यस्तो भन्छन् साइकल स्टन्टबाज
काठमाडौँ, असन, त्यौड बस्ने १७ वर्षीय समीर तामाङ साइकल स्टन्ट गर्न मन पराउँछन्। शहरमै जन्मे÷हुर्केका तामाङ वसन्तपुर, ठमेलचोकतिर साइकलमा स्टन्ट गर्दै भेटिन्छन्।'पहिला वसन्तपुरतिर साँझपख यसो घुम्न जान्थेँ,' उनी भन्छन्, 'यहाँ अरूले स्टन्ट गरेको देख्थेँ। मलाई पनि स्टन्ट गर्ने रहर जाग्यो।'
आफू सानैदेखि साइकल गुडाउन रुचाउने उनी बताउँछन्। 'सानैदेखि मलाई साइकल चलाउने सोख थियो,' उनी भन्छन्, 'तर, घरकाले किन्दिने अवस्था थिएन। मामाले धेरै माया गर्नुहुन्थ्यो। उहाँले नै मेरा लागि साइकल किनिदिनुभयो।' साइकल किन्दा उनी १४ वर्षका थिएँ। 'साइकल पाएपछि गल्ली-गल्ली, चोक–चोकमा गुडाउन थालेँ,' उनी भन्छन्। साइकल भनेपछि आफू भुतुक्कै हुने उनी बताउँछन्। 'सानोमा जतिखेर पनि साइकलमै ध्यान हुन्थ्यो,' उनी भन्छन्, 'कक्षामा पढाइराखेको बेला पनि साइकलै सम्झेर बस्थेँ।
कपीमा साइकलकै नाम कोर्थें र साइकलकै चित्र बनाउँथेँ।'बिस्तारै, समीरको ध्यान स्टन्टतिर जान थाल्यो। 'चार/पाँच महिनामै साइकल स्टन्ट सिकेँ,' उनी भन्छन्, 'सिक्दा धेरै चोटपटक लाग्यो। एक पटक त देवे्र हात नै भाँचियो।' युट्युबमा हेरी-हेरी स्टन्ट सिकेको उनी बताउँछन्। 'युट्युबमा हेर्दा–हेर्दा मैले पनि साइकल उडाउन सिकेँ,' उनी भन्छन्।
समीर तामाङ
साइकल गुडाउँदै समीर जंगल, डाँडा, पहाडतिर पुग्छन्। उपत्यका वरिपरि हात्तीवन, खोकना, भैँसीपाटीलगायत ठाउँमा पुग्ने गरेका छन्। 'लोकल बसमा साइकल राखेर पनि यात्रा गरिन्छ,' उनी भन्छन्, 'साइकल उडाउन टाढा-टाढा गइन्छ। बोरामा माटो हालेर साइकल उडाउने स्पट बनाएको हुन्छ। ओरालो, अफ रोड, चुच्चो ढुंगामा साइकल उडाइन्छ।'
साहस, आँट र शक्तिबिना यस्तो साहसिक खेल खेल्न नसकिने उनी बताउँछन्। 'यस्तो खेलमा जोखिम बढी हुन्छ,' उनी भन्छन्, 'साइकल उडाइसकेपछि ज्यान दुखेर हैरान भइन्छ।'समीरले ठमेल, असनचोकमा तीन÷चार घण्टा साइकल उडाउँछन्। उनले साइकल स्टन्ट गर्न थालेपछि मान्छे झुम्मिन थाल्छन्। 'कोही रमाउँछन्, कोही रिसाउँछन्,' उनी भन्छन्, 'तेरो साइकल उडाउने ठाउँ हो ? टुँडिखेल जा' भन्दै हप्काउँछन्।' साइकल स्टन्स आफ्ना लागि 'प्यासन' भएको उनी बताउँछन्। 'साइकल उडाउनु मेरो लागि प्यासन नै भइसक्यो,' उनी भन्छन्, 'साइकल चलाइएन भने दिनै खराब भए जस्तो लाग्छ।'
ललितपुर, नक्खु बागडोलका १८ वर्षीय विनायक गुरुङ पनि साइकल उडाउँछन्। टेकु, स्वयम्भू, नयाँबजार, पाटनचोक, भैँसीपाटीलगायत ठाउँमा उनी स्टन्ट गर्न जान्छन्। 'टीभीमा 'एक्स गेम्स' खूब हेर्थें,' उनी भन्छन्, 'त्यो हेरेर मलाई पनि साइकल स्टन्ट गर्न मन लाग्यो।' घरअगाडि भएको खाली ठाउँ, गल्लीतिर गुडाउँदागुडाउँदै उनले साइकल उडाउन पनि सिकेँ। भन्छन्, 'सुरुमा ट्राई गर्दा धेरै पटक लडियो। टाउकोमा समेत चोट लाग्यो।'
