निर्मला हत्या प्रकरण प्रतिवेदन : प्रहरीले चरम लापरबाही गरेको खुलासा

निर्मला हत्या प्रकरण प्रतिवेदन : प्रहरीले चरम लापरबाही गरेको खुलासा

काठमाडौं : कञ्जनपुरकी निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष छानबिन समितिले निकालेको छ।

गृह मन्त्रालयले पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन आइतबार वेवसाइटमार्फत् सार्वजनिक गरेको हो। निर्मलाका हत्यारा नभेटिनुमा प्रहरीले चरम लापरबाही गरेको निष्कर्ष प्रतिवेदनले सार्वजनिक गरेको छ। 

 प्रतिवेदनमा निर्मला हराएकै दिनमा प्रहरीलाई जानकारी गराएको भए पनि प्रहरीले वेवास्था गरेको उल्लेख गरिएको छ। पन्तको हत्या घटनासँग सम्बन्धित प्रमाण सङ्कलनमा खटिएका प्रहरीको लापर्वाही रहेको निष्कर्ष समितिको छ। 

शव बरामद भएको स्थान, निजले प्रयोग गर्ने साइकल एवं नोटकपी, साथीको घरबाट ल्याएको भनिएको अम्बा र ती सामग्री प्राप्त भएको स्थान तथा आसपासका क्षेत्रमा अपराधीको पहिचानका लागि प्रयोग हुनसक्ने गरी तालीमप्राप्त कुकुरको प्रयोग नभएको, शव फेला परेको स्थान र आसपासको क्षेत्रका तत्काल पर्याप्त मात्रामा तत्कालीन प्रहरी प्रमुखले सुरक्षाकर्मी परिचालन नगरेको भन्दै प्रतिवेदनमा प्रहरीको लापरबाहीलाई उल्लेख गरिएको छ। 

प्रहरीले पन्त हराएको घरमा बस्ने बविता भनिने अनिता बम र रोशनी भनिने आँचल बमलाई हिरासतमा लिइ अनुसन्धान प्रक्रिया थालनी नगरेको र स्थानीय प्रहरीले यथेष्ट प्रमाणबिना दिलीपसिंह विष्टलाई अनुसन्धानका लागि म्याद थप गरेर चरम यातना दिएको कुरा उल्लेख गरिएको छ। 

प्रतिवेदनमा भदौ ४ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खडा गरिएको बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, नीलो रङको गञ्जी र खैरो रङको जिन्स पाइन्ट केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षाका लागि भदौ ८ गते पठाएको भदौ १० गते नमूना सच्याउन पत्र लेखेको खुलासा गरिएको छ।

पन्तको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने भित्री बस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको र उक्त बस्त्र नै लोप गरिएको, पन्तका बाबु यज्ञराज साउन १२ गते मात्रै नेपाल फर्केको भए पनि साउन ११ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले खडा गरेको दसी प्रमाणमा सनाखत मुचुल्का कागजातमा मृतकका बाबुको नाममा सही छाप गरेको कुरालाई प्रतिवेदनमा उल्लेख गरिएको छ। 

तत्कालीन प्रहरी प्रमुख दिल्लीराज विष्टको व्यवहार र कार्यशैलीका कारण आमनागरिक तथा पीडित परिवारका सदस्य प्रहरीको काम कारवाहीप्रति विस्वस्थ हुन नसकेको, मृतकको शव अन्त्येष्टि गर्न पीडित परिवारलाई प्रहरी प्रशासन र केही व्यक्तिले अनावश्यक दबाब दिएको कुरालाई प्रतिवेदनमा प्रष्टसँग उल्लेख गरिएको छ। 

घटनास्थलमा भेटिएको कापी साइकल रहेको स्थानदेखि एक किलोमिटर टाढा पानीमा रहेको भनिए पनि कापी भिजेको नदेखिएको, नीलो जेल पेनले लेखेको कुनै पनि अक्षर नमेटिएको, रोशनी बमको घरबाट लगेको भनिएको अम्बा बरामद नगरेको र तत्कालीन अवस्थामा छानबिन टोलीमा रहेका प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न प्रतिवेदनमा सुझाव दिइएको छ।

शव फेला परेको स्थानको सुरक्षा र शव जाँच मुचुल्का एवं अनुसन्धान गर्न खटिएका टोलीले जिम्मेवारी पूरा नगरेको पाइएकाले पदीय तह र जिम्मेवारी एवं भूमिका अनुसार छानबिन गरी विभागीय कारवाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनले प्रहरी उपरीक्षक विष्टले आफ्नो जिम्मेवारीको क्षेत्रभित्र गम्भीर प्रकृतिको घटना भएको सूचना प्राप्त हुँदासमेत स्वयं घटनास्थल नगएको तथा सो घटनाको अनुसन्धानमा समेत पदीय जिम्मेवारी पूर्णत पालना नगरेको भन्दै उनलाई कारबाहीको सिफारिस गरिएको छ। 

कञ्चनपुरको भिमदत्त नगरपालिका २ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मला पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो। निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो। 

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला साउन १० गते ११ बजे सोही नगरपालिका १८ भगतपुर निम्बुखेडास्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न साइकल चढेर गएकी थिइन्। उनको शव ११ गते बिहान ९ बजे नजिकैको उखुबारीमा भेटिएको थियो। 

निर्मला हत्या प्रकरणमा पीडित पक्ष, आफन्त र विभिन्न संघसंस्थाले अपराधि पहिचान गरी कारबाही गर्न माग गर्दै आन्दोलन चर्काएपछि सरकारले छानबिन समिति गठन गरेको थियो। निर्मलाको शवको पोष्टमोर्टम महाकाली अञ्चल अस्पतालमा भएको हो। 

रिपोर्टमा बलात्कारपछि हत्या भएको सार्वजनिक भएपछि साउन १२ र १३ गते हत्यारा पत्ता लगाई दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन भएको थियो। उनको दाहसंस्कार दोषीलाई कारबाही गर्ने सहमति भएपछि भदौ १४ गते गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.