प्रदूषणको साम्राज्य तोडौं
विश्व वातावरण दिवसका दिन मंगलबार प्रधानमन्त्री/मन्त्रीलगायतका उच्च पदस्थ वृक्षरोपणमा व्यस्त देखिए। सिंहदरबारपरिसरदेखि सरकारमातहतका देशैभरिका निकायमा कम्तीमा दुई लाख वृक्षरोपण गरिएको बताइएको छ। प्रधानमन्त्री केपी ओलीले फलफूलका बिरुवा रोपेर वृक्ष बढाउने महाअभियान सुरु गरिएको उद्घोषसँगै वातावरण संरक्षणबारे अनेक प्रतिबद्धता दोहोर्याए। वातावरणीय विनास बढिरहेको र त्यसले मानव जीवनमा प्रतिकूल असर पारिरहेको सन्दर्भमा सरकारले यसको स्वच्छता र संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुलाई सकारात्मक पहलकै रूपमा बुझ्नुपर्छ। यद्यपि प्रश्न भने उठ्छ– कतै यी सबै प्रतिबद्धता कर्मकाण्डी मात्रै हुन् कि ? दिवसका अवसर पारेर यसअघिका सरकारले पनि वृक्ष रोप्दै स्वच्छ र हरियाली वातावरण भिœयाउने औपचारिक वचन दिँदै आएको तथ्य कतै छिपेको छैन। त्यसकारण पनि वातावरण दिवसका दिने गरिने प्रतिबद्धता र यसको कार्यान्वयन गम्भीर समीक्षाको विषय हो।
वातावरणीय विनास र यसबाट उत्पन्न समस्या विश्वकै लागि गम्भीर चिन्ताको विषय बन्दै गएको छ। विश्व तापमानमा आएको वृद्धि, वातावरणीय सन्तुलन कायम गर्ने वानस्पातिक प्रजातिको नास, रासायनिक औद्योगीकरण, खनिजजन्य वस्तुको अव्यवस्थित दोहन आदि कारणले हिमाल पग्लने, हिमनदी सुक्ने र भूधरातल कमजोर हुने क्रम बढेको छ। जसले गर्दा भूक्षय, पहिरो, बाढीलगायतका प्राकृतिक विपत्तिलगायत अनेक वातावरणीय दुष्परिणाम मानव समाजले खेप्नुपरेको छ। वातावरणीय असन्तुलन र विनासले प्राकृतिक जीवन चक्रलाई खल्बल्याइदिएको छ। वातावरण विनास र समस्या मानव समाजकै लागि चुनौती बनेको छ। विश्व समुदाय नै यो चुनौतीको सामना गर्दै यसको न्यूनीकरण गर्नेतिर अग्रसर भइरहँदा हामीले ‘ठूला राष्ट्रका कारण’ समस्या बढेको भनेर छुटकारा पाउँदैनौं। वातावरणीय विनासबाट निम्तेका समस्या र संकट हल गर्न सरकारले के गरेको छ ? के गर्दैछ ? मुख्य चासोको विषय हो।
वातावरणीय प्रदूषण र यसको मारको सन्दर्भ आउँदा राजधानीको दुर्दशा बिर्सन मिल्दैन। यहाँ धुलोको साम्राज्य कति फैलिएको छ भने नामै ‘धुलेमान्डु’ राख्न थालिएको छ। आमजनता, ट्राफिकको दैनिक जीवनर स्वास्थ्यमा गम्भीर असर परेको छ। श्वासप्रश्वाससम्बन्धी रोगबाट ग्रसित हुनेहरू बढ्न थालेका छन्। ४० लाखभन्दा बढी जनसंख्या बस्ने अनुमान गरिएको काठमाडौं उपत्यकाको हावा श्वास फेर्नका लागि अनुपयुक्त रहेको अध्ययनहरूको निष्कर्ष छ।
काठमाडौंको यो अवस्था हुनुमा सवारी साधनले निकाल्ने धुवाँ, इँटाभट्टाबाट निस्कने कालो धुवाँ र सडकको धुलो मुख्य कारक हुन्। यी र यस्ता समस्याबाट त्राण पाउने उपाय नसुझाइएको होइन, तर प्रदूषण कम गर्न छिटो कालोपत्रे गर्नुपर्ने, सवारी प्रदूषण जाँच प्रभावकारी बनाउनुपर्ने आदि सुझावप्रति सरकारी उदासीनता कायमै रहनुले उपत्यकाको वातावरण झनै जोखिमपूर्ण बन्दै गएको छ। त्यसकारण काठमाडौंको प्रदूषण हटाउन र स्वच्छ र हरियाली राजधानी बनाउन सरकारले प्रदूषण घटाउन सवारी साधनले निकाल्ने धुवाँ नियन्त्रणका उपाय सशक्त रूपमा कार्यान्वयन गर्नुपर्छ। सडकमा एकदिन मन्त्री आफैं उभिएर प्रदूषण जाँच्ने प्रचारमुखी अभियान होइन, निरन्तर जाँच र नियमन पद्धति बलियो बनाउन सक्नुपर्छ। धुलो नियन्त्रणका लागि सडक विस्तारका क्रममा खनेर महिनौं र वर्षौं यत्तिकै छोड्ने जुन प्रवृत्ति छ, त्यो तोडिनुपर्छ। योजनाबद्ध ढंगले धुलो कम उड्ने र प्रदूषण न्यून गर्ने उपाय अवलम्बन गर्दै विकास र विस्तारका काम बढाइनु आवश्यक छ।
सार्वजनिक स्थानमा चुरोट खान नदिने नियम जारी गरेको आधा दशक नाघिसक्यो, तर सरकारले त्यसको कडा कार्यान्वयन गर्न सकेको छैन। त्यसकारण वातावरणीय स्वच्छताका लागि दिवसका दिन मात्रै वृक्षरोपण गर्ने होइन, त्यसको नियमित अनुगमन र प्रभाव मूल्यांकन गरिनुपर्छ। त्यस्तै विद्युतीय परिवहनलाई सहज र सस्तो बनाउने, सडक कालोपत्रे गर्ने, सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धमा कडाइ गर्ने, उपत्यकाभित्र रोडा र बालुवा छोपेर मात्र ओसारपसार गर्न दिने, सवारी साधनको परीक्षण सरकारी कार्यालयमा मात्र होइन, सडकमा पनि गर्ने आदि प्रदूषण घटाउने उपायको सशक्त कार्यान्वयन गर्न सके मात्रै दिवसका दिन गरिएका प्रतिबद्धता सार्थक हुनेछन्।