पत्रकारलाई धम्क्याएको घटनाप्रति महासंघको आपत्ति
काठमाडौं : हाम्रा कुरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति सार्वजनिक गर्दै जेठ २३ गते साँझ ७:०० बजेतिर अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूकी अध्यक्ष तथा सांसद नवीना लामाको निर्देशनमा अनेरास्ववियूकै केन्द्रीय सदस्य बताउने भूपेन्द्र शाही नेतृत्वको सात जनाको समूहले हाम्रा कुरा डटकमको तीनकुनेस्थित कार्यालयको समाचार कक्षमा छिरेर कार्यरत पत्रकारलाई धम्क्याएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रष्ट बताएका हुन्।
समाचार कक्षमा प्रवेश गर्नु तथा फोनबाट सम्पादकलाई धम्की दिनु प्रेस स्वतन्त्रताको उल्लंघन भएको भन्दै विज्ञप्तिमा ध्यानकर्षण भएको उल्लेख गरिएको छ।
‘प्रकाशित समाचारको बारे अध्यक्ष तथा सांसद लामाले पठाएको खण्डन प्रकाशित गरेपछि पनि कार्यालयमा समूह पठाएर पत्रकारलाई धम्क्याउनु तथा कार्यकक्षमा कार्यरत पत्रकारलाई मानसिक तनाव दिनु र फोनबाट सम्पादकलाई उठाइदिने भनी धम्की दिनु प्रेस स्वतन्त्रताको ठाडो उल्लंघन हो’, विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्ष तथा सांसद जस्तो जिम्मेवार पदमा रहेको व्यक्तिबाट भएको यो गैरजिम्मेवार कर्यको महासंघ कडा शब्दमा भत्सना गर्दछ।’
सँगै घटनाको छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन, पत्रकारको पूर्ण सुरक्षा गर्न र यस्ता घटना दोहोरिन नदिन र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार निर्वाध उपभोग गर्ने वातावरण तयार बनाउन माग समेत गरिएको छ।