'वातावरण विग्रनुमा ठूला देश जिम्मेवार'

'वातावरण विग्रनुमा ठूला देश जिम्मेवार'

ललितपुर : प्रधानमन्त्री केपी ओलीले वातावरण विग्रनुमा ठूला मुलुक जिम्मेवार रहेको दाबी गरेका छन् । वातावरण संरक्षणका लागि दीर्घकालिन असरका बारेमा सोच्नु पनि उनले सचेत गराएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालय तथा राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘विश्वकै वातावरण बिग्रिनुमा ठूला मुलुक धेरै जिम्मेवार छन् । दुईवटा दाउरा बालेर कसौंडीमा भात पकाउँदैमा वा दुईवटा ढुंगा जोडेर मकै भुट्दैमा वातावरण प्रदुषण हुँदैन ।’

उनले भने, ‘पृथ्वी तथा मानवजातिको अस्तित्व बचाउन अहिलेको सरकार सचेत छ । हाम्रा सन्ततिको भविष्य सुरक्षित हुनुपर्छ ।’

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरणका क्षेत्रमा आगामी वर्षसम्ममा महशुस गर्न सकिने र गौरव गर्न लायकका परिवर्तन गर्न चाहेको बताए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पाँच वर्षभित्रै ५० प्रतिशत विद्युतीय सवारी चलाउने निती ल्याइने बताए ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मंगलबारै वातावरणवीद्सँग अन्तक्रिया गरेको प्रसंग सुनाउँदै प्रदुषित वातावरणका कारण दैनिक नौजनाले ज्यान गुमाएको तथ्यबारे जानकारी मिलेको सुनाए । ‘यो तथ्यले मेरो शरीरका रौं ठाडा भए’, महर्जनले भने ।

उनले काठमाडौं-ललितपुर दुई महानगरपालिकाले विद्युतीय बस सञ्चालन गर्न लागेको बताए ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं र ललितपुरको सहकार्यमा विद्युतीय बस ल्याउने तयारी भइरहेको जानकारी दिए । बस खरिदका लागि काठमाडौं महानगरले पाँच करोड र ललितपुरले एक करोड रुपैयाँ लगानी गर्ने शाक्यले जानकारी दिए ।

हिलोमा बालबालिका

व्यवस्थापन कमजोरीले कार्यक्रममा उपस्थित सयौं विद्यार्थी हिलोमा बस्न बाध्य भए । हिलोका कारण विभिन्न ठाउँबाट विद्यालय पोशाकमा आएका बालबालिकालाई कार्यक्रमस्थल रहेको जाउलाखेल फुटबल मैदानमा हिंड्न सकस परेको थियो । कार्यक्रमस्थलमा पाल टाँगिए पनि कार्यक्रममा आएका बालबालिकालाई भने बस्ने ठाउँ थिएन । प्रमुख अतिथिको रुपमा उपस्थित प्रधानमन्त्री केपी शर्मा ओलीले ठाउँको उचित व्यवस्थापन नगरेको भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबुसँग गुनासो समेत पोखे ।

‘बालबालिकालाई यसरी हिलोमा राख्न हुँदैनथ्यो । अबदेखि व्यवस्थापनमा ध्यान दिनु हुनेछ’, प्रधानमन्त्री ओलीले सुझाब दिँदै भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.