानको पहिचान गर्दै भारतबाट नेपालतर्फ हतियार र लागूऔषध भित्राएर पूर्वका विभिन्न शहर र काठमाडौं सम्म ‘सप्लाई’ गर्ने धन्दामा भारतको नामुद अपराधिक गिरोहका सदस्यको संलग्नता रहँदै आएको एक प्रहरी अधिकारीले बताए । 

‘विभिन्न अपराधिक घटनामा भारतीय प्रहरीले सर्वाधिक खोजी सूचीमा राखेपछि भारतीय प्रहरीबाट जोगिन उनीहरुले नेपाललाई अवैध धन्दा संचालन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गर्न थालेको पाइएको छ,’ घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने । भारतमा विभिन्न प्रकृतिका सृङखलाबद्ध अपराधमा संलग्न देखिएका कारण नेपालतर्फको कारवाही सकिएपछि उनीहरुलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाउने तयारी नेपाल प्रहरीको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.