देशलाई फलफूलको बगैंचा बनाउने प्रधानमन्त्रीको उद्घोष
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा फलफूलको बिरुवा रोप्दै अब सिंगो देशलाई फलफूलको बगैंचाको रूपमा स्थापित गर्ने उद्घोष गरेका छन् ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्न नेपाललाई अब हरियाली र फलफूलमय देशका रूपमा स्थापित गरिने प्रतिबद्धता जनाए । सो महाअभियानको मंगलबार बिहान उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंहदरबारको बगैंचामा लिची र एभोकार्डो बिरुवा रोपेका छन् ।
प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री डा. युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मुख्यसचिव लोकदर्शन रेग्मी, सेनापति तथा प्रहरी प्रमुख, सरकारका सचिवलगायत उच्च अधिकारीहरूले सिंहदरबार परिसरभित्र रहेको बगैंचामा विभिन्न जातका झन्डै सात सय फलफूलका बिरुवा रोपेर महाअभियान सुरु गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले फलफूलमय नेपाल बनाउन सकिए मुलुक फलफूलमा आत्मनिर्भर हुन सक्ने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मुलुकलाई फलफूलको देश बनाउन महाभियान नै सञ्चालन गरिएको जानकारी दिएको छ । प्रधानमन्त्रीको योजनाअनुसार देशभर फलफूलका बिरुवा रोप्ने महाभियान थालिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले बताए । उनले मंगलबारदेखि सुरु भएको महाभियान जारी राख्ने र कम्तीमा देशभर ५ लाखभन्दा बढी फलफूलका बिरुवा रोप्ने लक्ष्य राखिएको जानकारी दिए ।