'बोल माया' ले श्रममन्त्री भावुक
काठमाडौं : वैदेशिक रोजगारीले कति नेपालीलाई खुशी दिएको छ, कैयौँलाई पीडा पनि। कलाकर्मी प्रकाश सपुतको गीत 'बोल माया'ले नेपालीहरूको यही पीडादायी विदेशयात्रा प्रस्तुत गरेको छ।
परिवारको खुशीका लागि विदेशिने युवा शवका रूपमा काठको बाकसमा फर्किनुपरेको यथार्थ प्रस्तुत गरेको गीतको भिडियो सार्वजनिक हुँदा दर्शक मात्र होइन, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसमेत भावुक बनेका थिए।
प्रकाशकै लेखन, संगीत, रचना र भिडियो निर्देशन समेत रहेको गीतमा उनीसँगै लोकगायक तथा निर्देशक नारायण रायमाझी र शान्तिश्री परियारको स्वर रहेको छ। भिडियोमा अभिनेत्री अञ्जली अधिकारीले अभिनय गरेकी छिन्।
भिडियो प्रिमियरमा चर्चित गायकहरू प्रजापति पराजुली, बद्री पंगेनी, पशुपति शर्मालगायत उपस्थित थिए। कार्यक्रममा पृथ्वी इन्टरटेन्मेन्टका निर्देशक पृथ्वी थकालीले वैदेशिक रोजगारीका क्रममा दुवै मिर्गौला फेल भएर फर्किएका युवालाई आर्थिक सहयोग पनि गरेका थिए।