सरकारका प्रवक्ताको व्यंग्य : वाइडबडी हराएको छैन, हातहातमा बोकेकै थिए
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल वायु सेवा निगमको वाइडबडी खरिद प्रक्रियामा भएको भनिएको भ्रष्टाचारको छानबिन भइरहेको बताएका छन् ।
मन्त्रिपरिषद्ले यही सोमबार गरेका निर्णय सार्वजनिक गर्न बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले वाइडबडी कतै नहराएको र भ्रष्टाचारबारे छानबिन भइरहेको स्पष्टिकरण दिएका हुन् ।
मन्त्री बास्कोटाले वाइडबडी प्रकरण नसेलाएको भन्दै तात्तातै सरकारबाट छानबिन भइरहेको उल्लेख गरे । 'वाइडबडी कतै हराएको छैन र सेलाएको पनि छैन', उनले कटाक्ष गर्दै भने, 'अस्तिसम्म मान्छेका हातहातमा ठुला ठुला वाइडबडी देखेको थिएँ । वाइडबडी हराएको भन्ने कुरा गलत हो ।'
मन्त्री बास्कोटाको यो कटाक्ष प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित थियो । कांग्रेसको यही माघ २१ गतेको देशव्यापी विरोध प्रदर्शनका क्रममा वाइडबडी जहाजको डमी बनाएर सडकमा डुलाएकोप्रति मन्त्री बास्कोटाले कटाक्ष गर्ने क्रममा यसो भनेका हुन् ।
नेपाल वायु सेवा निगमले दुईवटा वाइडबडी जहाज खरिदका क्रममा प्रधातमन्त्री तथा तत्कालीन विभागीय मन्त्रीका रुपमा कांग्रेस सभापति देउवाले पहिलो भुक्तानी पठाएका थिए ।
प्रतिक्रिया दिनुहोस !