काम नगर्ने ६ ठेकेदारलाई एकहप्ते अल्टिमेटम, काम नथाले कारबाही
दुनै,डोल्पाः स्थानीय प्रशासनले डोल्पाका ६ ठेकेदारलाई सात दिने अल्टिमेटम दिएको छ । जिल्लामा निर्माणाधीन भौतिक संरचना समयमा पुरा नगरेपछि सम्बन्धित कार्यालयले एक साताको अल्टिमेटम दिएका हुन् ।
डोल्पामा भवन डिभिजन कार्यालय जुम्लामार्फत ७ वटा भवन बन्दैछन् । तीनवटा खोनपानी योजना सरसफाई सब–डिभिजन कार्यालय डोल्पामामार्फत बन्दैछन् ।
शिक्षा विकास तथा समन्वय ईकाइको एक भवन, सिचाइँ सब–डिभिजन कार्यालयको एक सिचाइँ, जिल्ला समन्वय समितिमार्फत मोटोरेबल पुल गरी १४ वटा योजना हालसम्म पनि निर्माण हुन सकेका छैनन् ।
१४ वटा योजनाका ६ वटा ठेकेदारमध्ये एकै व्यक्ति वा निर्माण सेवाले ५ वटासम्म योजना होल्ड गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘निर्माणका लागि योजना सम्झौता गरेको वर्षौँ भइसक्यो तर काम भएको छैन सम्बन्धित कार्यालयबाट एक सताको अल्टिमेटम दिइएको छ । त्यस भित्र काम थालनी नभए सीधै कारवाही गर्छु ।’
सरकारले देशभर ठेकेदारलाई जिम्मा लिएका कामहरु समयमा गर्न कडाइका साथ निर्देशन र कारबाही गरेसँगै डोल्पामा पनि १४ वटा योजनाका ६ ठेकेदारलाई एक साताको अल्टिमेटम दिइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।
निर्माण कम्पनीले योजनाको सम्झौता गर्दा समयमा काम नगरे ग्रेड बृद्धिमा रोक्का तथा कालोसूचीमा राख्न सकिने सरकारी अधिकारीले जनाएका छन् । यदि तत्काल योजना सम्पन्न नगरे कालोसूचीमा राखेर ठगी तथा हेलचेक्रेयाइँ गरेको आरोपमा मुद्दा दायर गर्ने प्रजिअ थापाले बताए ।
दुर्गम र भौगोलिक विकटता हेरेर एक साताको अल्टिमेटम दिन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए । जिल्लामा सम्झौता भएर हालसम्म पनि निर्माण हुन नसकेका १४ वटा योजनामा “ग” वर्गका ठेकेदारदेखि मन्त्रीसम्मका निर्माण सेवाहरु रहेका छन । यदि एक साताको अल्टिमेटमलाई सामान्य रुपमा लिएमा मन्त्रीदेखि सबै ठेकेदार कारबाहीमा पर्ने प्रमुख जिल्ला अधिकारी थापाको दावी छ ।
१४ वटा योजना मध्य ११ वटाको काम थालनी गरिएको छ भने माथिल्लो डोल्पाका ३ वटा स्वास्थ्य चौकीका भवनहरु हाल सम्म पनि कामको थालनि भएका छैनन । भवन डिभिजन कार्यालय जुम्लाले योजनाका लागि ठेकेदारलाइ जिम्मा लगाउने तर काम भए नभएको कुनै वास्ता नगर्ने गरेको नागरिक समाज डोल्पाको आरोप रहेको छ ।
सम्झौता भएर पनि सबै भन्दा धेरै लामो समय सम्म काम सम्पन्न हुन नसकेका योजनाहरु मोटोरेबल पुल रुपगार्ड, जिल्ला कारागार, जिल्ला प्रशासनको भवन, खोनपानी र स्वास्थय चौकी भवन रहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनानकारी दिएको छ ।