बाँदरको आक्रमणबाट विद्यालयबाट घर फर्किँदै गरेका विद्यार्थी घाइते
अर्घाखाँची : अर्घाखाँचीको छत्रदेवमा बाँदरको आक्रमणबाट एकजना विद्यार्थी घाइते भएका छन्। छत्रदेव गाउँपालिका-४ मा रहेको कालिका बोडिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी सुदन खनाललाई विद्यालयबाट घर फर्किने क्रममा जाबुनडाडामा बाँदरले आक्रमण गरेको हो। घाइते सुदनको सन्धिखर्कमा उपचार गरिएको छ।
स्वास्थ्यकर्मी लक्ष्मण नेपालीका अनुसार उनको बायाँ हातमा ८ वटा टाँका लगाइएको छ। हाल उनको अवस्था सामान्य रहेको छ। पछिल्लो समय गाउँबस्ती तथा विद्यालय आसपास बाँदरको आतंक बढ्दै जाँदा विद्यार्थी र स्थानीयवासी जोखिममा परेका छन्।
स्थानीयले सम्बन्धित निकायसँग बाँदर नियन्त्रण तथा व्यवस्थापनका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको स्थानीय केशव पन्थीले बताए।
प्रतिक्रिया दिनुहोस !