समृद्ध अर्थतन्त्रको आधारस्तम्भ सहकारीः उप्रधानमन्त्री पोखरेल
काठमाडौँः उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । सरकारको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको भन्दै उनले समृद्धिको मुख्य आधार नै सहकारी रहेको बताए ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको संयुक्त आयोजनामा आजदेखि सुरु ‘साकोस शिखर गोष्ठीलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सही ढंगबाट सञ्चालन गर्न सहकारी आवश्यक रहेको बताए ।
देशको विकास र समृद्धिका लागि सहकारी क्षेत्रका साथै सबै क्षेत्र मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन् । ‘हरेक क्षेत्रमा देखिएको नीतिगत समस्यालाई अपडेट गरि समृद्ध मुलुक निमार्णमा सबै क्षेत्र एकताबद्ध भएर लाग्नु पर्छ’, उनले अगाडि भने ।
नीतिगत समस्याको संसोधन र नयाँ ऐन, नीति नियम निमार्णमा सरकार लागिरहेको भन्दै उनले मुलुकको अर्थतन्त्रको तीन आधार स्तम्भमध्ये सहकारी भन्नका लागि मात्र नभई अर्थतन्त्रको आधार स्तम्भ नै भएको स्पष्ट पारे । यस्तै कार्यक्रममा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले सहकारीहरुको पुँजी सहि तबरले सञ्चालन गर्न नसकिएको बताए ।
‘सहकारीको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु आवश्यक छ’, उनले भने, ‘उत्पादन मूलक क्षेत्रमा लगानी गर्न रहेका कानुनी अप्ठ्याराहरु केही छन् भने कानुनी अवरोध फकाउन सरकार तयार छ ।’
कानुनी अवरोधलाई हटाई समृद्ध मुलुक निमार्णका लागि सहकारीको पुँजी परिचालन गरी हातेमालो गरी अघि बढ्न सरकार तयार रहेको उनको भनाई थियो ।
‘सहकारीहरु उत्पादन मै केन्द्रित हुनु आवश्यक छ । यदि सहकारी उत्पादनमा केन्द्रित भएन भने सहकारी संस्थाहरु सहकारी रहँदैनन्’, उनले भने, ‘लगानी गर्ने वातावरण र व्यवस्थित गर्ने काम सरकारले गर्छ ।’
त्यसैगरी कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियान आम नागरिकको अभियान भएको र सहकारीले उदाहरणीय काम गरेर देखाउनुपर्ने बताए ।
उत्पादन, रोजगारी सिर्जना गर्नेतर्फ सहकारी केन्द्रित हुनुपर्ने तर्फ सहकारीलाई लाग्न उनले सुझाव दिए । ‘सरकारको नीति तथा कार्यक्रमको पालन गर्ने काम पनि सहकारीले गर्न सक्छ । जनताको आवश्यकताको काम सहकारीले गर्न सक्छ र गर्नुपर्छ’, सचिव मैनालीले भने । सहकारीले नेपालमा मात्र नभएर विश्वमै उदाहरणीय काम गर्न सक्ने उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ, नेपालका अध्यक्ष केशवप्रसाद बडालले सहकारीहरु उत्पादनशिल क्षेत्रमा लगानी गरी काम गर्न तयार रहेको र कानूनी अवरोधले काम गर्न नसकेको बताए । ‘हरेक क्षेत्रमा सहकारीले उदाहरणीय काम गर्न सक्षम छ’, अध्यक्ष बडालले भने, ‘मुलुकको विकास र समृद्धिका लागि सहकारीलाई विविध क्षेत्रमा काम गर्ने वातावरण हुने हो भने सहकारीले नमूना काम गरेर देखाउने छ ।’ केही सहकारीमा विकृति देखिएको र उक्त विकृतिलाई हल गर्दै सहकारी अभियान अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष डिबी बन्नेतले सहकारीमा कर समस्या देखिएको र बजेटमा करका विषय सम्बोधन नगरेको दुख व्यक्त गरे । कर समस्याको समाधान गर्न कार्यदल गठन भइसकेकाले सम्बोधन हुने आशाबादी रहेको बताए ।
साकोस गोष्ठी शुक्रबारसम्म
साकोस शिखर गोष्ठी राजधानीको सोल्टी होटलमा जारी छ । गोष्ठी शुक्रबारसम्म चल्ने छ । ‘समावेशी आर्थिक विकास: साकोस एकरुपताका लागि कानुनी संहिताको पुनर्संरचना’ भन्ने मूल नाराका साथ सुरु भएको गोष्ठी शुक्रबारसम्म चल्नेछ । गोष्ठीमा विभिन्न जिल्ला र एशियाका विभिन्न मुलुकका सहकारीका अग्रज सहित करिब ६ सय जनाको सहभागिता रहेको छ ।
बिहीबार ‘साकोस अभियानको उपलब्धि, एकरुपता प्रणाली र कार्यदिशा’, ‘साकोस संचालनमा स्तरीकरण, ब्राण्ड निर्माण र व्यवस्थापन’, ‘वित्तीय सहकारीहरुमा जोखिम सुपरिवेक्षण, आन्तरीक नियन्त्रण र नियमित अनुगमनको संयन्त्र विकास’, ‘समावेशी आर्थिक विकास, वित्तीय शिक्षा पहुँच अभिवृद्धि र अवसरहरु’ र ‘विद्यमान नयाँ सहकारी ऐन, सहकारीको प्रवद्र्धन नियमन र क्षमता विकासमा तहगत व्यवस्था’ विषयक कार्यपत्र प्रस्तुत भएका थिए ।
त्यस्तै गोष्ठीको दोस्रो दिन ‘वित्तिय सहकारीमा स्थिरीकरण कोष, सुरक्षित अभियानको परिकल्पना’, ‘प्रविधि र पहुँच, सहकारीकालागि भरपर्दो विद्युतिय वित्त’, ‘समग्र विकासमा सहकार्य र योगदान, दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी’, ‘साकोस एकिकरण, अवसर र अभियानको आवश्यकता’, ‘सहकारी मार्फत उत्पादन, बजारिकरण र प्रतिस्पर्धी स्थानको अवधारणा सम्भावना र चुनौती’ र ‘सहकारीहरुमा प्रभावकारी मानवश्रोत व्यवस्थापन, सम्भावना र चुनौती’ विषयमा कार्यपत्र प्रस्तुती र छलफल हुनेछ । नेफ्स्कूनले हरेक तीन÷तीन वर्षमा साकोस शिखर गोष्ठी गर्दै आएको छ ।