कांग्रेस कहिले सुध्रिन्छ ?
असारको पहिलो साता हेटौंडामा हुने भनिएको जिल्ला सभापतिहरूको भेला नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्रको गुट विभाजन सतहमा आउन थालेको छ। कांग्रेस जिल्ला सभापतिहरूको भेलामा तीन समूह तीन दाउ लिएर उत्रिएका छन्। गगन थापालगायतको समूह तुरुन्त महाधिवेशन डाकेर नेतृत्व परिवर्तन चाहन्छ। रामचन्द्र पौडेल नेतृत्वको समूह निर्वाचनमा हारको सम्पूर्ण दोष देउवालाई लगाएर उम्किन चाहन्छ। देउवा समूह भने आफ्नो बचाउ गर्न तल्लीन छ। यी सबै परिदृश्यले कांग्रेसको वर्तमान आन्तरिक शक्ति सञ्चयन स्पष्ट गर्छ।
निर्वाचनमा लज्जास्पद हार व्यहोरेको कांग्रेसले अहिलेसम्म पनि आफ्नो हारको कारण के हो भनेर ठोस निचोड निकाल्न सकेको छैन। कांग्रेस केन्द्रीय समिति बैठकपछि पनि एउटा निष्कर्षमा पुग्न नसक्नुले उसको अकर्मण्यता पुष्टि गर्छ। जबकि नेपाली राजनीतिमा नयाँ शक्ति संरचनाको निर्माण भइसकेको छ। गठबन्धन निर्माण गरेर निर्वाचनमा गएको वाम शक्ति अहिले एकीकृत पार्टी भइसकेको छ।
लामो समय सत्ता शक्तिभोग गरेको कांग्रेस प्रतिपक्षमा आइपुगेको छ। तर उसले अहिलेसम्म पनि आफू प्रतिपक्षमा भएको बोध गर्न सकेको देखिँदैन। आफूलाई प्रजातान्त्रिक विचारधाराको अग्रगामी शक्ति दाबा गर्ने कांग्रेसले संसदीय राजनीति नबुझेको पक्कै होइन होला। संसदीय राजनीतिको सौन्दर्य भन्नु बलियो प्रतिपक्ष हो। सायद सहमतीय प्रणालीको लामो अभ्यासका कारण हो, कांग्रेसले संसदीय राजनीतिको यो सौन्दर्य बुझ्न सकेको देखिँदैन। गठबन्धन हुँदै एकीकृत पार्टीले संघीय समाजवादी फोरमसहितको सहयोगमा दुईतिहाई पुर्याएर चलाइरहेको सत्ताको शक्ति उसले पक्कै पनि बुझेको हुनुपर्छ। यस्तो सर्वशक्तिमान सत्तासामु प्रतिपक्ष पनि बलियो चाहिन्छ, नभए हरेक प्रजातन्त्र अधिनायकत्वको वीज बोकेको हुनुपर्छ भन्ने निकट नेपाली इतिहासले नै सिकाइसकेका छन्। कांग्रेसका वर्तमान सभापति त त्यसका भुक्तभोगी नै हुन्। तथापि कांग्रेस सिक्न चाहने र आफूलाई रूपान्तरण गर्न सक्ने पार्टीको रूपमा दरिएको छैन।
कांग्रेस अझै पनि आफ्नो पराजयको कारण खोतल्न व्यस्त देखिन्छ। प्रकृति विज्ञानको सामान्य नियमले भन्छ– घटनाको मुख्य कारण आन्तरिक हुन्छ। कांग्रेसको पराजयको मुख्य कारण पनि आन्तरिक नै हो। कांग्रेस प्रवृत्तिका कारण ऊ असफल हुन पुगेको हो। गुटले थिल्थिलो हुनु, लामो समयसम्म सम्मेलन र महाधिवेशनमा नजानु, जनपक्षीय मुद्दामा प्रस्ट धारणा नराख्नु, नाकाबन्दीजस्ता कठिन समयमा मौन बस्नु, सांगठनिक स्वरूप बलियो नहुनु, पारदर्शी र इमानदार नेतृत्व र कार्यकर्ताको अभाव हुनु, ठोस सिद्धान्त बोकेको नेतृत्व नहुनु आदि कारणले कांग्रेस पराजित हुन पुगेको हो।
जबसम्म यस्ता आन्तरिक समस्या हटाउन सक्दैन तबसम्म कांग्रेसले आफूलाई बलियो बनाउन सक्दैन। विडम्बना वामपन्थी राजनीति ध्रुवीकृत हुँदै एकगठ भइरहेको बेला गैरवामपन्थी राजनीतिको गठबन्धनसम्म भए पनि तयार गर्न कांग्रेसले नेतृत्व लिन्थ्यो। त्यसो भएमा राजनीतिक अस्थिरता अन्त्य हुन्थ्यो। तर अस्थिरताको पहिलो वीज बोक्ने कांग्रेस अहिले पनि समयका परिणामबाट शिक्षा लिन इच्छुक देखिँदैन। गुटहरूको अन्त्य गरेर आन्तरिक एकता नगर्दासम्म कांग्रेस बलियो बन्न सक्ने छैन। कमजोर प्रतिपक्षले लोकतन्त्रलाई नै संकटमा पार्नेछ।