एमाले-माओवादी एकताका विषयमा साना वामदलबीच विवाद

एमाले-माओवादी एकताका विषयमा साना वामदलबीच विवाद

काठमाडौं : पछिल्ला दुई वर्षयता कार्यगत एकता गर्दै आएका चार साना वामदलबीच विवाद उत्पन्न भएको छ । दुई ठूला वामघटक (एमाले र माओवादी केन्द्र) बीच भएको पार्टी एकतालाई कसरी लिनेमा मतैक्यता नहुँदा उनीहरूबीच विवाद देखिएको हो । पार्टी एकताको सम्भावना खोजीमा कार्यगत एकतामा रहेका उनीहरूबीचको कार्यगत एकता भंग भएको छ ।

कम्युनिस्ट पार्टीको बलियो वैकल्पिक धार निर्माण गर्न मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र ऋषि कट्टेल नेतृत्वको नेकपाबीच कार्यगत एकता हुँदै आएको थियो । देशको आवश्यकता, समृद्धि र विकासका लागि पनि अनिवार्य भएको भन्दै मसालले दुई ठूला वामदलको एकताको स्वागत गरेपछि उनीहरूबीच कार्यगत एकतामा विवाद आएको हो । नेकपा मसालबाहेक अन्य साना वामदलले एमाले-माओवादी एकता कम्युनिस्टविरोधी भएको दाबी गर्दै आएका छन् ।

साना दलबीच यही विषयमा विवाद देखिएपछि मसालले तत्कालका लागि भन्दै कार्यगत एकता स्थगन प्रस्ताव गरेको हो । मसालका अध्यक्ष सिंहले तत्काल कार्यगत एकता स्थगन भए पनि नेताहरूबीच छलफल जारी रहेको बताए । उनले भने, ‘हामीहरू छलफलमै छौं । तत्कालका लागि स्थगन भनिए पनि कार्यगत एकताको सम्भावना कायमै छ ।’ उनले विप्लव नेतृत्वको नेकपासँग सहकार्य र कार्यगत एकताको सम्भावना टुटेको स्पष्ट पारे । ‘ठाउँ ठाउँमा बम पड्काउने, स्थानीय तहमा पार्टीका झण्डा गाड्ने र निर्वाचित प्रतिनिधिलाई राजीनामा दिन दबाब दिने कार्य मान्य हुन सक्दैन’, उनले भने, ‘अरु दलहरूसँग भने हाम्रो छलफल जारी छ । कार्यगत एकता हुन सक्छ ।’

मसालले प्रदेश र संघीय निर्वाचनमा वाम गठबन्धनसँग सहकार्य गरेको थियो । वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लवको नेकपाले संसदीय प्रणालीको विरोध गर्दै आएका छन् । मसालबाहेक तीन दलले एमाले-माओवादी केन्द्रको एकतालाई अवसरवादी संशोधनवादीबीचको एकता भनेका छन् । ‘मोहनविक्रम सिंहले एमाले-माकेको एकतालाई वामपन्थीहरूको एकता भन्नुभएको छ, हामी त्यो मान्ने पक्षमा छैनौं’, नेकपा क्रान्तिकारीका स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्षसमेत रहेका सीपी गजुरेलले भने, ‘उहाँहरू कम्युनिस्ट नै होइन, उहाँहरूको एकता वामपन्थी एकता होइन ।’ उनले मसालकै कारण कार्यगत एकतामा बे्रक लागेको दाबी गरे ।

सिंह नेत्रविक्रम चन्दको नेकपालाई कार्यगत एकतामा समेत ल्याउन चाहँदैनन् भने वैद्य र कट्टेलको पार्टी चन्दको पार्टीसहितको कार्यगत एकताको पक्षमा छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.