एकैघरका दुई बुहारी सम्पर्कबिहीन
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका-३ रुम डाँडागाउँमा एकै घरका दुई बुहारी एकैदिन सम्पर्कबिहीन बनेका छन्। डाँडागाउँस्थित सराक्दी टोलका देउरानी जेठानी चिना र ओममायाँ बुढा गत वैशाख २ गतेदेखि सम्पर्कबिहीन बनेको उनीहरुका ससुरा लालबहादुर बुढाले जानकारी दिए।
बिहान अबेरसम्म घरमै भएका उनीहरु खाना खाएपछि एकै समयमा घरपरिवारबाट सम्पर्कबिहीन भएको उनले बताए।'हामी घरका अरु सदस्य नभएको समयमा उनीहरु दुवैजना घरबाट निस्किएका थिए, आफन्त र नातागोता सबैकोमा खोजी गर्यौँ तर केही पनि पत्ता लाग्न सकेन,' बुढाले भने। हराएका दुवै महिलाको उमेर २० वर्ष रहेको छ।
इलाका प्रहरी कार्यालय दरबाङमा तस्बिरसहित आवश्यक हुलिया दिएर खोजीकार्यका लागि निवदेन दिए पनि अहिलेसम्म प्रहरीले उनीहरुको अवस्थाबारे कुनै जानकारी पाउन नसकेको बताइएको छ। चिनाका श्रीमान् गाउँमै रहेका छन्। साउदीमा रहेका ओममायाँका श्रीमानसमेत श्रीमती हराएपछि घर आएका छन्।
सम्पर्कबिहीन बनेकी चिनाले दुई वर्षीया छोरीसमेत घरमै छाडेर बेपत्ता भएको परिवारका सदस्यले बताएका छन्। उनीहरुले घरबाट निस्किएपछि मोबाइल समेत स्विच अफ गरेका कारण खोजी गर्न समस्या भएको परिवारको भनाइ छ।रासस