विराटनगरले ल्यायो तीन अर्ब ५६ करोडको बजेट, आन्तरिक आम्दानीमा पुरानै लक्ष्य

विराटनगरले ल्यायो तीन अर्ब ५६ करोडको बजेट, आन्तरिक आम्दानीमा पुरानै लक्ष्य
सुन्नुहोस्

विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३ /०८४ का लागि ३ अर्ब ५६ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शिल्पा निराला कार्कीले बुधबार सम्पन्न नगरसभामा बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्षको तुलनामा करिब १२ करोड रुपैयाँ कम आकारको बजेट ल्याइएको जानकारी दिइन् । 

चालु आर्थिक वर्षका लागि महानगरले ३ अर्ब ६८ करोड २८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्षका लागि भने बजेटको आकार केही घटाइएको छ । महानगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै बजेटको सबैभन्दा ठूलो हिस्सा यही क्षेत्रमा विनियोजन गरेको छ । 
पूर्वाधार विकासतर्फ १ अर्ब ६० करोड ३९ लाख ३२ हजार रुपैयाँ छुट्याइएको छ ।

यसमध्ये वडास्तरीय योजनाका लागि ४३ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरस्तरीय योजनाका लागि ६० करोड रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ । प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ७६ करोड २८ लाख रुपैयाँ व्यवस्था गरिएको छ । सामाजिक विकासतर्फ २६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

यसअन्तर्गत शिक्षाका कार्यक्रमका लागि १० करोड ९ लाख रुपैयाँ र स्वास्थ्य क्षेत्रका लागि ७ करोड ३ लाख रुपैयाँ छुट्याइएको छ । आर्थिक विकासका लागि ३ करोड २६ लाख रुपैयाँ र सुशासन प्रवर्धनका लागि २ करोड ९३ लाख रुपैयाँ व्यवस्था गरिएको छ । वन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका कार्यक्रम सञ्चालन गर्न २ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याइएको महानगरले जनाएको छ । 

महानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट १ अर्ब २७ करोड २० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ । आन्तरिक आम्दानीमा पुरानै लक्ष्य राखिएको हो । तर, यही लक्ष्यलाई महानगरभित्रका कर्मचारी तथा विभिन्न सरोकारवालाले अव्यावहारिक र अत्यधिक महत्वाकांक्षी भन्दै प्रश्न उठाएका छन् । 

चालु आर्थिक वर्षमा पनि महानगरले आन्तरिक आयको लक्ष्य १ अर्ब २७ करोड २० लाख रुपैयाँ नै निर्धारण गरेको थियो । तर, जेठ मसान्तसम्म ४४ करोड ८५ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको तथ्यांक छ । आर्थिक वर्ष समाप्त हुन केही दिन मात्रै बाँकी रहे पनि निर्धारित लक्ष्य पूरा हुने सम्भावना न्यून देखिएको अवस्थामा महानगरले पुनः पुरानै अंकलाई आगामी वर्षको आन्तरिक आम्दानीको आधार बनाएको हो ।  

बजेट कार्यान्वयनका लागि महानगरले विभिन्न स्रोतबाट प्राप्त हुने रकमलाई आधार बनाएको छ । संघीय सरकारबाट १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट १४ करोड २६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । यस्तै, राजस्व बाँडफाँडबाट ९२ करोड ५६ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ । बैंक मौज्दातमा रहेको १४ करोड रुपैयाँसमेत खर्च व्यवस्थापनका लागि उपयोग गरिने महानगरले जनाएको छ ।

पूर्वाधार विकासलाई केन्द्रमा राख्दै सार्वजनिक गरिएको आगामी वर्षको बजेटमा आन्तरिक आम्दानीको यथार्थ अवस्थाभन्दा निकै माथिको लक्ष्य दोहोरिएको विषय भने महानगरभित्रै बहसको विषय बनेको छ । राजस्व संकलनको कमजोर अवस्थाबीच पुरानै लक्ष्य दोहो¥याइएकाले बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनको चुनौती आगामी वर्षमा पनि यथावत् रहने देखिन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.