विनायकले पनि साइकल उडाउन युट्युबबाटै सिके। साइकल उडाउने विभिन्न स्टाइल, ट्रिक्स हुने उनी बताउँछन्। 'वान एट्टी, त्री सिक्स्टी, म्यानुअललगायत ट्रिक्स गर्छु,' उनी भन्छन्, 'ठाउँअनुसार दुई/तीन उचाइसम्म साइकल उडाउन सक्छु। सुरु-सुरुमा स्टन्ट गर्दा नर्भस फिल हुन्थ्यो। अहिले त बानी परिसक्यो।'
रोकु नेपाल
विनायकले बीएमएक्स र माउन्टेन बाइक चलाउँछन्। भन्छन्, 'बढीजसो बीएमएक्सको साइकल चलाउँछु। यस्तो साइकल हेर्दा सानो देखिन्छ। ट्रिक्स गर्न निकै सहज हुन्छ।' अहिले बीएमएक्सका १५/२० जना राइडरको ग्रुप भएको उनी बताउँछन्। काठमाडौँ आसपासतिर साइकल खेल्नका लागि उपयुक्त ठाउँ नभएको उनको गुनासो छ। 'साइकल उडाउनको लागि यहाँ राम्रो स्पट नै छैन,' उनी भन्छन्, 'धेरै टाढा-टाढा जानुपर्छ। फुर्सदमा साथीभाइसँग साइकल उडाउन टाढा–टाढा गइन्छ।'
साइकल स्टन्ट गर्दा राइडरले आफूलाई सक्दो सुरक्षित राख्नुपर्ने उनी सुझाउँछन्। साइकल र शरीरको सन्तुलन मिलेन भने जे पनि हुनसक्ने उनको भनाइ छ। तनाव हुँदा साइकल स्टन्ट गर्ने बताउँछन्, विनायक। 'साइकल राइड गर्दा माइन्ड फ्रेस हुन्छ,' उनी भन्छन्, 'साइकल उडाउँदा रिलिफ महसुस हुन्छ।'
काठमाडौँ, बबरमहलका नीरव श्रेष्ठ एक वर्षदेखि साइकल स्टन्टमा सक्रिय छन्। ट्रिनिटी कलेजका विद्यार्थी उनी माउन्टेन बाइक चलाउँछन्। उनलाई पनि बच्चैदेखि साइकलप्रति लगाव थियो। 'मैेले सात कक्षादेखि साइकल गुडाउन सिकेको हुँ,' उनी भन्छन्, 'गल्लीतिर ठूलो दाइहरूले साइकल उडाएको देख्थेँ। उनीहरूसँग सिक्थेँ।' आफूले युट्युब हेर्दै साइकल स्टन्ट गर्न सिकेको नीरव बताउँछन्। 'युट्युबमा हेरेरे बाहिरका राइडर जस्तै नक्कल गर्न खोज्थेँ,' उनी भन्छन्, 'उनीहरूले जस्तै साइकल उडाउने टेक्निकलाई फलो गर्दै मैले पनि सिकेँ।'
आफूलाई साइकल गुडाउन त आउने तर उडाउन भने धेरै समय लागेको उनी बताउँछन्। 'एक वर्षजति त राम्रोसँग ब्यालेन्स गर्नै लाग्यो,' उनी भन्छन्, 'त्यसपछि बिस्तारै ट्रिक्स सिकेँ।' गल्लीतिर ट्रिक्स ट्राई गर्दा 'बच्चाहरू बिग्रिए' भनेर छरछिमेकीले गाली गर्ने गरेको उनी बताउँछन्। भन्छन्, 'मैले गरेको देखेर बच्चाहरूले पनि गर्न खोज्थे। 'मेरो बच्चा लडेर हातखुट्टा भाँचियो भने के हुन्छ ?' भनेर उनीहरूका आमाबुबा मलाई कराउँथेँ।'
