मेडिकल कलेजको बदमासी

मेडिकल कलेजको बदमासी

वीरगन्ज : पटक-पटक विवादमा पर्दै आएको वीरगन्जको नेशनल मेडिकल कलेजले फेरि अर्को लापरबाही गरेको घटना सार्वजनिक भएको छ । मेडिकल कलेजमा उपचारका क्रममा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि गरिएका बाराका ७० वर्षीय एक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

बाराको करैयामाई गाउँपालिका ७ उमजन घर भएका चौधरी थरका ती वृद्धलाई दम र निमोनियाको समस्या देखिएपछि जेठ २ गते मेडिकल कलेजको आईसीयूमा भर्ना गरिएको थियो । भेन्टीलेटरमा राख्नुअघि कोरोनाको आशंकामा ती वृद्धको स्वाब मेडिकल कलेजले पीसीआर परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

तर स्वाबको रिपोर्ट आउनुअघि नै जेठ ४ गते उपचारका क्रममा उनको मृत्यु भयो । मेडिकल कलेजले पनि पीसीआर रिपोर्ट नआउँदै जेठ ४ गते नै शव परिवारजनको जिम्मा लगाएर पठाएपछि आफन्तले गाउँ लगेर त्यही दिन अन्तिम दाहसंस्कार गरेका थिए ।

वृद्धको अन्त्येष्टि ७ दिन पहिले नै भइसके पनि नारायणी अस्पतालको प्रयोगशालाबाट कन्फर्मेसनका लागि काठमाडौं पठाइएको स्वाबको रिपोर्ट सोमबार बिहान मात्रै आएको र रिपोर्ट पोजेटिभ रहेको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले बताए । ‘मेडिकल कलेजबाट जेठ २ प्राप्त स्वाबको नारायणीमा २ पटकसम्म परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएपछि रिर्पोट डिस्पोज गरेनौं, रिकन्फर्मेसनका लागि जेठ ७ मा काठमाडौंमा पठायौं’, उनले भने, ‘काठमाडौंको ल्याबमा पनि लगातार २ पटकसम्म पोजेटिभ आएपछि मात्रै सोमबार बिहान रिपोर्ट सार्वजनिक गरेका हौं ।’

नेशनल मेडिकल कलेजका सञ्चालक एवं प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मृतकको रिपोर्ट आउन ढिलाइ भएपछि शवलाई आफन्तको जिम्मा लगाएर पठाएको बताए । उनले भने, ‘मृतकको शव अस्पतालमा धेरै दिन राख्दा समस्या आउन सक्थ्यो त्यसैले रिपोर्ट कुर्दा नआएपछि शव पठाएका थियौं ।’ शव पठाएपछि मेडिकल कलेजले जेठ ९ गते आईसीयू वार्ड फ्युमिगेसन गर्नु पर्ने भन्दै ३ दिनसम्म आईसीयूमा नयाँ बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेको थियो । आईसीयू वार्डमा ती मृतक वृद्धको मृत्यु भएपछि त्यहाँ भर्ना भएका करिब २० जना बिरामीलाई मेडिकल कलेजले आईसीयूबाट झिकेर कलेजकै अन्य वार्डमा स्थानान्तरण गरेको थियो ।

‘मृत्युको जानकारी दिइएन’

नारायणी अस्पतालका मेसु उपाध्यायले मेडिकल कलेजले स्वाब पठाएको कोराना शंकास्पद बिरामीको मृत्यु र शव परिवारको जिम्मा लगाउँदा अस्पताललाई कुनै जानकारी नदिएको बताए । ‘शंकास्पद देखिएपछि स्वाब लिइएको बिरामीको मृत्यु भएको जानकारी हामीलाई गराइएन, शव पठाउँदा पनि खबर गरिएन’, उनले भने, ‘स्वाबको रिपोर्ट नेगेटिभ नआउन्जेल प्रत्येक शंकास्पद व्यक्तिलाई हामीले पोजिटिभ नै मानेर व्यवहार गर्नुपर्ने हुन्छ, स्वाबको रिपोर्ट नआउन्जेल शव परिवारलाई दिनु हुँदैनथ्यो ।’ यसमा सम्बन्धित कलेजको त्रुटि भएको उनको भनाइ छ ।

आईसीयू कक्ष सिल, कलेजविरुद्ध कारबाही

मृतक वृद्धको उपचार गरिएको मेडिकल कलेजको आईसीयू कक्षलाई स्थानीय प्रशासनले सोमबार अपरान्ह ३ बजदेखि सिल गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार दिउँसो बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले आईसीयू कक्ष सिल गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतकको उपचार गरिएको कक्ष मात्रै सिल गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । सरकारले नारायणी अस्पताललाई कोभिड १९ हस्पिटल बनाएपछि त्यहाँका सबै बिरामीको वैशाख २ गतेदेखि नेशनल मेडिकल कलेजमै उपचार भइरहेको उनले जानकारी दिए । उनले भने, ‘त्यसैले मेडिकल कलेजलाई पूर्ण रूपमा सिल गर्न सक्ने अवस्था भएन, आईसीयू कक्ष मात्रै सिल गर्ने निर्णय गरिएको हो ।’

मृतकको गाउँ पनि सिल

यसबीच, मृतक वृद्धको घर भएको बाराको करैयामाई गाउँपालिका ७ उमजन गाउँलाई पनि प्रहरीले सोमबार अपरान्हदेखि सिल गरेको छ । गाउँ वरिपरि तारबार गरिएको बाराका प्रहरी उपरीक्षक गौतम मि श्रले बताए । उनका अनुसार, मृतकको गाउँ नजिकैको खोलामा गरिएको दाहसंस्कारमा परिवारका सदस्य, आफन्त र छरछिमेकका गरी ७० भन्दा बढी मलामी गएका थिए । ती सबैलाई तत्कालका लागि आआफ्नो घरमै बस्न निर्देशन दिइएको जानकारी उनले दिए । यसका साथै मृतकको सम्पर्कमा रहेका सबै जनाको कन्ट्रयाक्ट ट्रेसिङ पनि थालिएको उनले बताए ।

डायलोसिस गर्दा ७ को मृत्यु

पछिल्लो एक महिनामा मेडिकल कलेजमै डायलोसिस गराउने क्रममा ७ जना मृगौला रोगीको मृत्यु भएको छ । कोभिड १९ अस्पताल बनाइएपछि नारायणी अस्पतालबाट नेशनल मेडिकल कलेजमा वैशाख २ गतेदेखि स्थानान्तरण गरिएका ४० मध्ये ७ जना मृगौला रोगीको मृत्यु भएको हो । निःशुल्क डायलोसिस गर्नु पर्ने भएकाले लापरबाही गरेका कारण मृत्यु भएको आफन्तको आरोप छ । लापरबाही गर्ने मेडिकल कलेजलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने तयारी भइरहेको जानकारी उनीहरूले दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.