चामेमा आवासीय विद्यालय

चामेमा आवासीय विद्यालय

बेंसीसहर : मनाङ सदरमुकाम चामेस्थित लोकप्रिय माविलाई आवासीय बनाइएको छ । बालबालिका जिल्ला बाहिर पढ्न जान थालेपछि विद्यालयमा आवासीय सुविधा थपिएको हो । विद्यार्थी संख्या कम भएका विद्यालय ‘मर्ज’ गरेर व्यवस्थित विद्यालय बनाउने नीति चामे गाउँपालिकाले लिएको छ। चालु शैक्षिक सत्र ०७४÷७५ बाट गाउँपालिकाभित्रका अन्य विद्यालयलाई पनि चामेस्थित लोकप्रिय माविमा ‘मर्ज’ गर्ने अभियान सुरु गरिएको छ । ‘गाउँपालिकाको नीतिअनुरूप विद्यालयलाई आवासीय बनाइएको हो। आवासीय बनाएपछि सकारात्मक प्रभाव परेको छ’, प्रधानाध्यापक सुरेश थापाले भने, ‘विद्यार्थी संख्या र हाम्रो जिम्मेवारी पनि बढेको छ।’

सहरमा बोर्डिङ पढ्दै आएका बालबालिकालाई पनि कतिपय अभिभावकले फर्काएर सामुदायिकमा भर्ना गराउन थालेका छन्। गत वर्ष ९४ जना विद्यार्थी भएको यस विद्यालयमा अहिले ‘प्ले ग्रुप’ देखि १२ कक्षासम्म २ सय ५७ विद्यार्थी पुगेकोे प्रधानाध्यापक थापाले बताए । विद्यालयमा पूर्ण आवासीय गरी पढ्ने ८७ र अर्धआवासीय रूपमा पढ्ने १ सय ७ विद्यार्थी छन्। घर टाढा हुने र आर्थिक अवस्था नाजुक हुने परिवारका बालबालिकालाई आवासीय व्यवस्था गरिएको थापाले बताए । उनका अनुसार विद्यार्थी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पढ्ने गर्छन्। चामे गाउँपालिकाको आर्थिक सहयोगमा विद्यार्थीका लागि खाना र खाजाको व्यवस्था समेत विद्यालयभित्रै मिलाइएको छ ।

सामुदायिक विद्यालयप्रति विश्वास बढाउन र शैक्षिक गुणस्तर उकास्न आवासीय सुविधासहित चलाइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सदनप्रसाद द्वाले बताए। आवासीय भएपछि टाढा–टाढाबाट विद्यार्थी पढ्न आएको उनले बताए। शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र अभिभावक मात्र नभई जनप्रतिनिधि पनि लागिपरेको उनले जानकारी दिए । चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन आवश्यक पर्ने स्रोतसाधन जुटाएर सहयोग गरेको बताए ।

विद्यालयका लागि चाहिने भौतिक संरचना निर्माण थालिएको अध्यक्ष घलेले जानकारी दिए। उनका अनुसार हिमाली जिल्लाबाट विद्यार्थी काठमाडौं, पोखरा र चितवनतिर पढ्न जान्थे । ‘अब पढ्न बाहिर जाने अवस्था छैन । विद्यार्थी फर्किन थालेका छन्’, उनले भने । विद्यालयमा ३० शिक्षकसहित ३७ जना कर्मचारी कार्यरत छन्। ८ शिक्षक र ७ कर्मचारीलाई निजी स्रोतबाट तलब सुविधा दिइएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत खुलानाथ गौतमका अनुसार चामे गाउँपालिकाभित्र ५ विद्यालय थिए । चामेकै बालमन्दिर प्रावि चालु शैक्षिक सत्रबाट लोकप्रियमा मर्ज भइसकेको छ । थान्चोकमा दिन दयालु आधारभूत, तिमाङस्थित गौरीशंकर आधारभूत, कोतोस्थित विश्वशान्ति प्रावि पनि विस्तारै ‘मर्ज’ मा आउने प्रक्रियामा छन् । नजिकै मनाङ निस्याङ–१ तलेखुमा लालीगुराँस प्रावि पनि छ । गाउँपालिका अर्कै परेकाले उक्त विद्यालय मर्ज हुन प्राविधिक समस्या देखिएको छ। तर, सो विद्यालयका अभिभावक, शिक्षक सबै ‘मर्जर’ को पक्षमा रहेको गौतमले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.