गच्छदारमाथि मुद्दा पूर्वाग्रह : कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्ररेसले राजनीतिक प्रतिशोध साँध्न नेता विजय गच्छदारविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको भन्दै बिहीबार प्रतिनिधिसभा अवरुद्ध गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णय प्रक्रियामा सामेल भएको भन्दै तत्कालीन भौतिक मन्त्री गच्छदारलगायत १ सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारको उक्त कार्य राजनीतिक रूपमा पूर्वाग्रही भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
प्रतिनिधिसभा बैठक प्रारम्भ हुनासाथ कांग्रेस सांसदहरू आ–आफ्नो स्थानमा उभिएर अवरोध जनाएका थिए । त्यस क्रममा कांग्रेस सचेतक पुष्पा भुसालले संवैधानिक निकायलाई आफ्नो प्रभावमा पारेर सरकारले कांग्रेस नेता गच्छदारविरुद्ध मुद्दा दायर गर्न लगाएको आरोप लगाइन् ।
‘अख्तियारले राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साँध्न, विभेदकारी व्यवहार देखाएर मुद्दा दायर गरेको छ,’ भुसालले भनिन्, ‘कसैलाई काखा र कसैलाई पाखा गरेर भएका यस्ता क्रियाकलापप्रति सजग गराउन संसद्को अवरोध गरेका हौं ।’
नेकपा नेता माधव नेपाल प्रधानमन्त्री हुँदा भूमिसुधारमन्त्री भएका गच्छदारविरुद्ध अख्तियारले ९ करोड ६५ लाख ६७ हजार रुपैयाँ जरिबाना माग गरेको छ ।
भुसालले तत्कालीन प्रधानमन्त्री नेपाललाई उन्मुक्ति दिएर कांग्रेस नेता गच्छदारलाई मात्र विभागीय मन्त्रीका रूपमा दोषी ठहर गर्न खोजिएको आरोप लगाइन् । ‘प्रधानमन्त्रीले चाहनु भएन भने मन्त्रिपरिषद्बाट कुनै पनि निर्णय हुन सक्दैन,’ भुसालले प्रश्न गरिन्, ‘क्याबिनेट निर्णय गर्दा मन्त्रिपरिषद् दोषी हुन्छ वा मन्त्री मात्र ? ’ सरकारका सबै अंग आफ्ना नियन्त्रणमा राखेर अधिनायकवादी शासन गर्न खोजिएको हो ? ’
लोकतन्त्र र थारू समुदायको हकका लागि गच्छदारको संघर्ष बिर्सन नहुने उनले बताइन् । कसैलाई मुद्दा चलाउने र कसैलाई उन्मुक्ति दिने अख्तियारको नियत सफा नदेखिएको भुसालले बताइन् ।
सभामुख अग्नि सापकोटाले कांग्रेसको मागप्रति सम्बन्धित निकायको ध्यानाकर्षण भइसकेको भन्दै बैठक अघि बढाउन आग्रह गरेका थिए । तर कांग्रेसले अवरोध फिर्ता नलिने अडान राखेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित गरे ।
प्रतिक्रिया दिनुहोस !