फेरि आउनुहोला है !
अपराजिता,
आज तिमीलाई एक अविष्मरणीय क्षणको बयान गर्न जाँदैछु। संवादबाट प्रारम्भ गर्दैछु र संवादबाटै अन्त्य गर्ने छु, कारण संवाद नै यसको महत्वपूर्ण पक्ष हो।
‘कुखुरा पालेको ठाउँमा बस्नुभएको बेला म निर्मल दाइलाई भेट्न आएको थिएँ। एउटा ठूलो बोतल सिवास रिगल ह्विस्की लगिदिएको थिएँ। कुखुराको मासुसँग मज्जाले खानुभयो होला।’
उज्यालो मुुहारमा मुस्कुराहट छर्दै उक्त उद्गार पोखेपछि लगत्तै थप्नुभयो, ‘आजभोलि मान्छेका जंगल धेरै उम्रिए तर असल मानिस भेट्टाउन अत्यन्त गाह्रो छ, भए पनि अति कम।’
सुमधुर सम्झना, सटीक उदगार।
निर्मल लामाप्रति डाक्टर उपेन्द्र देवकोटाको संकेत थियो यो। मैलै अलि कुरा मोडेर भनें, ‘हो, डाक्टर साहबहरूजस्ता असल मानिस पाउन निश्चय नै अति गाह्रो छ। यस्तो अवस्थामा पनि आफ्नो देश फर्केर परिवार तथा आफन्तहरूकै वरिपरि बाँकी जीवन बिताउने अठोट लिएर खुसीखुसी फर्कनुभयो। सानो कुरो हो यो ? ’
यसो भन्दा मलाई पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको सम्झना आयो। उहाँले पनि त अन्तिम समयमा विदेश गई उपचार गराउने साथीभाइको सल्लाह नकार्दै स्वदेशमै रहेर आफन्तकैबीच बाँकी जीवन बिताउने निधो गर्नुभयो।
सायद महान व्यक्तित्वको पहिचान यसरी नै हुन्छ होला।
सुन, अपराजिता, म एक्लै गएकी थिइनँ। डा. महेश मास्के र म साथ गएका थियौं, न्युरो अस्पतालको सघन उपचारकक्षमा डाक्टर उपेन्द्र देवकोटालाई भेट्न। प्रसन्न मुद्रामा हात पैmलाएर स्वागत गर्दै हात समातेर निकटताको आभास दिँदै कुराकानी गर्नुभयो। यो दृश्य अनुभवी स्वास्थ्य परिचायिकाको नजरमा पर्नासाथ झटपट हाम्रो हातमा एन्टीसेप्टीकका थोपा राखिदिई दल्न अनुरोध गर्नुभयो।
उहाँ चहकिलो र स्पष्ट आवाजमा बोलिरहनु भएकोले ‘तपाईको आवाज कति स्पष्ट र ओजिलो’ भन्दै डा. मास्केले आश्चर्य तथा सन्तोष प्रकट गर्नुभयो। यस असाध्य रोगविरुद्ध डा. देवकोटाले गर्नुभएको साहसिक संघर्ष र त्यस क्रममा उजागर भएको उहाँप्रति आम नेपाली जनताको स्नेहबारे पनि उहाँले चर्चा गर्नुभयो। यो सुनेर डा. देवकोटाले प्रसन्न मुद्रामा भन्नुभयो, ‘आई एम भेरी ह्याप्पी’ भन्नुभयो। जोकोही पनि विह्वल हुने क्षण थियो त्यो। उहाँको मुहार अति उज्यालो र हँसिलो भयो। मलाई त उहाँ बिरामी नै हुनुहुन्न जस्तो भान भयो।
मनको डायरी पल्टाउँदा
विगतमा फर्केर हेर्दा याद आउँछ निर्मलको मदिरामा नै डुबेर बसेको स्थिति र डा. देवकोटाको आगमन र सल्लाह। आफ्ना औंला भाँचेर देखाउँदै उहाँले भन्नुभएको थियो, ‘दाइ, सातवटा जरामा तपाईले पाँचवटा छुटाइसक्नु भो, केबल दुइटा बाँकी छ। तथापि केही बिग्रेको छैन। सके आजैदेखि रक्सी पिउन बन्द गर्नुहोस्। जीवनमा के कति गर्नु भो आफैं मूल्यांकन गर्नुहोस् र आगामी दिनहरूमा आइपर्ने चुनौतीहरूको सामना गर्न तयार रहनुहोस्। आफ्नो जिम्मेवारी सम्झनुहोस्। हामी तपाईलाई यतिकै गुमाउन चाहन्नौं।’
मैले मनमनै भने, ‘यस्तै होस्, डाक्टरसाहब, हामी फेरि, फेरि र अनेकौं पटक फेरि तपाईंलाई भेट्न आउने छौं।’
आफ्नो व्यस्तता हुँदाहुँदै पनि समय निकालेर आउनुहुन्थ्यो। बेलाबखत डा. मधु घिमिरे पनि साथमा आउनुहुन्थ्यो।