साइकल स्टन्ट गर्न आँट र हिम्मत चाहिने उनी बताउँछन्। साथीभाइसँग उनी डाँडातिर जाने गर्छन्। एउटा प्वाइन्टबाट अर्को प्वाइन्टसम्म ट्रेल बनाएको ठाउँमा साइकल स्टन्ट गर्ने गर्छन्। धेरैजसो ट्रेलहरूमा फोकस रहेर स्टन्ट गर्ने उनी बताउँछन्। 'डाँडातिर गर्ने स्टाइल र स्ट्रिटमा गर्ने फरक हुन्छ,' उनी भन्छन्।
साइकलबिना दिन बिताउन गाह्रो हुने नीरव बताउँछन्। 'साइकलबिना मलाई दिन कटाउन मुस्किल हुन्छ,' उनी भन्छन्। बिदा हुँदा अथवा फुर्सद हुँदा उनी शिवपुरी डाँडा, ककनी, हात्तीवन, नगरकोट, चन्द्रागिरीलगायत ठाउँमा साइकल स्टन्ट गर्न जाने गर्छन्। 'साथीहरूसँग ग्रुपमा गइन्छ,' उनी भन्छन्, 'जंगल, गोरेटो बाटोतिर साइकल उफार्दै चलाइन्छ। चुच्चो ढुंगातिर भने खतरा नै हुन्छ। जोगिएर चलाउनुपर्छ।'
नीरव श्रेष्ठ
नीरवका लागि साइकल स्टन्ट एउटा कला हो। साइकल उडाउँदा कपल डान्स गरेजस्तै लाग्छ, उनलाई। आफूले साइकल स्टन्ट गर्दा अरूले रमाइलो गरी हेर्दा खुशी लाग्ने उनी बताउँछन्। 'फ्ल्याट', 'म्यानुअल', 'सेक्की', 'वान एट्टी' जस्ता ट्रिक्स उनले गर्छन्। खाली समय हुनेबित्तिकै नजिकको ठाउँमा साइकल लिएर कुदिहाल्छन्, उनी। यति मात्र नभई नीरव हरेक साँझ साथीभाइसँग फ्रेस हुन राइडमा निस्किन्छन्।
ललितपुर, सातदोबाटोका २० वर्षीय रोकु नेपाल साइक्लिङ गर्न खूब रुचाउँछन्। साइकल स्टन्ट भनेपछि भुतुक्कै हुन्छन्। १३ वर्षको उमेरदेखि साइकलप्रति रुचि भएको उनी बताउँछन्। भन्छन्, 'मेरो साथीले बीएमएक्स साइकल चलाउँथ्यो। साइकल ट्रिक्स गथ्र्यो। मलाई खूब मन पथ्र्यो।' साथीलाई देखेर आफूले पनि साइकलका ट्रिक्स सिकेको उनी बताउँछन्। 'सुरु-सुरुमा निकै डर लाग्थ्यो,' उनी भन्छन्, 'साइकलसँग निकटता बढ्दै गएपछि आत्मविश्वास पनि बढ्दै गयो।'
साथीभाइसँग रमाइलो गर्दै विभिन्न ठाउँमा साइकल स्टन्ट गर्न पुग्छन्, उनी। 'मेरो लागि साइकल स्टन्ट गर्न स्ट्रिट नै उपयुक्त स्पट हो,' उनी भन्छन्, 'स्केट पार्कतिर पनि जान्छु।' आफूले गरेका विभिन्न स्टन्टका उनले भिडियो बनाउने गरेका छन्। पोखराको स्केट पार्कसम्म पुग्ने गर्छन्, उनी।धरान, बरगाछीका १५ वर्षीय सुशान्त म्याङ्बो पहाडतिर साइकल उडाउन औधी मन पराउँछन्।
सुशान्त म्याङ्बो
सानै उमेरदेखि साइकलमा रुचि भएका सुशान्त धेरैजसो साइकल उडाउन ओरोलो बाटो, ठूलठूलो ढुंगा भएको ठाउँमा जाने गर्छन्। स्कुल बिदा भएको समयमा पार्कतिर गएर साइकल उडाउन सिकेको उनी बताउँछन्। उनले साइकल उडाउन थालेको एक वर्षजति भयो। साइकल उडाउँदा धेरै खतरा हुने उनको भनाइ छ। 'साइकल उडाउँदा ल्यान्डिङ मिलेन भने दुर्घटना हुनसक्छ,' उनी भन्छन्, 'साइकल स्टन्ट गर्दा एकदमै ध्यान दिनुपर्छ।'