यति मात्र कहाँ हो र, अपराजिता। यी त तिमीले सदाका निम्ति हामीलाई छोडेर गइसकेपछिको सन्दर्भ हो। तिमीलाई थाहा छ, तिम्रो स्वास्थ्यको पनि उहाँलाई चिन्ता थियो। तिम्रो स्वास्थ्यको खबर लिन उहाँ बेलाबखत घरमा आउनुहुन्थ्यो। कहिलेकाहीं आफ्नो स्वास्थ्यसम्बन्धी सल्लाह लिन उहाँलाई सम्झन्थ्यौं र सहृदयपूर्वक अति झिँझो नमानी घरमै आई सल्लाह दिनुहुन्थ्यो। वीर अस्पतालमा तिम्रा अन्तिम दिन बितिरहेको बेला उहाँले पुर्याउनुभएको सहयोग अहिले पनि झल्झली सम्झिन्छु। मेरो मनको डायरीमा दह्रो गरेर बसेका छन् यी सब।
हात समातेर मनको नजिक पुग्दा
डा. देवकोटालाई भेट्न आतुर जनसमूहको ओइरो लागेको तथ्यसँग अवगत थियौं। गम्भीर अवस्थामा पनि अति व्यस्त, यस अवस्थालाई मनन गरी केही दिन कुर्ने मनस्थिति बनायौं। उहाँसँग दुई शब्द बोल्ने हाम्रो उत्कट इच्छा थियो। तर दिनबदिनको स्थिति र भेटकर्ताहरूको चापले गर्दा केही वरिष्ठ चिकित्सकले समेत भेट पाएनन् भन्ने सुन्दा हतास नहुने भन्ने थिएन।
यस्तैमा उहाँको अन्तरंग मित्र वरिष्ठ अधिवक्ता तुलसी भट्टबाट सहयोगका अपेक्षा राख्दै सम्पर्क गर्यौं। हाम्रो इच्छा बुझेरै १६ जेठ २०७५ बुधबारका दिन अवसर जुराइदिनुभयो। सहयोगप्रति हृदयदेखि आभारी छौं, भट्टजी।
साँझ ५ः३० बजे न्युरो अस्पताल पुगेपछि अस्पतालका सहयोगीसँग भलाकुसारी साट्दै दोस्रो तलामा अवस्थित सघन कक्षमा प्रवेश गर्नुअगावै मास्क पहिरिएर भित्र पस्यौं। काउचमा मास्क लगाएर बस्नु भएकाहरूमा डा. ध्रुव मुडभरी र डा. देवकोटाका माइला दाइ हुनुहँुदो रहेछ। उहाँहरू र डा. मास्केबीच डा. देवकोटाको पेसागत क्षमता र लोकप्रियताका पुराना दिनका सम्झना मैले अति रुचाएर सुनें।
उहाँकी श्रीमती डा. मधु देवकोटा, छोरीलगायत सेवामा जुटेका स्वास्थ्यकर्मी व्यस्त तर मौन देखिन्थे। डाक्टरसावका आँखा बन्द थिए। हाम्रो उपस्थिति अवगत गराउने र दुई शब्द बोल्ने व्यग्रता लिएर हामी काउचमा कुरेर बस्यौं। हाम्रा आँखाहरू एकटक उहाँको मुहारमा टिकेका थिए। केही बेरपछि आँखा खोल्नुभयो र हातको इसाराले हामीलाई बोलाउनुभयो। मलाई त्यस बखत खुट्टाले भुइँमा टेकेको समेत भान भएन। त्यसपश्चात् माथि उल्लिखित सिलसिला प्रारम्भ भयो। हात समातेर उद्गार पोख्नु मनको नजिक हुनु हो।
धेरै बोल्नुपर्दा उहाँको स्वास्थ्यमा असर पर्ने सल्लाह उपस्थित स्वास्थ्य परिचारिकाबाट व्यक्त भएपछि वार्तालाप छोट्याउन बाध्य भयौं। अन्तमा विदाबारीको नमस्कार गर्दै उहाँले भन्नुभयो, ‘फेरि आउनुहोला है।’
‘हस्, हामी फेरि पनि भेट्न आउँछौं।’
ढोकामा पुगेपछि मैले टाढैबाट फेरि एकचोटि नमस्कार गरें। जवाफमा हात हल्लाउनुभयो।
अपराजिता, अन्तिम चार शब्दको आह्वान ‘फेरि आउनु होला है’ जो कसैलाई पनि गम्भीर बनाउने र केही सोच्न बाध्य गराउने शब्द थिए। समयको गतिबोध गराउने यस ‘फेरि’ शब्दले उहाँ निकै लामो समयसम्म हामी नेपालीको माझ रहनुहुन सक्ने संकेत गरायो। मैले मनमनै भने, ‘यस्तै होस्, डाक्टरसाहब, हामी फेरि, फेरि र अनेकौं पटक फेरि तपाईंलाई भेट्न आउने छौं।’